Skip This
भाजपा नेतृले भेटिन् प्रधानमन्त्री र कांग्रेस सभापति
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ १६ सोमबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ १६ सोमबार o६:३३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

भाजपा नेतृले भेटिन् प्रधानमन्त्री र कांग्रेस सभापति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ १६ सोमबार o६:३३:oo

तीनदिने नेपाल भ्रमणमा आएकी भारतीय जनता पार्टी (भाजपा) प्रवक्ता साजिया इल्मीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग छुट्टाछुट्टै भेट गरेकी छिन् । अनौपचारिक भ्रमण सकेर उनी आइतबार अपराह्न दिल्ली फर्केकी छिन् । 

आइतबार बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीप्रति सम्मान व्यक्त गरेको तथा भारत भ्रमणका लागि प्रतीक्षारत रहेको बताएका छन् । प्रधानमन्त्रीसँगको भेटपछि इल्मीले ट्विटरमा लेखेकी छिन्, ‘दाजु सुनीलबहादुर थापासहित नेपालका सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई काठमाडौंमा भेट्न पाउँदा गर्व लागेको छ । उहाँले हाम्रा प्रधानमन्त्री नरेन्द्र मोदीप्रति गहिरो स्नेह र सम्मान व्यक्त गर्नुभयो । उहाँ भारत भ्रमणका लागि प्रतीक्षारत हुनुहुन्छ ।’

कांग्रेस नेता थापाका अनुसार भाजपा नेतृ इल्मीले संसद्मा सबै दलको विश्वास प्राप्त गरेकोमा बधाई दिँदै त्यही मतको सन्देशअनुसार उनले सबैलाई मिलाएर अघि बढ्ने विश्वास व्यक्त गरेकी थिइन् । ‘विश्वासको मतलाई आत्मसात् गर्दै अघि बढ्न उहाँले प्रधानमन्त्रीज्यूलाई सुझाव दिनुभएको छ । भारतको नेतृत्व र भाजपाबाट नेपाल सरकार, राजनीतिक दल र नेपाली जनताप्रति सद्भाव र सम्मान पनि उहाँले व्यक्त गर्नुभएको छ,’ थापाले भेटवार्तापछि भने । 

प्रधानमन्त्री प्रचण्डले भारतसँग नेपालले गहिरो समझदारी र साझेदारी गरेर अघि बढ्न चाहेको बताएका थिए । जलस्रोत र जलविद्युत् विकासलगायत विभिन्न क्षेत्रमा भारतसँग सहकार्य गरेर अघि बढ्ने प्रधानमन्त्री प्रचण्डको भनाइ थियो । 

सभापति देउवा र आफूसँगको भेटमा नेपाल र भारतबीच राजनीतिक दलहरूबीचको सम्बन्ध सुदृढीकरणमा जोड दिइएको थापाले बताए । ‘दुई देशमा जनस्तरको सम्बन्ध राम्रो छ । सरकारको स्तरमा पनि सम्बन्ध छ । तर, राजनीतिक दलबीचमा सम्बन्ध सुमधुर हुनुपर्ने आवश्यकता छ । राजनीतिक सम्बन्धले दुई देशबीचका समस्या समाधानका लागि महत्वपूर्ण र निर्णायक भूमिका खेल्छ भन्ने हाम्रो विश्वास हो । हाम्रो सभापति र मैले उहाँलाई यही कुरा भन्यौँ,’ पूर्वमन्त्री थापाले भने ।