Skip This
प्रेमी–प्रेमिकाले एउटै पासोमा झुन्डिएर गरे आत्महत्या
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ ११ बुधबार
  • Saturday, 27 July, 2024
२o७९ माघ ११ बुधबार o७:५९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

प्रेमी–प्रेमिकाले एउटै पासोमा झुन्डिएर गरे आत्महत्या

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ ११ बुधबार o७:५९:oo

परिवारको दबाबमा छुट्टिनुपरेपछि आत्महत्या रोजेको हुन सक्ने प्रहरीको अनुमान

परिवारको दबाबमा प्रेम सफल नभएपछि झापाको कचनकवलका एकजोडी प्रेमी–प्रेमिकाले एउटै पासोमा झुन्डिएर आत्महत्या गरेका छन् । कचनकवल– ४ का २५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्रा राजवंशीले एउटै पासोमा झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए । 

मंगलबार दुवैजना एभरेष्ट चिया बगानमा रहेको एउटा रूखमा एउटै पासोमा झुन्डिएको अवस्थामा भेटिएका थिए । प्रहरीको अनुसन्धानअनुसार दुवैजना सोमबार राति आ–आफ्नो घरमा सुतेका थिए । तर, बिहान झुन्डिएको अवस्थामा भेटिए । कुन समयमा उनीहरू बगानमा पुगेर आत्महत्या गरे भन्ने यकिन नभएको प्रहरीले जनाएको छ । दुवैजना प्रेमी–प्रेमिका रहेको खुलेको र आत्महत्याको बाटो रोज्नुको कारण जातीय विभेद हुन सक्ने देखिएको कचनकवल– ४ का वडाध्यक्ष नुरजमा मियाँले बताए । 

यसरी छुट्याएको थियो परिवारले
करिब डेढ वर्षअघि उनीहरूले भागीविवाह गरेका थिए । तर, केटीपक्षले स्वीकार गरेको थिएन । विवाह गरेर उनीहरू तीन महिनासँगै बसेको कचनकवल– ४ का वडाध्यक्ष नुरजमा मियाँले बताए । जात नमिलेका कारण राजेशकुमारलाई पवित्राको परिवारले बालविवाहको मुद्दा पनि दर्ता गराएको वडाध्यक्ष मियाँले बताए । 

‘राजवंशी र गणेश आदिवासी नै हुन् । तर, राजवंशीभन्दा सानो हो गणेश । जात नमिलेपछि केटीपक्ष सन्तुष्ट थिएन । बिहे गरेको तीन महिनापछि केटालाई मुद्दा हाले,’ उनले भने, ‘केटा र केटीलाई एसपी कार्यालय (जिल्ला प्रहरी कार्यालय) पनि लगियो । केटा बालविवाहमा तीन महिनाजति जेल बसेर निस्कियो । जेलबाट निस्किएको एक वर्ष भएको थियो ।’ राजेशकुमार केही महिना बालविवाहका कारण जेल बसेको जिल्ला प्रहरी कार्यालय झापाले पुष्टि गरेको छ । छुटाएपछि पवित्रा र राजेशकुमार आ–आफ्नै घरमा बस्दै आएका थिए । 

प्रहरीले पनि उनीहरूको आत्महत्याको कारण प्रेम असफल हुनु नै रहेको प्रारम्भिक निष्कर्ष निकालेको छ । ‘डेढ वर्षअघि भागीविवाह गरेका रहेछन् । केटीपक्षले केटीको उमेर नपुगेपछि छुटाएको रहेछ,’ डिएसपी पाठकले भने, ‘प्रेम असफल भएपछि आत्महत्याको बाटो रोजेको हुन सक्ने हामीले प्रारम्भिक निष्कर्ष निकालेका छौँ ।’ झुन्डिएको अवस्थामा भेटिएकी पवित्राको सिउँदोमा सिन्दुर थियो भने राजेशकुमारको हातमा पनि सिन्दुर देखिएको डिएसपी पाठकले बताए । यसअघि कचनकवल– ५ स्थित सुनकोसी चिया बगानमा गत साउनमा एउटै रूखमा झुन्डिएको अवस्थामा तीन किशोरी फेला परेका थिए । प्रहरीले उनीहरूले आत्महत्या गरेको निष्कर्ष निकालेको थियो । पारिवारिक कारणले आत्महत्या गरेको प्रहरीले निष्कर्ष निकालेको थियो ।