१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ २ सोमबार
  • Sunday, 22 September, 2024
२o७९ माघ २ सोमबार o७:३५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एक दशकमा बसपार्क भवन बन्यो, सञ्चालनको नीति बनेन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ २ सोमबार o७:३५:oo

गुल्मी सदरमुकाम तम्घासस्थित उदिनढुंगा बसपार्कको टर्मिनल भवन करिब एक दशकमा निर्माण भएको छ । गुल्मी क्षेत्र नं. २ का अधिकांश स्थानमा छुट्ने लामो तथा छोटो दूरीका सवारीसाधनले उदिनढुंगा बसपार्क अत्यन्तै व्यस्त हुने गर्छ । तर, अति महत्वपूर्ण र व्यस्त बसपार्कको व्यवस्थापन नहुँदा नागरिक र यातायात व्यवसायीले वर्षौँदेखि सास्ती खेपिरहेका थिए । बसपार्कको आधार निर्माण गरेको करिब एक दशक हुँदासमेत कामले पूर्णता नपाउँदा स्थानीय नागरिक तथा जिल्लास्थित सरोकारवालाले पटक–पटक आलोचना गरे । अहिलेसम्म बसपार्क कच्ची नै छ । तर, वर्षौँदेखि अलपत्र भवन निर्माण भएको छ । 

सहरी विकास तथा भवन डिभिजन कार्यालय पाल्पाले बसपार्क भवन निर्माण सुरु गरेको थियो । बसपार्क भवनका लागि ०७२ मा सहरी विकास तथा भवन डिभिजन कार्यालय पाल्पाले चार करोड ९१ लाख रुपैयाँको स्टिमेट गरेको थियो । भवनको स्टिमेटमा शौचालय, प्रहरी बिट, टिकट काउन्टरलगायत कोठाको डिजाइन गरिएको छ । 

०७४ को वैशाखमा तीन करोड रुपैयाँको टेन्डर आह्वान भयो । तर, अन्तिममा सोही कार्यालयले मूल्यांकन नगरिदिएकाले भवन बनेन । ०७६ को वैशाखमा ५० लाख विनियोजन भएको बजेटबाट भवनको बाँकी स्ट्रक्चरको काम बन्यो । संघीय आयोजना कार्यान्वयन इकाइ रुपन्देहीमार्फत पछिल्लो समय यात्री कन्स्ट्रक्सनले २३ लाखभन्दा बढीको लागतमा फिनिसिङलगायतको काम गरेको छ । निर्माण व्यवसायी सुरेश श्रेष्ठले निर्वाचन आचारसंहिताका कारण केही काम रोकिएको बताउँदै केही दिनमै भवन हस्तान्तरण गरिने बताए । 

 भवन अलपत्र पर्ने आशंका
करोडौँ खर्च गरेर निर्माण गरिएका सरकारी संरचना अलपत्र पर्नु कुनै नौलो कुरा होइन । तम्घासको थ्रिडी पार्क र हाटबजारको रमिता नागरिकले भोगेका छन् । करिब एक दशक लगाएर निर्माण भएको उदिनढुंगा बसपार्कको टर्मिनल भवनको पनि अवस्था त्यस्तै देखिएको छ । निर्माण गर्ने सरकारी कार्यालय, स्थानीय तह र व्यवस्थापन समितिसँग बसपार्क भवन सञ्चालनको कुनै टुंगो छैन । 

संघीय आयोजना कार्यान्वयन इकाइ रुपन्देहीका टीका थापाले आफूहरूले अलपत्र भवनलाई प्रयोग गर्ने अवस्थासम्म पु¥याएर स्थानीय तहलाई हस्तान्तरण गर्ने भएकाले स्थानीय तह र व्यवस्थापन समितिले सञ्चालनको विषयमा सोच्नुपर्ने बताए । रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले आफैँसँग योजना कार्यान्वयन गर्ने कार्यालय र निर्माण व्यवसायी कसैले पनि छलफल र समन्वय नगरेको बताए । 

पन्थीले स्थानीय तहलाई भवन हस्तान्तरण गरेपछि मात्रै बाँकी विषयमा अगाडि बढ्ने बताए । त्यस्तै, उदिनढुंगा बसपार्क व्यवस्थापन समिति अध्यक्ष रामप्रसाद पन्थीले कार्यालयले स्थानीय तहलाई हस्तान्तरण गरेपछि नगरको समन्वयमा भवन सञ्चालन गरिने बताए ।

 यातायात व्यवसायी पनि आशावादी छैनन्
बसपार्क व्यवस्थित नभएका कारण उदिनढुंगा चोकको ओरालोमा यातायात व्यवासायीका काउन्टर छन् । नागरिकको दैनिक भिड हुन्छ । ओरालो चोकको कारण दुर्घटनाको सम्भावनासमेत त्यतिकै रहेको छ । साँघुरो सडकमा सवारीसाधन बढी छन् । पार्किङ गर्ने उपयुक्त ठाउँ छैनन् । बसपार्कको राम्रो व्यवस्थापन नहुँदा सबैलाई सास्ती थियो । अहिले भवन निर्माण भए पनि उपयोगको नीति र योजना नहुँदा समस्या भएको गुल्मी यातायात व्यवसायी समितिका महासचिव हिमाल कुँवरले गुनासो गरे । कुँवरले पछिल्लो समय कार्यालय र निर्माण व्यवसायीले उपभोक्ता समितिसँग कुनै सहकार्य नगरेको र काम पनि गुणस्तरहीन भएको आरोप लगाए । बसपार्कको बीच भागमै भवन निर्माण गरिएको छ । स्थानीय र व्यवसायीले सुरुबाटै त्यसको विरोध गरेका थिए ।