भारतको संघीय सरकारले बिबिसीको एक वृत्तचित्रलाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको छ । वृत्तचित्रले सन् २००२ मा गुजरातमा भएको मुसलमानविरोधी हिंसाको छानबिन गर्दै हिंसाका लागि गुजरातका तत्कालीन मुख्यमन्त्रीलाई जिम्मेवार ठह¥याएको छ ।
गुजरात हिंसामा उनको भूमिकाबारे आएको निचोड नौलो भने होइन । महिना दिनअगाडि गुजरात विधानसभा चुनावको प्रचारका क्रममा भारतका गृहमन्त्रीले सन् २००२ मा दंगा भड्काउने (दंगाई) लाई यसरी पाठ सिकाएका थियौँ, तिनले अहिले टाउको उठाउन सक्दैनन् र पो गुजरातमा अमनचैन छ भनेर भाषण गरेका थिए । यो कुटिल भाषापछाडिको नियत बुझ्न गाह्रो छैन । हिन्दूत्ववादी भाषामा दंगाई अथवा हिंस्रक शब्द मुसलमानका लागि प्रयोग गरिन्छ । यस अर्थमा गृहमन्त्रीको बयानको आशय स्पष्ट थियो । उनी आफैँ गुजरातका हिन्दूलाई सन् २००२ को पराक्रम सम्झाइरहेका थिए र मुसलमानलाई एक हिसाबले धम्की दिइरहेका थिए ।
वृत्तचित्रमा देखाइएका धेरै विषयवस्तु नौला होइनन्, तैपनि वृत्तचित्र प्रसारण भएपछि सरकारी वृत्तमा हलचल मच्चेको छ । विदेश मन्त्रालयका प्रवक्ताले वृत्तचित्रलाई औपनिवेशिक मानसिकताले ग्रसित अहंकारको संज्ञा दिएका छन् । गुजरात हिंसालाई तत्कालीन बेलायती सरकारले आफ्नो स्तरमा छानबिन गर्दा तत्कालीन मुख्यमन्त्रीलाई दोषी पाएको तथ्य यो वृत्तचित्रले देखाएको भने नौलो हो । बेलायती सरकारको छानबिन प्रतिवेदनलाई गोप्य राखिएको थियो । र, बिबिसीलाई यो गोप्य प्रतिवेदन हात लाग्यो र यसकै आधारमा वृत्तचित्र बन्यो ।
बेलायती सरकारलाई भारतमा भएको हिंसाको अनुसन्धान गर्ने अधिकार कसरी मिल्यो भन्दै भारतमा वृत्तचित्रलाई लिएर एक तप्काबाट रोष प्रकट गरिँदै छ । के यो भारतको सम्प्रभुताको उल्लंघन होइन ? के बेलायतको सुतेको औपनिवेशिक अहंकार जागेको होइन ? भन्दै प्रश्न गरिँदै छन् । तर, बेलायतका तत्कालीन विदेशमन्त्री ज्याक स्ट्रले गुजरात हिंसामा भारतीय मूलका बेलायती नागरिक मारिएका थिए र उनीहरूको हत्याको कारण पत्ता लगाउनु बेलायती सरकारको जिम्मेवारी थियो भन्ने बताएका छन् । आफ्नो भूमिमा विदेशी नागरिक मारिएका सन्दर्भमा भारतले लज्जित हुँदै विधिपूर्वक मृत्युको कारण खुलाउनुपथ्र्यो । तर, भारत सरकारले त्यसो गरेन । त्यसो भए के बेलायत सरकारले गुजरात वा भारत सरकारजसरी आफ्ना नागरिक मारिँदा चुप लाग्नुपथ्र्यो ?
औपनिवेशिक अहंकार वा भारतविरोधी मानसिकताबारे प्रश्न उठाउने हो भने दुई वर्षअगाडि बिबिसीले बेलायती शासनका वेला भोकमरीबारे बनाएको वृत्तचित्र हेरे पुग्छ । वृत्तचित्रमा तत्कालीन बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिललाई भोकमरीका लागि जिम्मेवार ठहर्याइएको थियो । अब भन्नुस्, यो कस्तो औपनिवेशिक मानसिकता हो, जसले बेलायतकै प्रधानमन्त्रीलाई अपराधी करार गर्छ ?
