१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नवराज मैनाली काठमाडाैं
२०७९ फाल्गुण १६ मंगलबार ०८:२४:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सशस्त्रमा बढुवा, वृत्ति विकास र संरचनागत सुधार गरिने

Read Time : > 2 मिनेट
नवराज मैनाली, काठमाडाैं
२०७९ फाल्गुण १६ मंगलबार ०८:२४:००

एआइजीको नेतृत्वमा तीन उच्चस्तरीय समिति गठन 

सशस्त्र प्रहरी बलमा देखिएको वृत्ति विकाससम्बन्धी विकराल समस्याको समाधान तथा संरचनागत सुधारका लागि बृहत् छलफल सुरु भएको छ । यससम्बन्धी प्रारम्भिक प्रतिवेदन तयार गरी बढुवालगायत विषयलाई थप पारदर्शी र वस्तुगत बनाउन उच्चस्तरीय सुझाव समिति बनेका छन् । 

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्रारम्भिक प्रतिवेदनमा छलफलपछि सोमबार तीन एआइजीको नेतृत्वमा तीन छुट्टाछुट्टै अध्ययन समिति बनाएका हुन् । कार्यसम्पादन मूल्यांकन तथा चुनौतीपूर्ण कार्यसम्पादन नम्बरबारे अध्ययन गर्न एआइजी नारायणदत्त पौडेल, तालिमसम्बन्धी नम्बरको विस्तृत अध्ययनका लागि एआइजी चन्द्रप्रकाश गौतम र बढुवा समितिले दिने नम्बरसम्बन्धी अध्ययन गरी सुधारको सुझाव दिन एआइजी वंशी दाहालको नेतृत्वमा समिति गठन भएका हुन् । 
यसअघि गत ११ फागुनमा डिआइजी पुरुषोत्तम थापाको नेतृत्वमा वृत्ति विकाससम्बन्धी समस्या समाधानका लागि २३ सदस्यीय बृहत् अध्ययन समिति गठन भएको थियो । सो समितिको प्रतिवेदनमाथि सोमबार सशस्त्र प्रहरी प्रधान कार्यालयमा बृहत् छलफल भएको हो । संगठनमा देखिएका समस्या समाधानका लागि अल्पकालीन, दीर्घकालीन र संरचनागत सुधारका लागि यसरी विभिन्न समितिमार्फत अध्ययन सुरु भएको सशस्त्र प्रहरीका एक उच्च अधिकारीले बताए । 

देशको कान्छो सुरक्षा संगठन सशस्त्र प्रहरीमा वृत्ति विकास योजनाअनुसार दरबन्दी तय नभई भर्ना हुँदा अहिले बढुवामा ठूलो समस्या छ । केही ब्याचका अधिकृतहरू १५–१६ वर्षमा इन्सपेक्टरबाट डिएसपी हुने र डिएसपीबाट एसपी हुन १०–१२ वर्ष लाग्ने अवस्था छ । जसअनुसार इन्सपेक्टरमा भर्ना भएकाहरू ३० वर्षे जागिर अवधिमा एसपीबाटै अवकाश पाउने अवस्था छ । इन्सपेक्टरको चौथौ, पाँचौँ, छैटौँ र सातौँ ब्याचमा यस्तो समस्या छ । वृत्ति विकासको समस्या समाधानका लागि पटक–पटक पहल हुँदै आए पनि कार्यान्वयन हुन सकेको छैन । यसलाई जसरी पनि अब टुंगोमा पुर्‍याउन सशस्त्र प्रहरी नेतृत्वले बृहत् छलफल अघि बढाएको हो । सीमा सुरक्षाजस्तो संवेदनशील जिम्मेवारीमा रहेको संगठनमा वृत्ति विकासको समस्याले संगठनको प्रभावकारितामै असर पुर्‍याएको सशस्त्र प्रहरी अधिकारी बताउँछन् । 

आइजिपीदेखिको पदावधि घटाउने प्रस्ताव 
समितिले प्रारम्भिक प्रतिवेदन तयार पार्दै उच्च पदको पदावधि घटाउने प्रस्ताव गरेको छ । प्रहरी महानिरीक्षककै पदावधि हाल चार वर्ष रहेकोमा त्यसलाई तीन वर्षमा झार्ने प्रस्ताव गरिएको छ । यसमा हालका सशस्त्र प्रहरी महानिरीक्षकसमेत सहमत रहेको सशस्त्र मुख्यालय स्रोत बताउँछ । ‘वृत्ति विकासको समस्या समाधान हुन्छ भने तीन वर्ष होइन, आइजिपीको पदावधि दुई वर्ष बनाउन पनि म तयार छु,’ सोमबारको छलफलमा उनले भनेका थिए । 

त्यस्तै, एआइजीको तीन, डिआइजीको चार, एसएसपीको ६ र एसपीको आठ वर्ष बनाउने प्रस्ताव गरिएको छ । बढुवामा विभूषणको नम्बर राख्ने कि हटाउने विषयमा पनि बहस सुरु भएको छ । बढुवामा २ नम्बर विभूषणबापत दिने गरिन्छ । विभूषण पाउनेमध्ये धेरैले पहुँचका आधारमा पाउने भएकाले यस्तो नम्बरको औचित्यमाथि प्रश्न उठ्दै आएको छ । विभूषण विकृति बनेपछि नेपाल प्रहरीमा यस्तो नम्बर हटाइएको छ । सशस्त्र प्रहरीमा पनि हटाउनेबारे छलफल सुरु भएको छ । कार्यसम्पादन मूल्यांकन नम्बरको प्रणालीमा पनि सुधारको बहस हुँदै आएको थियो । 

आठै बाहिनीका डिआइजी फेरिए 
गृह मन्त्रालयले सोमबार सशस्त्र प्रहरी बलका ११ डिआइजी र ११ एसएसपीको सरुवा तथा चार डिआइजीको पदस्थापन गरेको छ । सरुवामा सशस्त्र प्रहरीका आठवटै बाहिनीका प्रमुख फेरिएका छन् । बराह बाहिनी सुनसरीमा डिआइजी अञ्जनीकुमार पोखरेल, छिन्नमस्ता बाहिनी महोत्तरीमा दीपेन्द्र शाह, पशुपतिनाथ बाहिनी, काठमाडौंमा पुरुषोत्तम थापालाई जिम्मेवारी दिइएको छ । त्यस्तै, गढीमाई बाहिनी मकवानपुरमा लक्ष्मणबहादुर सिंह, मुक्तिनाथ बाहिनी कास्कीमा कालीदास धौवजी, विन्धवासिनी बाहिनी लुम्बिनीमा विदुर खड्का, महेश्वरी बाहिनी सुर्खेतमा प्रदीपकुमार पाल र वैद्यनाथ बाहिनी कैलालीमा कुमार न्यौपानको सरुवा भएको छ ।

११ जना एसएसपीको पनि सरुवा भएको छ । जसअनुसार दीपक अधिकारीलाई लामापाटन तालिम केन्द्र, मनीष थापालाई कुरिनटार तालिम केन्द्र तथा कृष्ण ढकाललाई ककनी तालिम केन्द्रमा पठाइएको छ । अवधि पुगेका र रिक्त भएका स्थानमा नियमित सरुवा गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।