एनसेलले ललितपुरस्थित नख्खुमा आधुनिक प्रविधिसहितको डेटा सेन्टर सञ्चालनमा ल्याएको छ । कम्पनीले दुई अर्बभन्दा बढी लगानीमा बलियो पावर ब्याकसहितको डेटा सेन्टर सञ्चालनमा ल्याएको हो । कम्पनीले सन् २०२० मा सेन्टरको निर्माण कार्य सम्पन्न गरे पनि कोभिडका कारण पूर्ण सञ्चालनमा भने ल्याउन नसकेको जनाएको छ ।
भूकम्प प्रतिरोधात्मक दुईतले भवनसहितको डेटा सेन्टरमा टेक्निकल रुम, डेटा हल, डेटा सेन्टर, सर्भर रुम, इक्विपमेन्ट रुम, इन्फर्मेसन प्रोसेसिङ फ्यासिलिटी र अपरेटिङ सेन्टरलगायतका छुट्टाछुट्टै कोठा निर्माण गरिएको छ । सेन्टरमा २५० वटा ¥याक, २२० भोल्टको ८८ वटा एसी र्याक, तीनवटा डेटा हल, स्वचालित प्रज्वलन प्रतिरोधात्मक प्रविधि, ४८ भोल्टको १६२ वटा डिसी ¥याक, सुरक्षित प्रवेशद्वारसहितको भवन निर्माण गरेको छ । भवनको सर्भिस सेवा अवधि २५ वर्ष रहेको कम्पनीका प्राविधिक तथा इन्टरप्रेनर प्रमुख मोहम्मद अदिल इसरारले बताए ।
डेटा सेन्टरमा रहेको पावर कक्षमा स्विचिङ डिभाइस छ । पावर सप्लाई युनिट छ, जहाँ एक हजार किलो भोल्टका दुईवटा युपिएस राखिएका छन् । डिसी सप्लाई ४८ भोल्टको छ । डेटा सेन्टरको २४ घन्टा निगरानी गर्न मोनिटरिङ कक्ष राखिएको छ । डेटा सेन्टरको सुरक्षालाई ध्यानमा राखी १०४ वटा क्यामेरा भवनभित्र र बाहिर जडान गरिएको छ ।
त्यस्तै, डेटा सेन्टरमा पाँच मेगावाट क्षमताका जेनेरेटर राखिएको उनले बताए । त्यस्तै, जेनेरेटर सञ्चालनका लागि चार दिनसम्म धान्ने ५० हजार लिटर डिजेल सञ्चितको व्यवस्थासमेत गरेको छ । कम्पनीले नख्खुमा निर्माण गरेको डेटा सेन्टर एसियाकै उत्कृष्ट रहेको उनले बताए ।