१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
प्रेम गौतम काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o७:o४:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

घोचपेचमै ओली–नेपाल

Read Time : > 2 मिनेट
प्रेम गौतम, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:o४:oo

राष्ट्रपति निर्वाचनको उम्मेदवारी दिने वेला नजिकिएका र संवाद गरेका एमाले अध्यक्ष केपी ओली र एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल फेरि  एक–अर्काप्रति आरोप–प्रत्यारोपमा उत्रिएका छन् । 

राष्ट्रपति निर्वाचनको उम्मेदवारी दिने वेला नजिकिएका र संवाद गरेका एमाले अध्यक्ष केपी ओली र एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल फेरि एक–अर्काप्रति घोचपेचमा उत्रिएका छन् । राष्ट्रपतिको मनोनयन दर्ताअघि गठबन्धन बचाउन ओलीले पार्टी एकतासहित नेपाललाई राष्ट्रपतिको प्रस्ताव गरे पनि नेपालले अस्वीकार गरेका थिए । 

शनिबार आयोजित छुट्टाछुट्टै कार्यक्रममा ओली र नेपालले एक–अर्काको नाम नलिई पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर कटाक्ष गरेका हुन् । २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनको उम्मेदवारी दर्ता (१३ फागुन)का वेला ओली र नेपालले पार्टी एकताको एजेन्डामा समेत संवाद गरेका थिए । 

भदौ ०७८ मा पार्टी विभाजनपछि ओली र नेपालबीच पहिलो भेट गत ६ फागुनमा एकीकृत समाजवादीका एक नेताको महाराजगन्जस्थित निवासमा भएको थियो । भेटमा ओलीले घुमाउरो पारामा राष्ट्रपति उम्मेदवार बन्न प्रस्ताव गरेका थिए । यही भेटमा ओलीले पार्टी एकताको प्रस्तावसमेत राखेको नेपालले बताउ“दै आएका छन् । नेपालले पूर्वनेकपा ब्युँताउनुपर्ने सर्त राखेका थिए । 

त्यसपछि राष्ट्रपतिको मनोनयन दर्ताको अघिल्लो दिन १२ फागुनमा उनीहरूबीच दोस्रो भेट भएको थियो । दोस्रो भेटमा ओलीले नेपाललाई राष्ट्रपति बन्न सीधै प्रस्ताव गरेको थिए । तर, आफूले राष्ट्रपतिमा सम्मानित नेता खनालको नाम लिएको नेपालले बताएका छन् । 

यिनै प्रसंगलाई लिएर ओलीले राष्ट्रपति दिँदा पनि नेपाल कांग्रेसको पछि लागेर हिँडेको आरोप लगाए । ‘राष्ट्रपति खा भन्दा कांग्रेसलाई सोधेर आउँछु भन्छ । रामचन्द्र पौडेलकहाँ सोध्न गए । उनले होइन मलाई चाहिन्छ भनेपछि आठ दलको बैठकमा बोले ‘मलाई केपी कमरेडले भेट्नुभयो । उहाँले राष्ट्रको बारेमा चिन्ता राख्नुभयो ।’ अरूले राष्ट्रपतिमा एकजुट भएर जानुपर्‍यो भनेपछि त्यो त रामचन्द्रजीलाई दिने कुरा छँदै छ नि ! त्यसमा म सहमत छँदै छु, हेर बुद्धि,’ ओलीले भने । 

उनले एमालेलाई बलियो दल हुन नदिन आठदलीय गठबन्धन बनेको आरोप पनि लगाए । ‘एमालेलाई पहिलो पार्टी बन्न दिनु नहुने । कांग्रेसलाई नै पहिलो पार्टी बनाइराख्नुपर्छ भन्ने निष्कर्ष निकालेका छन् । अरू चार वर्ष खेल्न सकिन्छ, १० वटा सिट छ । अर्कोपल्ट शून्य भए पनि केही छैन,’ ओलीले भने । ओली एकीकृत समाजवादीसँग एकता गरेर एमालेलाई संसद्मा पहिलो पार्टी बनाउने दाउमा थिए । 

