१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ ९ सोमबार ०८:४८:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

अन्तिम ‘ट्रायल’ परीक्षणमा एचआइभी भ्याक्सिन फेल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ ९ सोमबार ०८:४८:००

एचआइभीविरुद्धको एक मात्र खोप अन्तिम चरणको परीक्षणमा फेल भएको छ । एचआइभी नियन्त्रणका लागि बलियो सम्भावनाका रूपमा हेरिएको यो खोप परीक्षणका क्रममा प्रभावकारी नदेखिएपछि खोप निर्माताहरू निराश बनेका छन् । ‘मोज्याको’ नामक उक्त खोपको उत्पादन र परीक्षण अमेरिकी सरकार, जन्सेन र सार्वजनिक–निजी साझेदारीको सहयोगमा भइरहेको थियो ।

आठवटा देशमा परीक्षण भइरहेको भ्याक्सिन सन् २०१९ यता अमेरिका र युरोपका केही राष्ट्रमा अन्तिम चरणको ट्रायलमा थियो । पछिल्लो ट्रायल एचआइभीको ठूलो जोखिममा रहेका पुरुष र ट्रान्सलिंगीहरूसँग यौन सम्बन्ध राख्ने करिब ३९ सय पुरुषमा गरिएको थियो । 

स्वतन्त्र डेटा र सुरक्षा निगरानी बोर्डले परीक्षणको निष्कर्षको समीक्षापछि खोपले एचआइभी नियन्त्रणमा सकारात्मक प्रभाव पारेको प्रमाण नभेटेकाले अनुसन्धान बन्द गरिने बताएको छ । राष्ट्रिय एलर्जी र संक्रामक रोग संस्थान (एनआइएआइडी)को प्रमुख एवं परीक्षणमा साझेदारका रूपमा काम गरिरहेका डा. एन्थोनी फौसीले खोपको रिजल्ट स्पष्ट रूपमा निराशाजनक भएको बताएका छन् ।

उनले भनेका छन्, ‘खोपले अपेक्षित नतिजा नदिएपछि मानिसलाई एचआइभीको परीक्षणका लागि प्रयोग गर्नु उचित भएन । परीक्षणको प्रारम्भमा आशाजनक देखिएको खोपको सबै अध्ययन–अनुसन्धान बन्द गरेका छौँ ।’ डा. फौसीले खोपको निराशाजनक नतिजापछि पदबाट राजीनामा दिएका छन् । 

मोज्याको प्रभावकारी नदेखिनु अप्रत्याशित नभएको बताइएको छ । यसअघि सन् २०२१ मा इम्बोकोडो नामक एचआइभी भ्याक्सिनको ट्रायलमा समेत नतिजा प्रभावकारी देखिएको थिएन । एनआइएआइडीले नै अफ्रिकाका महिलामा गरेको परीक्षणमा ५६ मिलियन डलर खर्च गरेको थियो । 

अमेरिकी नेसनल इन्स्टिच्युट अफ हेल्थका अनुसार दुइटै परीक्षणमा ‘कमन कोल्ड भाइरस’ प्रयोग गरिएको थियो । जुन विश्वभरि प्रचलित विभिन्न प्रकारका एचआइभी स्ट्रेनहरूबाट आनुवंशिक सामग्री समावेश गरेर बलियो र सुरक्षात्मक प्रतिरक्षा प्रतिक्रिया ट्रिगर गर्ने उद्देश्यले गरिएको थियो । 

मोज्याको ट्रायलमा १८ देखि ६० वर्ष उमेर समूहका व्यक्ति समावेश गरिएको थियो, जसमा १२ महिनाभित्र चारवटा भ्याक्सिन वा प्लेसबोका डोज दिइएको थियो । तर, अनुगमन बोर्डले दुवै समूहमा खोपपश्चात् कुनै महŒवपूर्ण फरक नपाइएको बताएको थियो । 

डा. फौसीले खोपमा प्रयोग गरिएका एचआइभीविरुद्ध एन्टिबडीलाई निष्क्रिय पार्ने नन–न्युट्रलाइजिङको प्रयोग नै मुख्य कमजोरी भएको बताए । उनी भन्छन्, ‘एन्टिबडीहरूलाई निष्प्रभावी पार्ने खोप एचआइभीविरुद्ध प्रभावकारी हुँदैनन् भन्ने स्पष्ट भएको छ ।’ ट्रायल परीक्षण गरिरहेका जन्सेन र एनआइएआइडी ‘एचआइभी भ्याक्सिन ट्रायल नेटवर्क’द्वारा सञ्चालित थिए, जसको मुख्यालय सियाटलको फ्रेड हचिन्सन रिसर्च सेन्टरमा र युएस आर्मी मेडिकल रिसर्च एन्ड डेभलपमेन्ट कमान्डअन्तर्गत राखिएको थियो । 

चारवटा खोपमा नौवटा ट्रायल 
मोज्याको मात्रै नभई एचआइभीविरुद्धका भ्याक्सिन उत्पादनका लागि झन्डै एक दशकदेखि ट्रायल परीक्षण भइरहे पनि हालसम्म खोप बन्न सकेको छैन । हालसम्म चारवटा भ्याक्सिनमा नौवटा क्लिनिकल ट्रायल भइसकेका छन् ।एचआइभीविरुद्ध मोज्याको, इम्बोकोडो, प्लस वान र प्रिभ्याकमा क्लिनिकल ट्रायल गरिएका हुन् । 

प्रिभ्याकमा हालसम्म अफ्रिकामा क्लिनिकल ट्रायल चलिरहे पनि प्रभावकारी भने देखिएको छैन । क्लिनिकल ट्रायलले न्यूनतम प्रक्रिया मात्रै अपनाएकाले प्रभावकारी देखिए पनि मानिसमा प्रयोगका लागि अर्को क्लिनिकल ट्रायल आवश्यक पर्ने बताइएको छ ।