
कर्णाली करिडोरअन्तर्गत कालीकोटको खुलालुदेखि हुम्लाको सल्लीसल्लासम्म एक सय २२ किलोमिटरको दूरी छ । यातायात व्यवसायीले गाडीभाडा मनोमानी रूपमा असुल्ने गरेको पाइएको छ । एक सय २२ किलोमिटर दूरीको भाडादर भने तीन हजार सात सय रुपैयाँ रहेको छ ।
माघ ४ गते मात्रै हुम्लाको सर्केगार्ड गाउँपालिका– ३ उनापानी गाउँकी बाली फडेराले हुम्लाको सल्लीसल्ला बाजुरा जिल्लाको हिमाली गाउँपालिका शाखा धुलाचौरसम्म एक हजार सात सय रुपैयाँ गाडी भाडा तिरेको दुःखेसो गरिन् । धुलाचौरदेखि पिलुचौरसम्म पाँच सय तिरेकी फडेरा बाजुराको पिलुचौरदेखि नयाँ गाडी फेर्नुपरेपछि एक हजार पाँच सय तिरेर कालीकोटको जितेसम्म पुगेको बताइन् । खानाबाहेक तीन हजार सात सय गाडीलाई भाडा तिरेको उनले गुनासो गरिन् । फडेरा एक प्रतिनिधि पात्र मात्रै हुन् ।
सर्केगार्ड गाउँपालिका– ७ का हंस विकले एक हजार सात सय रुपैयाँले पिलुचौर पुगेकाे र पिलुचौरदेखि कालिकोटको लालिघाटसम्म ६१ किलोमिटरका लागि थप एक हजार पाँच सय तिरेको बताए ।
यस्तै, हुम्लाको चंखेली गाउँपालिका– ४ का झक्क रोकायाले सल्लीसल्लादेखि धुलाचौरसम्म एक हजार सात सय तिरेको बताए । धुलाचौरदेखि पिलुचौरसम्म थप तीन सय तिरेकाे र नयाँ गाडी फेर्दा सुर्खेत बुलबुले यातायात प्रालिले बाजुराको जगन्नाथ गाउँपालिका– १ को पिलुचौरदेखि कालीकोटको लालिघाट बजारसम्म ६१ किलोमिटर दूरीमा दुई हजार प्रतिव्यक्ति लिएको आक्रोश पोखे ।
कालिकोटको खुलालुदेखि हुम्लाको सल्लील्लाखण्डको सडकमा कुनै मापदण्ड नतोकिएका कारण यात्रु चर्को भाडा तिर्न बाध्य देखिएका छन् । सरोकारवाला निकाय उदासीन देखिएपछि हुम्ला, मुगु, बाजुरा जिल्लाका सर्वसाधारण यातायात व्यवसायीको महँगो भाडाको मार खेप्न बाध्य छन् । दैनिक यो खण्डको सडकमा १५ देखि २० वटा जिप र ४० देखि ५० वटा मालबाहक ट्रक ओहोरदोहर गर्ने गरेका छन् ।