१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार ११:o४:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

यसरी गरौँ डिप्रेसनको पहिचान र उपचार 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार ११:o४:oo

डिप्रेसन एक किसिमको मानसिक रोग हो । यसले मानिसको व्यवहारमा फरकपन ल्याउनुका साथै मानसिक, शारीरिक एवं भावनात्मक रूपमा समेत पीडा पुर्‍याउँछ । यसका साथै मानिसको दैनिक क्रियाकलापमा समेत अवरोध ल्याउने गर्दछ ।

आदर्श प्रधान, मनोविद् होलिस्टिक माइन्ड्स एन्ड लाइफ सेलिब्रेसन सेन्टर

लक्षण
मानिसमा धेरै नकारात्मक विचारहरू आउने गर्दछन् । निर्णय लिने क्षमता र आत्मविश्वासमा एकाएक कमी आउने गर्दछ । हरेक कुराको नकारात्मक विश्लेषण गर्ने, निराशाको भाव, एक्लोपनको भाव बढी देखिने गर्दछ । डिप्रेसन बढ्दै गएमा मानिसले आत्महत्यासमेत गर्ने गर्दछ । विश्व स्वास्थ्य संगठनले सन् १९९० मा गरेको अनुसन्धानअनुसार मानिसलाई पीडा दिने रोगहरूमध्ये डिप्रेसन चौथो स्थानमा थियो ।

भ्रम
डिप्रेसनबारे चेतना नहुनुले पनि यसको पहिचानमा कठिनाइ भएको छ । मानसिक रोग भन्नासाथ अझै पनि मानिसले खुलेर बताउन नसक्ने अवस्था छ । कतिपयलाई डिप्रेसन भएपछि निको हुँदैन भन्ने ठूलो भ्रम छ । डिप्रेसनको प्रकृतिअनुसार यसको उपचारमा कसैलाई कम समय त कसैलाई लामो समय लाग्न सक्छ । कसैलाई विनाऔषधि मनोविज्ञको परामर्शबाट निको हुन सक्छ । कसैलाई मनोचिकित्सकसँग परीक्षण गराएर औषधि सेवन गर्नुपर्ने हुन सक्छ । तर, डिप्रेसनको उपचार सम्भव छ । डिप्रेसनको सुरुको अवस्थामा परामर्श गर्नुका साथै साइकोथेरापीद्वारा उपचार गरिन्छ । तर, यसको स्टेज बढेको छ भने मनोचिकित्सकको सल्लाहमा औषधि सेवन गर्नुपर्ने हुन्छ । चिकित्सकको सल्लाहविना आफूखुसी औषधि छोड्न भने हुँदैन ।

समाधानका केही उपाय

भावनालाई अभिव्यक्त गर्ने : डिप्रेसन भएपछि आफ्नो विचार, भावनालाई व्यक्त गर्न मन हुँदैन । तर, यसरी आफ्नो भावनालाई व्यक्त नगर्दा समस्या झन् बढ्न सक्छ । त्यसैले आफूलाई लागेको जुनसुकै कुरा आफ्नो नजिकको साथी, परिवारलाई निर्धक्क बताउनु राम्रो हुन्छ । सामान्यतया मनको कुरा बताउँदा मन हल्का हुन्छ ।

व्यस्त रहने : दिमाग खाली भयो भने मनमा अनेकौँ कुरा आउँछन् । यो मनको स्वभाव नै हो । त्यसैले विशेष गरेर डिप्रेसनको समस्या भएका व्यक्ति व्यस्त भयो भने मनमा नकारात्मक विचारहरू आउँदैनन् । सकेसम्म एक्लै नबस्नु बुद्धिमानी हुन्छ । फुर्सद भयो भने पुस्तक पढ्ने, फेसबुक चलाउने, टिभी हेर्ने आदि गरेर पनि आफूलाई व्यस्त राख्न सकिन्छ ।

सकारात्मक सोच्ने : डिप्रेसनको अवस्थामा मनमा धेरै विचार आउने गर्छन् । त्यसमा पनि प्रायजसो नकारात्मक विचारहरू आउने गर्छन् । त्यसैले नकारात्मक विचारलाई वास्ता नगरी सकारात्मक विचारहरूलाई सक्रिय बनाउनुपर्छ । हामीले जस्तो विचारलाई ऊर्जा दिन्छौँ, त्यस्तै विचार हावी हुने गर्दछ । जसका लागि सकारात्मक पुस्तकहरू अध्ययन गर्न पनि सकिन्छ । हामीले आफ्नो दैनिकी आफ्नो दैनिकीलाई अनुशासित रूपमा पालना गर्ने बानी बसालौँ । यसो गर्दा मानिस व्यवस्थित हुन्छ र समस्या कम देखिन्छ ।

नियमित योग–ध्यान गर्ने : योग, ध्यानलाई आफ्नो दैनिकीमा जोड्नुहोस् । डिप्रेसनपछि हामीले गर्ने कुनै कामलाई निरन्तरता दिन कठिनाइ हुन्छ । त्यसैले नियमित योग, ध्यानका लागि योग केन्द्रतिर जानु राम्रो हुन्छ । जसले गर्दा आफूले गरेका क्रियाकलाप मिलेको छ कि छैन भनेर थाहा हुन्छ । नियमित योग, ध्यानले सकारात्मक चिन्तन, उत्प्रेरणा मिल्नुका साथै तनाव पनि कम गर्छ ।

ad
ad