Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ ८ आइतबार ०६:५७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

उच्चस्तरीय भेटवार्तामा चिनियाँ राजदूत सोङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ ८ आइतबार ०६:५७:००

नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सोङले राजनीतिक एवं कूटनीतिक भेटवार्ता तीव्र पारेका छन् । कार्यभार सम्हाल्न २४ पुसमा आएका राजदूत सोङले २९ पुसमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएलगत्तै उच्चस्तरीय भेटवार्ता सुरु गरेका थिए । 

राजदूत सोङले शनिबार कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र परराष्ट्रसचिव भरतराज पौड्यालसँग बेग्लाबेग्लै भेटवार्ता गरेका छन् । सभापति देउवासँग भएको भेटमा नेपाल–चीन सम्बन्ध तथा कांग्रेस र चिनियाँ कम्युनिस्ट पार्टीबीचको सम्बन्धबारे छलफल भएको राजदूत सोङले ट्विटरमा जनाएका छन् ।

‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गरेको छु । हामीले दुई देश तथा दुई पार्टीबीचका समबन्धबारे आदानप्रदान गरेका छौँ,’ राजदूतले ट्विटरमा उल्लेख गरेका छन् । देउवा निकटस्थ स्रोतका अनुसार देउवाले कांग्रेस एक चीन नीतिप्रति प्रतिबद्ध रहेको उल्लेख गरेका छन् । देउवाले केरुङ र तातोपानी नाका थप सहज बनाउनुपर्नेमा पनि जोड दिएका छन् । 

उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलसँग द्विपक्षीय समबन्ध तथा आर्थिक मुद्दामा छलफल गरेका छन् । परराष्ट्रमन्त्री पौड्यालसँग द्विपक्षीय सम्बन्ध र सान्दर्भिक मुद्दाबारे छलफल गरेको राजदूतले जनाएका छन् । तर, मुद्दाबारे उल्लेख गरेका छैनन् । उनले परराष्ट्रसचिवसँग पनि द्विपक्षीय जिषयमा छलफल गरेका छन् । नेपाल–चीन सीमापार रेलको सम्भाव्यता अध्ययनलगायत विषयमा पनि छलफल भएको परराष्ट्र स्रोतले जनाएको छ । 

चिनियाँ राजदूत सोङले यसअघि २ माघमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, ४ माघमा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली र ५ माघमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग भेटवार्ता गरेका थिए । राजदूत सोङले बिहीबार साँझ चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा सांस्कृतिक कार्यक्रमसहित रात्रिभोज पनि आयोजना गरेका थिए ।