नेपालले भने हिजो पार्टी नै नस्विकार्नेहरू आज राष्ट्रपतिको प्रस्ताव लिएर आएको बताए । पार्टीनिकट दलित संगठनको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै नेपालले एकीकृत समाजवादीको भूमिका राष्ट्रिय राजनीतिमा कसैले पनि नजरअन्दाज गर्न नसक्ने दाबी गरे । ‘हाम्रो पार्टीको महत्वपूर्ण भूमिका छ । हिजोसम्म हाम्रो पार्टीलाई केही पनि भूमिका छैन, यसको कुनै अर्थ छैन भन्नेले पनि अहिले हामीलाई खोजिरहेका छन् । खोज्दै, खोज्दै, खोज्दै विभिन्न ठाउँमा भेला पार्दै प्रस्ताव ल्याइरहेका छन् । यो प्रस्ताव ल्याउँदा तपाईं–हामीमध्ये कतिपयको दिमागमा मथिंगल चक्कराइरहेको हुन सक्छ,’ नेपालले भने, ‘कति राम्रो प्रस्ताव आएको थियो, मानिदिएको भए हुन्थ्यो कि वा नेताहरू भ्रमित भएर त्यसैमा चुर्लुम्म डुब्ने पो हुन् कि भन्ने चिन्ता पनि जागेको हुन सक्छ । कुनै पनि विषयमा हल्लाको भरमा चल्नुहुँदैन ।’

नेपालले पदभन्दा प्रतिष्ठा ठूलो हुने भन्दै धोका दिएर पद प्राप्ति भन्दा इमानदारिताको राजनीति आफूले चाहेको दाबी गरे । ‘धोका दिएर पद ओगट्ने ठीक हुन्छ कि इमानदारिताको राजनीति गरेर अगाडि बढ्नु ? हाम्रो निम्ति राष्ट्रपति पद महत्वपूर्ण रहेन । देशलाई स्थायित्व दिने र नेपालीले भोग्नुपरेको समस्या सम्बोधनलाई हामीले महत्व दियौँ । र, को राष्ट्रपति हुने भन्ने विवादको गाँठो फुकाउन भूमिका खेल्यौँ,’ नेपालले भने, ‘हामी नैतिक मूल्य र मान्यतालाई आत्मसात् गरेर अगाडि बढ्न चाहन्छौँ ।’ उनले आफू देश र जनताको हितमा समर्पित भएर लाग्ने बताए । ‘देश, जनता र पार्टीको हितमा हुने काम मात्रै गर्छौँ । हाम्रो निजी केही स्वार्थ छैन । देशको स्वाभिमान रक्षा गर्न सकियो भने, सिंगो देशलाई एकताबद्ध बनाउन सकियो भने हाम्रो पार्टीको उपादेयता पुष्टि हुन्छ,’ नेपालले भने । 

नेपालले कम्युनिस्ट आन्दोलनको चिन्ता भए नेकपालाई ब्युँत्याएर अगाडि बढ्नुपर्ने बताए । ‘कम्युनिस्ट पार्टीकै चिन्ता छ भने नेकपालाई ब्युँत्याएर जाऔँ । को कुन पदमा बस्छ भन्ने छाडौँ, खुला छलफल गरौँ,’ उनले भने, ‘देशको समस्या, जनताको पीडा, परिवर्तनको एजेन्डा र इमानदारिताको राजनीतिलाई केन्द्रबिन्दुमा राखौँ । र, अगाडि बढौँ ।’ 

प्रधानमन्त्री प्रचण्डप्रति पनि ओलीले कटाक्ष गरे । ‘खोइ हाम्रो पार्टी भनेर कार्यकर्ताले सोध्दा जवाफ आयो हामी कांग्रेसभित्रै छौँ । माओवादी कांग्रेसभित्रै छ,’ ओलीले भने, ‘मिलेर बहुमत ल्याउँदा असह्य हुने, बहुमतको आफ्नै सरकार नढाली नहुने, प्रतिक्रियावादीको सरकार बनाइदिनुपर्ने, ड्राइभिङ सिटमा बसेर हाँक्न चित्त नबुझ्ने, पछाडिकै सिटमा बसेर जान्छु, नभए खाँबो समातेरै भए पनि जान्छु भनेर जानुपर्ने ! यो के भएको होला ?’ मुस्ताङमा विश्वविद्यालय विदेशको दलाली र राष्ट्रियतामाथिको प्रहार भएको आरोप छ । उनले चीनविरुद्धको गद्दारी भएको पनि टिप्पणी गरे ।

 

ad
ad