Skip This
राजनीतिक भेटवार्ता सकेर भारतीय विदेशसचिव बंगलादेशतर्फ 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण ३ बुधबार
  • Saturday, 27 July, 2024
२o७९ फाल्गुण ३ बुधबार o७:१४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

राजनीतिक भेटवार्ता सकेर भारतीय विदेशसचिव बंगलादेशतर्फ 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण ३ बुधबार o७:१४:oo

काठमाडौंमा बाक्ला राजनीतिक भेटवार्ता सकेर भारतीय विदेशसचिव विनयमोहन क्वात्रा बंगलादेश गएका छन् । दुईदिने भ्रमणमा आएका उनले सोमबार र मंगलबार शीर्ष राजनीतिक नेतृत्वसहित एक दर्जन राजनीतिक भेटवार्ता गरेका छन् । नेपालका राजनीतिक दलहरू भावी राष्ट्रपति निर्वाचनको तयारीमा छन् । 

भारतीय विदेशसचिव विनयमोहन क्वात्रा

विदेशसचिव क्वात्राले मंगलबार उपप्रधानमन्त्रीत्रय नारायणकाजी श्रेष्ठ, विष्णुप्रसाद पौडेल र राजेन्द्रप्रसाद लिङ्देनसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए । मंगलबार नै उनले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टी अध्यक्ष सिके राउत, कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणलगायतसँग पनि भेटवार्ता गरेका थिए । 

ऊर्जामन्त्रीसमेत रहेका लिङ्देनले पञ्चेश्वर, नदी नियन्त्रण डुबान, विद्युत् व्यापारलगायत विषयमा सहयोग गर्न अनुरोध गरेका थिए । ‘लामो समयदेखि अड्केको पञ्चेश्वरको डिपिआर चाँडै टुंग्याउने गरी अघि बढ्न आग्रह गरेँ, दोधारा–चाँदनीमा नेपालले पानी पाउने विषयमा ठोस रूपमा काम अघि बढोस् भन्ने धारणा राखेँ,’ उपप्रधानमन्त्री लिङ्देनले नयाँ पत्रिकासँग भने, ‘भारतमा नेपालको ऊर्जा व्यापार बढाउने विषयमा छलफल भयो । भारतमा विद्युत् व्यापार, बंगलादेशमा विद्युत् व्यापारका लागि ट्रान्समिसन लाइनका लागि सहजीकरणलगायत विषयमा छलफल भयो ।’

विदेशसचिव क्वात्राले भारतमा ट्रान्समिसन लाइनको स्तरोन्नति भएपछि नेपालबाट बंगलादेशमा ऊर्जा व्यापार सहज हुने बताएका थिए । मेचीपारि गलगलिया भन्सारको स्तरोन्नतिका लागि पनि लिङ्देनले आग्रह गरेका थिए । उपप्रधानमन्त्री श्रेष्ठसँग रक्सौल–काठमाडौं रेल तथा अन्य पूर्वाधार विकास आयोजनाका विषयमा छलफल भएको श्रेष्ठको सचिवालयले जनाएको छ । 

क्वात्राले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल, एमाले अध्यक्ष ओली, कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । एमाले अध्यक्ष ओलीले नेपाल र भारतको सम्बन्ध आधुनिक कूटनीतिक सिद्धान्तले परिभाषित गर्न नसक्ने उल्लेख गरेका थिए । 

ओलीसँग सोमबार भएको कुराकानीमा विदेशसचिव क्वात्राले दुवै देशको राजनीतिक इच्छाशक्तिका आधारमा द्विपक्षीय मामिला टुंग्याउनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिमण्डलसहित ओली निवास बालकोट पुगेका भारतीय विदेशसचिव क्वात्राले परराष्ट्रसचिवस्तरीय बैठकमा दुई देशबीचका सबै विषयमा छलफल भएको जानकारी दिएका थिए । एमाले नेता राजन भट्टराईका अनुसार शिष्टाचार भेटमा दुई देशको सम्बन्धबारे चर्चा भएको थियो, राजनीतिक विषयमा चर्चा भएन ।