मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ फाल्गुण ९ मंगलबार १०:२३:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

महानगरलाई स्मार्ट सिटीमा रूपान्तरण गर्दै ललितपुर

Read Time : > 2 मिनेट
२०७९ फाल्गुण ९ मंगलबार १०:२३:००

ललितपुर महानगरपालिकाले १७ माघमा एक सूचना जारी गर्दै सडक–किनारामा रोपिएका बिरुवा उखेलेको–काटेको प्रमाण पाएको भन्दै यस्तो कार्य कहीँकतैबाट फेरि भए कडा कारबाही गर्ने चेतावनी दियो । १९ माघमा फेरि यस्तै खालको सूचना निकालेर घरपालुवा जनावरलाई सार्वजनिक स्थलमा दिसापिसाब नगराउन आग्रह गर्‍यो । सार्वजनिक स्थानमा घरपालुवा जनावरलाई लगेर दिसापिसाब गराए कडा कारबाही गर्ने सूचनामा उल्लेख छ । 

ललितपुर महानगरका अनुसार यी सूचनालाई सर्वसाधारणले अनुसरण गरे महानगरलाई स्मार्ट सिटी बनाउने प्रारम्भिक खुड्किलो प्राप्त हुनेछ । केही समययता ललितपुर महानगरले सहरलाई स्मार्ट सिटीमा रूपान्तरण गर्न थुप्रै काम अगाडि बढाएको जनाएको छ ।

‘हामीले विश्वका धेरै देशका सहर हे¥र्यौँ । ती सहर हेर्दै रहरलाग्दा छन्, त्यहाँ साना नानीबाबुदेखि वृद्धवृद्धासम्म साइकलमा यात्रा गरिरहेका भेटिन्छन् । जता हेरे पनि हरियाली, पार्क, रातमा पनि झलमल्ल सडक, धुवाँ फाल्ने गाडीमा बन्देज छ । हामीले पनि त्यसैको सिको गरिरहेका छौँ,’ महानगरका मेयर चिरिबाबु महर्जनले भने । ०७४ सालको स्थानीय तह निर्वाचनकै वेला महर्जनले स्मार्ट सिटी बनाउने घोषणा गरेका थिए ।

सोही घोषणाअनुसार ०७७ सालदेखि स्मार्ट सडकबत्ती जडान भएको हो । ‘विश्वका एक सय १६ देशले स्मार्ट सिटीलाई परिभाषित गरेर काम गरेका छन् । हामीले त कपी गर्ने त हो,’ मेयर महर्जनले भने, ‘हामीले गर्ने भनेको त ओपन स्पेस राख्ने, हरियाली बनाउने, रातमा जहाँ हिँडे पनि सुरक्षित तरिकाले हिड्न सक्ने बनाउने हो ।’ यसमा ब्रुमरले दैनिक सडक सफा गर्ने काम भइरहेको छ भने पानीले सडक पखालेर सफा गर्न थप दुई मेसिन किन्ने तयारी भएको छ । 

 ओपन स्पेस र हरियाली 

स्मार्ट सिटी बनाउने घोषणा गरिएअनुसार धेरै काम भइरहेको ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन बताउँछन् । उनका अनुसार नेपालमा स्मार्ट सिटीको परिभाषा नभए पनि अरू देशको सिको गर्दै केही काम भइरहेको छ ।महानगरलाई ‘ग्रिन एन्ड क्लिन’ बनाउन लगनखेलमा ४५ रोपनीको पोखरीमा कमलको फूल फुलाउने र पार्क बनाउने काम सुरु भएको छ । यो बहुवर्षे योजना हो । ओपन स्पेसको सन्दर्भमा महानगरले कसैलाई पनि खाली जग्गा दिँदैन ।

भेटिएका खाली जग्गालाई पार्क बनाइएको छ । ‘मेयर भएपछि दुई आना जग्गा पनि मैले कसैलाई दिएको छैन । खाली जग्गालाई अधिकतम रूपमा प्रयोगमा ल्याइरहेका छौँ । ती ठाउँलाई हरियालीमा रूपान्तरण गर्छौ । ज्येष्ठ नागरिक टहल्ने ठाउँका रूपमा रूपान्तरण गर्छौँ,’ मेयर महर्जनले भने । महानगरले सार्वजनिक जग्गामा हुने रुखबिरुवाको संरक्षण कार्यविधि बनाइरहेको छ । उनका अनुसार गलत मनसायले बिरुवाको हाँगो काटियो भने के गर्ने भन्ने नियम छैन, त्यसैले ऐन बन्दै छ ।

 महानगरभित्र चल्छन् ६ वटा विद्युतीय बस, साइकल लेन विस्तार 
महानगर मेयर महर्जन आफैँ पनि विद्युतीय कार चढ्छन् । महानगरका सबै नगर प्रहरीका लागि विद्युतीय गाडी र मोटरसाइकलको व्यवस्था गरिएको छ । हाल महानगरमा साझाका दुईवटा हरियो बस आइसकेको छ भने फागुन महिनाभित्रै थप चारवटा बस आउँदै छन् । जुन बस विद्युतीय हुनेछ । महानगरले पछिल्लोपटक किनेको सवारीसाधनमध्ये बन्चरेडाँडासम्म फोहोर लैजानेबाहेक सबै सवारीसाधन विद्युतीय छन् । साइकल लेनलाई पनि विस्तार गरिरहेको छ । हाल नख्खुदेखि चोभारको पुलसम्म लेन बनाउने काम भइरहेको छ भने शंखमूलबाट जहाँसम्म पिच भएको छ, त्यहाँसम्म लेन बनाउन लागिपरेको महानगरले जनाएको छ । 

 धेरै प्रकाश दिने बत्ती जडान गर्दै 
महानगरपालिकाले दोस्रो चरणअन्तर्गत १४ सय स्मार्ट सडकबत्ती (स्मार्ट लाइट) राख्ने अभियान अन्तिम चरणमा पु¥याएको छ । जसअन्तर्गत कुपन्डोल, लगनखेल, पुल्चोक, धापाखेल, झम्सीखेल, हरिसिद्धि, बुङ्मती, खोकना, फर्सीडोल, पाटनढोका, मंगलबजार हुँदै गोदावरी नगरपालिकाको सीमासम्म सडकबत्ती राखिनेछ ।

हाल महानगरभित्र ९० प्रतिशत बत्ती जडान भइसकेको छ भने दोस्रो चरणअन्तर्गत बत्ती राखिने १४ वटा मुख्य चोकमा धेरै प्रकाश दिने ‘हाई मास्ट लाइट’ राखिनेछ । उक्त बत्ती राख्न लापिग जावलाखेल र कुपन्डोलमा खाल्डो खन्न थालिएको छ । यो बत्ती पुल्चोकस्थित महानगर कार्यालयअगाडि, जावलाखेल, लगनखेल, बुङ्मती बसपार्क, लगनखेलको आर्मी पेट्रोलपम्प, गणेशमान पार्कलगायतका चोकमा राखिनेछ ।