
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाअन्तर्गतका पूर्वी नहरको अर्काे ठेक्का पनि नवनियुक्त सहरी विकासमन्त्री विक्रम पाण्डेको कालिका कन्स्ट्रक्सनले नै लिएको छ । तर, सम्झौताको म्याद पाँचपटक थप गर्दा पनि निर्माण सम्पन्न भएको छैन ।
५३ किलोमिटर लम्बाइ रहने पूर्वी नहरको ३७ किलोमिटर खण्ड निर्माणको ठेक्का कालिका र कुमार निर्माण सेवा प्रालि (कालिका/कुमार जेभी) ले संयुक्त रूपमा पाएका थिए । सिँचाइ विभागले ९ साउन ०७४ (२४ जुलाई २०१७) मा २ मंसिर ०७६ सम्म निर्माण कार्य सक्ने गरी ठेक्का सम्झौता गरेको थियो ।
पाँचपटक म्याद थप भइसकेको छ, तर निर्माण सम्पन्न भएको छैन । अन्तिमपटक थपेको म्याद यही २९ माघमा सकिँदै छ । यस अवधिमा पनि निर्माण कार्य पूरा हुने देखिएको छैन । सिँचाइ विभागका एक उच्च अधिकारीका अनुसार अहिलेसम्म ९३ प्रतिशत भौतिक काम मात्रै सकिएको छ । निर्माण सम्पन्न भएपछि पनि १३ महिना सोही कम्पनीले नै नहर सञ्चालन गर्नुपर्नेछ ।
पहिलोपटक १ मंसिर ०७७ मा म्याद थप गरिएको थियो । त्यसपछि क्रमशः २७ पुस ०७७ मा दोस्रोपटक, २७ असार ०७८ मा तेस्रोपटक, ३० चैत ०७८ मा चौथोपटक र २९ माघ ०७९ मा पाँचौँपटक म्याद थप गरिएको थियो ।
ठेक्का रकमसमेत बढ्यो
आयोजनाको निर्माण ढिलाइ हुँदा भेरिएसनमार्फत ठेक्का रकमसमेत बढेको छ । सुरुमा तीन अर्ब ६ करोड ९८ लाखमा ठेक्का सम्झौता भएको थियो । तर, अहिले भेरिएसनमार्फत त्यो तीन अर्ब ३० करोड २१ लाख रुपैयाँ पुगेको छ । उक्त भेरिएसन मंसिर ०७८ मा सिँचाइ विभागले स्वीकृतसमेत गरिसकेको छ ।