Skip This
राष्ट्रपतिको निर्वाचनपछि राजनीतिक स्थिरता कायम हुन्छ : नेतृ झाँक्री
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २४ बुधबार
  • Friday, 26 July, 2024
२o७९ फाल्गुण २४ बुधबार २o:o९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रपतिको निर्वाचनपछि राजनीतिक स्थिरता कायम हुन्छ : नेतृ झाँक्री

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण २४ बुधबार २o:o९:oo

नेकपा (एकीकृत समाजवादी) पार्टीका सचिव रामकुमारी झाँक्रीले भोलि (बिहीबार) हुने राष्ट्रपतिको निर्वाचनपछि देशमा राजनीतिक स्थिरता कायम हुने विश्वास व्यक्त गरेकी छिन्। 

११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पूर्वसहरी विकासमन्त्रीसमेत रहेकी सचिव झाँक्रीले अहिलेको राजनीतिक अस्थिरता राष्ट्रपतिको निर्वाचनपछि अन्त्य हुने र नयाँ राजनीतिक कोर्स सुरु हुने दाबी गरिन्। 

देशमा अहिले देखिएका राजनीतिक अस्थिरताका कारण जनताले सुशासन उपभोग गर्न नपाएको सचिव झाँक्रीले बताइन्। 

‘राष्ट्रपतिको निर्वाचनमा कसलाई भोट हाल्ने भन्ने हाम्रो पार्टीले निर्णय गरिसकेको छ,’ उनले भनिन्, ‘अहिलेको अवस्थामा कसैले पनि एकल सरकार चलाउने अवस्था छैन। देशलाई कसरी चलाउने भन्नेमा गठबन्धन सरकारले मानकहरू तयार गर्नुपर्छ । राष्ट्रपतिको निर्वाचनपछि यी सबै विषयलाई मध्यनजर गरेर गठबन्धन सरकारले आफ्नो काम कारबाही अगाडि बढाउनुपर्छ।’

सचिव झाँक्रीले उच्च नैतिकता र संस्कार राजनीतिले माथिबाटै फलो गर्नुपर्नेमा जोड दिइन्। ‘कतिपय अवस्थामा बाध्यात्मक भए पनि सत्ताका लागि जहाँ जे पायक पर्छ, त्यही गरिरहनु ठीक हुँदैन,’ उनले भनिन्, ‘हामीले यस्तो निर्वाचन प्रणाली अवलम्बन गर्यौँ। एउटै दलले एकैपटकमा बहुमत प्राप्त गर्दैन। दुई वा दुईभन्दा धेरै दलहरू मिलेर सरकार बन्ने सन्दर्भमा कहिलेकाहीँ गरिएको असल अभ्यासहरू नैतिकताको कसीमा ठीक पनि लाग्दैन। तर, कतिपय अवस्थामा बाध्यात्मक पनि हुन सक्छन्।’

एक अर्को प्रसंगमा बोल्नुहुँदै सचिव झाँक्रीले अहिले पनि देशमा महिला र पुरुषबीच समान कामको समान ज्याला दिने व्यवस्था कार्यान्वयन नभएको बताएकी छिन्। 

‘एउटा पुरुषले समान कामको ज्याला रु एक हजार पाउँछ भने महिलाले त्यही कामको रु ५०० मात्रै ज्याला पाउँदै आएका छन्,’ उनले भनिन्, ‘आगामी दिनमा यस्तो विभेद हुनुहुँदैन। समान कामको समान ज्याला दिने व्यवस्था कार्यान्वयनमा ल्याउनुपर्यो। अनि मात्र समानताको नारा लागू भएको मानिनेछ।’

सचिव झाँक्रीले आफ्नो अधिकार स्थापित गर्न आफू पनि तत्पर हुनुपर्ने बताएकी छिन्। ‘हामी महिलाहरू सन्तान जन्माउने र घरभित्रको काम गर्नेमा मात्र सीमित भएर बस्नुहुँदैन। कुनै समय हामी महिलाहरू बोल्यो भने, ‘पोथी बास्यो, धुरी कटाउनुपर्छ,’ भन्ने समाजबाट हुर्किएर आएका हौँ,’ उनले भनिन्, ‘हाम्रा अग्रजहरूको त्याग तथा बलिदानीबाट अहिले खेला रूपमा हिँड्न र बोल्न पाएका छौँ। यतिले मात्र हुँदैन। हरेक ठाउँमा आफ्नो समान अधिकार खोज्न हामी आफैँ अग्रसर हुनुपर्छ।’

सचिव झाँक्रीले खोटाङको त्रिधार्मिकस्थल हलेसीलाई धार्मिक पर्यटनको रूपमा विकास गर्नुपर्नेमा जोड दिइन् । ‘खोटाङको हलेसी खोटाङको मात्र नभई देशकै सम्पत्ति र गौरव हो । यसलाई धार्मिक पर्यटनको रूपमा विकास गर्न सके आम्दानीको स्रोत यही छ,’ उनले भनिन्, ‘हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीको संगमस्थल हलेसीको चौतर्फी विकास गर्न आफ्नो क्षेत्रबाट गर्नुपर्ने पहल गर्नेछु।’

त्रिधार्मिकस्थल हलेसीको प्रांगण आयोजित कार्यक्रमलाई कांग्रेस नेतृ लक्ष्मी खतिवडा, प्रेरक वक्ता सुमी मानव, हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख विमला राई, उपप्रमुख रमेश राउतलगायतले सम्बोधन गरेका थिए।

सांस्कृतिक झाँकीसहित आयोजित कार्यक्रममा नगरपालिकाले स्थानीय तहको निर्वाचनमा निर्वाचित महिला जनप्रतिधिलाई सम्मानसमेत गरेको थियो।