१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ १५ आइतबार १९:४२:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

तरकारी फलफूल साकोसको आयोजनामा २०औँ पाम वर्कसप सम्पन्न

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ १५ आइतबार १९:४२:००

बचत तथा ऋण सहकारी संस्थाहरूको २०औँ कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला (पाम वर्कसप) सोमबार सम्पन्न भएको छ। 

तरकारी फलफूल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले जोखिममा आधारित साकोस सुपरीवेक्षण (कर्ब्स) अन्तर्गत काठमाडौं जिल्ला दोस्रो समूहको २०औँ पाम वर्कसप आयोजना गरेको हो। 

कार्यशालामा दोस्रो समूहअन्तर्गतका विभिन्न नौ सहकारी संस्था तथा कास्कुनका प्रतिनिधि सहभागी भएको तरकारी फलफूल साकोसका व्यवस्थापक विमला पुडासैनीले जानकारी दिइन्। 

तरकारी फलफूल साकोसका अध्यक्ष दुर्गालाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यशालाको उद्घाटन–सत्रमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ नेफ्स्कुनका अध्यक्ष परितोष पौडेलले विश्व अर्थ व्यवस्था प्रणाली संकटउन्मुख रहेको भन्दै त्यसको प्रभावबाट नेपालका सहकारी संस्थाहरू पनि अछुतो नरहेको बताए। 

विश्वका ठूलठूला अर्थतन्त्रका अगाडि नेपाल सानो अर्थ व्यवस्था भएको मुलुक भएका कारण मात्र ठूलो संकट नदेखिएको भन्दै उनले भने, ‘समयमै आवश्यक समाधान खोज्न नसके त्यसको प्रभावबाट हामी पनि जोगिन सक्नेछैनौँ।’

उनले अब सहकारी संस्थाहरूले पनि उच्च प्रविधिमा आधारित कार्यकुशलता विकास गर्नुपर्ने भन्दै एउटै सफ्टवेयरबाट सबै उत्पादनको सेवा लिन सकिने गरी नेफ्स्कुनले तयारी गरिरहेको जानकारी दिए। 

उनले सहकारी संस्थालाई बलियो बनाउन प्रत्येक सदस्यलाई वित्तीय साक्षर बनाउनुपर्ने भन्दै साक्षरता विकासका कार्यक्रममा जोड दिन आग्रह गरे । 

पछिल्लो समय धेरै सहकारी संस्थाहरूमा समस्या देखिएपछि नेफ्स्कुनले त्यसको कारण खोज्ने र समस्या समाधानका लागि आवश्यक रणनीति तयार पार्ने काममा ध्यान दिइरहेको उनको भनाइ थियो। 

उनले नेपालको अर्थतन्त्रका तीन खम्बामध्ये सहकारी एक महत्वपूर्ण खम्बा भएकाले त्यसैअनुसारको नीति निर्माणमा सरकारलाई घचघच्याउने काम भइरहेको बताए। 

कार्यक्रममा कास्कुनका अध्यक्ष दीपक पनेरु, तरकारी फलफूल साकोसका सल्लाहकार भरतप्रसाद खतिवडालगायतले सहकारी संस्थाको दीर्घकालीन हितका लागि क्षमता अभिवृद्धि आवश्यक रहेको बताएका थिए। 

कार्यक्रमको संयोजन राजनप्रसाद पराजुलीले गरेका थिए भने औपचारिक कार्यक्रमको सञ्चालन एवं प्रस्तुति व्यवस्थापक विमला पुडासैनीले गरेकी थिइन्। 

कार्यशालामा नौवटा सहकारी संस्थाका असल अभ्यासहरूको आदान–प्रदान गरिएको थियो। सहभागीहरूलाई नेफ्स्कुन र कास्कुनका वरिष्ठ अधिकृत भरत न्यौपाने, अधिकृतद्वय सोबिता गौतम र नवराज सुवेदीले सहजीकरण गरेका थिए 

कार्यशालामा नागार्जुन नगरपालिका–३ मा रहेको जयन्ती बचत तथा ऋण सहकारी, मध्यपुर ठिमी भक्तपुरमा रहेको बालकुमारी बचत तथा ऋण सहकारी, कम्पास बचत तथा ऋण सहकारी, चन्द्रागिरि नगरपालिका– ९ मच्छेगाउँमा रहेको ऋजु बचत तथा ऋण सहकारी, गोकर्णेश्वर काठमाडौंमा रहेको चिनारी बचत तथा ऋण सहकारी सहभागी थिए। 

यसैगरी, बागबजार काठमाडौंमा रहेको शारदामाई बचत तथा ऋण सहकारी, दहचोक काठमाडौंमा रहेको दहचोक बचत तथा ऋण सहकारी, काठमाडौं महानगरपालिका– १९ वनस्थलीमा रहेको आदर्श भृकुटी बचत तथा ऋण सहकारी र कालिमाटी काठमाडौंमा रहेको तरकारी फलफूल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यशालामा सहभागिता थियो। 

यो समूहले प्रत्येक तीन तीन महिनामा पाम वर्कसप आयोजना गर्दै आएको छ।