१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
डजोसी पगानी
२०७९ माघ १३ शुक्रबार ०८:५६:००
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

जेसिन्डा आर्डेन : विदेशमा ठूलो नाम, देशभित्र वाचा पूरा गर्न असफल

Read Time : > 4 मिनेट
डजोसी पगानी
२०७९ माघ १३ शुक्रबार ०८:५६:००

लेबर पार्टीभित्र र बाहिर कैयौँले आर्डेनले महिलाको रूपमा भोगेको विभेदका कारण सत्ता चाँडै छाड्नुपरेको बताइरहेका छन्, तर देशभित्र उनको लोकप्रियता घट्नुको कारण भने अरू नै छन् 

डजोसी पगानी

एक समय न्युजिल्यान्ड समावेश नगरिएको विश्वका नक्साहरू देखाउने एउटा वेबसाइट हुने गर्थ्यो । यदि हामीलाई नक्सामा राखियो भने पनि तल्लो दाहिने कुनामा अस्ट्रेलियाको छेउमा राखिन्थ्यो । हामीलाई बिर्सने बानी परिसकेको थियो । यस्तोमा जेसिन्डा आर्डेन आइन्, जसले छोटो समयका लागि न्युजिल्यान्डतर्फ विश्वको ध्यान तानिन् । यो अवधिमा हामी नक्साहरूमा देखिन थाल्यौँ । सन् २०१७ मा ३७ वर्षको उमेरमा प्रधानमन्त्री निर्वाचित भएकी र सुन्दर मुस्कानकी धनी आर्डेन न्युजिल्यान्डको समता र आशाजस्ता मूल्यकी प्रतीक बनेकी थिइन् भने विश्वभरका प्रगतिशील प्रशंसकहरूका लागि उनी डोनाल्ड ट्रम्पहरूको प्रतीकात्मक विकल्प बनिन् । साथै, प्रगतिशीलहरूले पनि चुनाव जित्न सक्छन् र कार्यकालमै बच्चा जन्माउन पनि सक्छन् भनेर उनले देखाइदिइन् । 

भर्खरै कामको चापलाई कारण देखाउँदै प्रधानमन्त्री पद त्याग्ने घोषणा गरेकी आर्डेनले सत्तामा आउँदा न्युजिल्यान्डवासी (किवी)लाई ‘परिवर्तनकारी’ सरकारको वाचा गरेकी थिइन् । उनले सरकारमा गएर आवास संकटलाई सम्बोधन गर्न घरहरू निर्माण गर्ने र बाल गरिबी कम गर्ने प्रतिबद्धता जनाएकी थिइन् । शान्त र मनमोहक क्राइस्टचर्च सहरका दुईवटा मस्जिदमा एकजना श्वेत सर्वोच्चतावादीले ५१ जनाको हत्या गरेपछि उनले देखाएको समानुभूतिपूर्ण प्रतिक्रियाको विश्वभर प्रशंसा भएको थियो । साथै उनले सो अवसरलाई देशमा सबै प्रकारका अर्ध–स्वचालित हतियारमाथि प्रतिबन्ध लगाउन प्रयोग गरिन् (जुन अमेरिकामा जति नै ठूलो घटनापछि पनि सम्भव भएको छैन ।) हामी न्युजिल्यान्डवासी उनीसँग यति सहज थियौँ कि उनलाई जेसिन्डा मात्र भनेर सम्बोधन गर्थ्यौँ । तर, समयसँगै धेरै किवीहरूले महसुस गरे कि आर्डेनको चर्चित अन्तर्राष्ट्रिय छविका बाबजुद उनका चुनावी नारा कहिल्यै कार्यान्वयन भएनन् । 

आर्डेनको नेतृत्वको प्रारम्भमा उनको लेबर पार्टीको लोकरञ्जन प्रवृत्ति सहजै ओझेलमा पर्न गएको थियो । नत्र ट्रम्पको जस्तै लेबरले पनि ट्रान्स–प्यासिफिक साझेदारीको विरोध गरेको थियो । सत्तामा आएपछि भने आर्डेनले विश्वको सबैभन्दा ठूलो स्वतन्त्र व्यापार क्षेत्र स्थापना गर्ने उद्देश्य बोकेको ट्रान्स–प्यासिफिक साझेदारीको अपरिवर्तित संस्करणमा हस्ताक्षर गरिन् । आर्डेन लेबरको नेता बन्नुअघि उनको पार्टीले एसियाली आप्रवासीहरूले गर्दा देशभित्र घरजग्गाको मूल्यमा वृद्धि भएको आरोप लगाएको थियो । सो दृष्टिकोणअनुरूप नै उसले चिनियाँ थर भएका घर खरिददारहरूको सूची नै तयार पारेको थियो । प्रधानमन्त्री भएपछि उनको सरकारले धेरै गैरआवासीय विदेशीलाई विविध प्रकारका घर किन्न प्रतिबन्ध लगायो । आर्डेन यो अवधिमा कहिल्यै विनाशकारी वा विभाजनकारी लागिनन्, तर उनको पार्टीको अन्तर्निहित लोकरञ्जनमा थोरै परिवर्तन भयो । 