गुजरात हिंसाबारे बनेको वृत्तचित्रले हामी भारतीय एक हौँ भनेर ढोंग रचे पनि हामी आफूजस्तै नागरिकको पीडालाई बुझ्दैनौँ भन्ने देखाएको छ
के हाम्रा सरकारी जाँच संस्थाले बेलायत सरकारको चासोको चित्तबुझ्दो जवाफ दियो ? के गोधरामा साबरमती एक्सप्रेस रेलको डब्बामा कसले आगो लगायो भन्ने प्रश्नको उत्तर आयो ? अथवा सरकारले आगजनीमा मुसलमान संलग्न थिए भन्ने मानेकै हो ? यस दुर्घटनाको अनुसन्धान गर्न तत्कालीन रेलमन्त्री नितिश कुमारले आवश्यक नठानेकै हुन् ? गुजरातका तत्कालीन मुख्यमन्त्रीले कुन आधारमा ‘नराधम’हरूले आगो लगाएका हुन् भने ? ती नराधम को थिए ? यस आगलागीमा नराधमको संलग्नता र यसको प्रतिक्रियास्वरूप हिंसा भएको हो भनेर हिंसालाई किन स्वाभाविक ठह¥याइयो ? किन तत्कालीन प्रधानमन्त्री अटल बिहारी वाजपेयीले मुसलमानविरोधी हिंसाबारे जवाफ माग्दा कड्किँदै पहिले कसले आगो लगायो भनेर प्रश्न किन नगरेको भने ?
मानिलिऊँ आगजनी मुसलमानले गरे, त्यसपछि हिंसाको अनुमति कसले दियो ? गोधरामा मारिएका ‘कारसेवकका शव’लाई बोकेर अहमदावादमा जुलुस निकाल्न कसले अनुमति दियो ? राज्यका एक पूर्वविधायक एहसान जाफरीले बारम्बार मुख्यमन्त्री र अन्य ठूला अधिकारीलाई फोन गर्दासमेत सुरक्षा दिइएन र अन्ततः उनलाई भिडले कसरी हत्या ग¥यो ? किन तत्कालीन मुख्यमन्त्रीले जाफरीलाई नै गोली चलाएको भन्दै मारिनेलाई नै जिम्मेवार ठह¥याए ? के त्यसवेला प्रत्यक्ष साक्षीलाई खारेज नै गरिएको हो ? उच्चपदस्थ सुरक्षा अधिकारीले गुजरात हिंसाका समयमा मुख्यमन्त्रीसँग बैठक बसेका थिए भनेर गुजरातका गृहमन्त्री भइसकेका हरेन पंड्याले नागरिक जाँच आयोगसामु बयान दिएपछि अनुसन्धान किन अगाडि बढाइएन ? त्यसपछि हरेन पंड्याको हत्यालाई पनि ढाकछोप किन गरियो ? के पंड्याको हत्या र बयानबीच केही सम्बन्ध थियो ?
उसो त भारतको सर्वोच्च अदालतले तत्कालीन गुजरातका मुख्यमन्त्रीमाथि लागेको आरोपलाई खारेज गरेको हुनाले यस विषयमा बोल्न नमिल्ने भन्ने तर्क गरिन्छ । न्यायपालिकाले भन्या मान्ने हो भने त बाबरी मस्जिद ध्वंसका लागि पनि कोही जिम्मेवार थिएन । के त्यसो भए मस्जिद भत्काउन आइपुगेका लाखौँको भिड आफसेआफ जम्मा भएको थियो ? यस मामिलामा अदालतले भारतीय जनता पार्टीका नेतालाई पूर्ण रूपमा निर्दोष करार गरेको थियो । हो, बाबरी मामिलामा झैँ अदालतले गुजरातका तत्कालीन मुख्यमन्त्रीलाई पनि निर्दोष करार गरेको थियो ।
बिबिसीको वृत्तचित्रले हामीलाई २० वर्षपछि हामीले सत्यको खोजीमा त्रुटि गरेका थियौँ भन्दै यससँग जोडिएको न्यायको आकांक्षालाई सम्झाइदिएको छ । वृत्तचित्रले हामी सम्पत्तिका लागि २०औँ वर्ष अदालती मुद्दा लड्न सक्छौँ, तर सामूहिक अन्यायका मामिलामा हामी न्यायप्रति उदासीन छौँ भनेर देखाएको छ । त्यसैले त होला, हामीले कहिल्यै सन् १९८४ को सिखविरोधी हिंसा वा सन् १९८९ को भागलपुर मुसलमानविरोधी हिंसालगायतको जरो खोजेनौँ । हामी भारतीय एक हौँ भनेर ढोंग रचे पनि हामी आफूजस्तै नागरिकको पीडालाई बुझ्दैनौँ । हामी पीडितले आफैँ न्याय खोजोस् भनेर उपेक्षा मात्रै गर्दैनौँ, बरु उल्टै हामी न्यायका लागि मरिमेट्नेलाई तिरस्कार गर्छौं । सामूहिक हत्यालाई बेवास्ता गर्नु भारतीय एवं भारतीय राज्यको नैतिक कमजोरी हो ।
(अपूर्वानन्द दिल्ली विश्वविद्यालयमा हिन्दी अध्यापन गर्छन्) सत्य हिन्दीबाट