
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राज्यका निकायहरूलाई निरीह बनाइएकाले आफूले गरेका कामहरूको प्रतिफल आउन समय लाग्ने बताए।
उनले अभियुक्तलाई समात्न सक्नुभएन भन्ने आरोप लागेको छ, यसमा के भन्नुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा आफूले पनि देखेको तर सभामुखको रुलिङ नभएका कारण नसमातेको उनको जवाफ थियो।
उनले गलत काम गर्नेलाई कारबाही गर्न पछि नहट्ने बताए। उनले भने, ‘नदेख्ने भन्ने कुरा नै हुँदैन। तर, सभामुखबाट रुलिङ हुनुपर्छ। मैले भनिसकेको छु। राज्यका निकायहरूलाई निरीह बनाइएको छ, नतिजा आउन समय लाग्छ। हेर्दै जानुहोला, नतिजा आउनेछ। गलत काम गरेका मानिसहरू कोही पनि बाँकी रहँदैन। केही समयका लागि लुक्ने भाग्ने होला तर हामी समातेरै छोड्छौँ।’
म्यानपावरमा संलग्न व्यक्तिलाई मन्त्री बनाएको आरोप लगाइएको छ भन्ने प्रश्नमा उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल संलग्न भएको भए कुन म्यानपावरमा हो, जानकारी दिन पनि आग्रह गरे।
श्रममन्त्री अर्याल मन्त्रीमा नियुक्त भएसँगै म्यानपावरमा संलग्न रहेको भन्दै उनको विरोध भएको थियो। उनले संलग्न भएको पाए खबर गर्न र संलग्न पाए आफैँ पहिलो कारबाही गर्ने बताए।