आर्डेनको पहिलो कार्यकालको प्रारम्भमा उनको सफलताको रहस्य सिक्न बेलायती र अमेरिकी राजनीतिक रणनीतिकारका समूहहरू न्युजिल्यान्ड आउँथे । यस्तै एक प्रतिनिधिमण्डलका सदस्यले आर्डेनलाई सोधे, ‘तपार्इं आफूले आफैँलाई कसरी हराउनुहुन्छ ?’ प्रश्न कठिन थियो र तिनैले उनलाई सहज बनाइँदै भने, ‘विपक्षीहरू तपाईंको विदेशमा यति धेरै चर्चा भइरहँदा तपार्इंले नागरिकहरूका लागि के गर्नुभयो भन्ने प्रश्न उनीहरूसँग उठाइरहेका छन् नि !’ यो प्रायः संसारको बाँकी भागले सोध्ने प्रश्न थिएन । यद्यपि त्यतिवेला आर्डेन प्रधानमन्त्री भएको एक वर्षभन्दा कम समय मात्रै बितेको थियो । त्यसपछि क्राइस्टचर्चको घटना भयो । आतंकवादको घृणित कार्यको जवाफमा उनले देखाएको करुणाजन्य क्रियाकलाप विश्वभर प्रशंसीकृत भयो । मुस्लिम पीडितहरूबारे बोल्ने क्रममा उनले भनेकी थिइन्, ‘उनीहरूले न्युजिल्यान्डलाई आफ्नो घर रोजेका छन् र यो उनीहरूको घर हो । उहाँहरू मिलेर नै हामी बन्छौँ ।’

जब कोभिडले विश्वलाई छोप्यो, सबैजसो सरकारले तिनका सिमाना बन्द गर्न सुरु गरे । र, संसारको सबैभन्दा दुरस्थमध्येको देश भएकाले न्युजिल्यान्डका लागि सिमाना बन्द सजिलो भयो । उनले देशलाई नाकाबन्द गर्नुका अतिरिक्त भाइरसलाई यो टापुको तटमा आउनबाट रोक्न अत्यावश्यक कामका श्रमिकबाहेक सबैलाई घरभित्र रहन निर्देशन दिइन् । लकडाउन शासकहरूको सहमतिमा मात्र सम्भव भएको थियो । केहीलाई यो मन परेको थिएन, तर पनि हामीमध्ये धेरै यसमा सहमत थियौँ । सरकारको कदमले हजारौँ मानिस मर्नबाट जोगिएका थिए भन्नेमा धेरैको विश्वास थियो । यही समयको कामले उनको पार्टी सन् २०२० मा ठूलो जनादेशका साथ पुनः सत्तामा फर्कियो । 

तर, कठोर कोभिड नीतिहरूले विभाजन, षड्यन्त्र सिद्धान्तवादीहरूलाई बढावा दिइरहेको थियो भने अर्थतन्त्रमा दबाब सिर्जना गरेको थियो । उनी मूलतः आर्थिक असमानता र सबैभन्दा महत्वपूर्ण बाल गरिबी घटाउने वाचामा निर्वाचित भएकी थिइन् । ‘यदि तपाईंले मलाई राजनीतिमा किन आएँ भनेर सोध्नुभयो भने, मेरो जवाफ सरल हुनेछ– बालबालिका,’ उनले एक समय भनेकी थिइन् । तर, आज न्युजिल्यान्ड आर्डन निर्वाचित हुँदाको समयभन्दा खासै कम असमान छैन । ‘भौतिक कठिनाइ’मा बाँचिरहेका न्युजिल्यान्डेली बालबालिकाको अनुपात सन् २०१७ मा १२.१ प्रतिशत रहेकोमा सन् २०२१ मा थोरैले घटेर ११ प्रतिशत पुगेको छ । यो स्वागतयोग्य भए पनि परिवर्तनकारी होइन । औसत ज्याला कमाउने धेरै परिवारले घर किन्न सक्दैनन् । योजनाको ढिलाइ र अन्योलका कारण एक लाख नयाँ घर बनाउने चुनावी वाचा खारेज भएको छ । हजारौँ घरबारविहीन परिवार मोटेलमा बस्न बाध्य छन् । 

