
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । लामिछानेविरुद्धको मुद्दामा बहस नसकिएकाले सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखेको हो ।
आज रिट निवेदनकर्ताको पक्षका कानुन व्यवसायीहरूले बहस गरेका छन् । रिटको विपक्षमा (रविको कानुन व्यवसायीहरू) बहस सुरु भए पनि सकिएन । अब लामिछानेको नागरिकता विवादमा शुक्रबार सुनुवाइ हुने सर्वोच्चले जनाएको छ।
शुक्रबार लामिछानेका कानुन व्यवसायीको बहस सकिएपछि जवाफी बहस हुनेछ । मुद्दाका दुवै पक्षले बहस नोट बुझाइसकेका छन् ।
अधिवक्ता रविराज बसौला, युवराज पौडेललगायतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछाने प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदको योग्यताबारे प्रश्न उठाउँदै रिट निवेदन दायर गरेका थिए । नेपाली नागरिकता नलिई राजनीतिक दल खोलेको, प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरी सांसद बनेको उल्लेख गर्दै लामिछानेको सांसद पद खारेजको माग रिट निवेदनमा गरिएको छ ।