यी सबै समस्या आर्डेनले सिर्जना गरेकी होइनन् । घरआवासको बढ्दो मूल्य उनी सत्तामा आउनुअगाडिदेखि नै बढिरहेको थियो । साथै, न्युजिल्यान्ड मात्र यो समस्या भोगिरहेको देश पनि होइन । महामारीको समयमा उनको सरकारले प्रोत्साहन चेक र न्यून ब्याजदरको साथ ज्याला भुक्तान र व्यवसायलाई निरन्तरता दियो । तर, यसले पुँजीपति (सम्पत्ति मालिक)हरूमा सम्पत्तिको ठूलो स्थानान्तरण गरायो । 

आर्डेनले राजीनामा घोषणा गर्नुअघि गरिएको एक सर्वेक्षणले पहिलोपटक धेरै न्युजिल्यान्डवासीमा उनीप्रति अनुकूल (४०प्रतिशत) भन्दा प्रतिकूल (४१ प्रतिशत) धारणा भएको देखाएको थियो । अर्को एक सर्वेक्षणमा ६४ प्रतिशतले विगत केही वर्षमा देश थप विभाजित भएको विश्वास गरेको देखियो । लेबर पार्टीभित्र र बाहिरका कैयौँले आर्डेनले महिलाको रूपमा भोगेको विभेदका कारण सत्ता चाँडै छाड्नुपरेको बताइरहेका छन् । निश्चित रूपमा महिलाद्वेषी भावना चर्को छ र सायद त्यसले उनलाई थकायो पनि होला, तर देशभित्र उनको लोकप्रियता घट्नुको कारण भने त्यो थिएन । न्युयोर्कका पूर्व गर्भनर मारियो कुमोले कतै भनेका छन्, ‘हामी कवितामा चुनावी अभियान चलाउँछौँ र गद्यमा शासन गर्छौं ।’ आर्डेनले कविता प्रस्तुत गर्दै प्रगतिशील मूल्य र कुनै पनि बच्चालाई परित्यक्त नछोड्ने वाचाका साथ चुनाव जित्न सकिन्छ भनी देखाइन् । तर, वाचाहरू पूरा गर्नुपर्छ । बढ्दो अपराध, मुद्रास्फीति र गम्भीर असमानता न्युजिल्यान्डका मतदाताहरूका लागि विश्वचर्चित स्टार प्रधानमन्त्रीभन्दा बढी महत्वपूर्ण छ । हाम्रा मूल्यहरू प्रभावकारी रूपमा उठाउन सक्षम नेता प्रगतिशील एजेन्डामा पनि निर्वाचित हुन सक्छन् । तर, यदि त्यो व्यक्तिसँग वाचालाई यथार्थमा परिणत गर्ने योजना छैन भने शासनप्रति चाँडै असन्तोष उत्पन्न हुन्छ र त्यसपछि विश्वव्यापी स्टारडमले केही सहयोग गर्न सक्दैन ।

आर्डेन अझै पनि न्युजिल्यान्डबाहिर चर्चित नै छिन् र केहीले विश्वव्यापी मञ्चमा उनको समय भर्खरै सुरु मात्र भएको बताएका छन् । महामारी कम भएर सिमाना खोलिएसँगै आर्डेनको अन्तर्राष्ट्रिय यात्रा सरकारको लोकप्रियताको विपरीत अनुपातमा बढेको छ । अहिलेसम्म बलियो राजनीतिक प्रतिकूलतासँग लड्नु नपरेकी आर्डेनले तेस्रो कार्यकालको सम्भावित हारभन्दा अपराजित नेताको रूपमा राजीनामा दिनु श्रेयष्कर ठानिन् । यस हिसाबमा उनले प्रशंसनीय काम गरिन्– उनले कुन समयमा राजनीतिबाट बाहिरिने भने चातुर्य र साहस देखाइन् । तर, आर्डेनले आफैँ गरेका धेरै वाचा पूरा नगरी सत्ताबाट बाहिरिएकी छिन् । न्युजिल्यान्ड आर्डेनको शासनकालमा विश्वको नक्सामा पर्न पाउँदा रोमाञ्चक रह्यो । तर, अन्तमा उनको शासनकाल न्युजिल्यान्डविहीन नक्साजस्तै रह्यो, त्रुटिपूर्ण र अपूर्ण ।

(पगानी न्युजिल्यान्डबाट प्रकाशित हुने दैनिक पत्रिका ‘द डोमिनियन पोस्ट’ र यसको अनलाइन प्लेटफर्म स्टफडटकोडटएनजीकी राजनीतिक स्तम्भकार हुन् । न्युजिल्यान्डको ‘काउन्सिल फर इन्टरनेसनल डेभलपमेन्ट’की पूर्वकार्यकारी निर्देशक रहिसकेकी पगानीले सरकारी राजनीतिक सल्लाहकारको रूपमा पनि काम गरेकी छिन् । )

द न्युयोर्क टाइम्सबाट