१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार o८:५२:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

प्रधानमन्त्री कप क्रिकेट : एपिएफ र लुम्बिनीको विजयी सुरुवात

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o८:५२:oo

साबिक विजेता एपिएफले प्रतियोगितामा विजयी सुरुवात गरेको छ । अर्काे खेलमा कर्णालीका ६ ब्याटर शून्यमा पेभिलियन फर्किएपछि लुम्बिनीले सहज जित निकाल्यो । 

विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब र लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । शनिबार इटहरीको जनता क्रिकेट पार्कमा भएको पहिलो खेलमा गण्डकी प्रदेशलाई सात विकेटले हराउँदै साबिक विजेता एपिएफले महत्वपूर्ण दुई अंक जोडेको हो । जितसँगै समूह ‘ए’मा एपिएफले दुई अंक जोड्दा गण्डकीले हारबाट प्रतियोगिता सुरु गर्‍यो । समूहमा सुदूरपश्चिम प्रदेशको समेत दुई अंक छ । 

एपिएफलाई सजिलो लक्ष्य
गण्डकीले प्रस्तुत गरेको ५२ रनको झिनो लक्ष्य एपिएफले ८.४ ओभरमा मात्र तीन विकेट गुमाउँदै भेटायो । कप्तान तथा ओपनर सीता रानामगरले अविजित १९ रन बनाइन् । सीताले २२ बलमा दुई चौका प्रहार गरेकी थिइन् । रोमा थापाले अविजित १४ रनको योगदान गरिन् । ओपनर ज्योति पाण्डेले ११ बलमा आठ रन बनाउँदा तेस्रो नम्बरमा क्रिजमा आएकी इन्दु बर्मा शून्यमा पेभिलियन फर्किइन् । गण्डकीका लागि तीनै विकेट कप्तान सृष्टि जैसीले लिइन् । सृष्टिले चार ओभरमा १९ रन खर्चिएकी थिइन् । 

सुमनको कसिलो बलिङ
यसअघि सुमन विष्ट बलिङमा चम्किएपछि गण्डकी सस्तै रनमा समेटिएको थियो । सुनमले चार ओभरमा ६ रन खर्चिएर तीन विकेट लिएपछि गण्डकीका खेलाडीले ठूलो स्कोर बनाउन सकेनन् । टस हारेर ब्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदा मात्र ५१ रन बनाएको थियो । गण्डकीकी कप्तान सृष्टि जैसीले सर्वाधिक १४ रन बनाइन् । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । एपिएफका लागि सुमनले तीन विकेट लिँदा नेरी थापा, सुष्मा श्रेष्ठ, सीता रानामगर र राजमती ऐरीले समान एक विकेट लिएका थिए ।

लुम्बिनीको सहज जित
शनिबारको दोस्रो खेलमा कर्णाली प्रदेशलाई ९८ रनले हराउँदै लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेको छ । जितसँगै समूह ‘बी’मा लुम्बिनीले दुई अंक जोडेको छ । कर्णाली पहिलो खेलमै पराजित भयो । समूहमा प्रदेश १ को दुई अंक भएपछि नेट रनरेटमा दोस्रो स्थानमा रह्यो । 

६ ब्याटर शून्यमा पेभिलियन
६ ब्याटर शून्यमा पेभिलियन फर्किएपछि कर्णाली प्रदेश पहिलो खेलमै पराजित भएको हो । एक सय ४८ रनको लक्ष्य पछ्याएको कर्णालीले १८.१ ओभरमा सबै विकेट गुमाउँदा मात्र ४९ रन बनायो । ओपनर तृष्णा विश्वकर्मा, रमा बुढाथोकी, विमला बुढाथोकी, अञ्जु गुरुङ, नीलम शाही र एन्जिला थापा शून्यमै पेभिलियन फर्किएका थिए । एन्जिला घाइते भएपछि मैदान छाड्न बाध्य भइन् । कर्णालीका यमुना थारूले १३ र किरण कुँवरले १० रन मात्रै बनाए । एपिएफका लागि प्लेयर अफ दी म्याच कृतिका मरासिनी र मधु डिसीले समान तीन विकेट लिन सफल भएका थिए । सुस्मिता भुसालले दुई विकेट लिइन् ।

लुम्बिनीको बलियो ब्याटिङ
यसअघि टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ४७ रनको बलियो योगफल तयार पारेको थियो । लुम्बिनीका लागि लक्ष्मी चौधरीले सर्वाधिक ३३ रन जोडिन् । ओपनर लक्ष्मीले ३२ बलमा पाँच चौका प्रहार गरिन् । सरस्वती पुनले अविजित ३०, आश्मा पुलामीमगरले १४ र रञ्जु श्रेष्ठले १० रन बनाएका थिए । पहिलो विकेटका लागि लक्ष्मी र आश्माले ७१ रनको साझेदारी गर्दै टोलीको जितको आधार तयार पारेका थिए । कर्णालीका लागि यमुना थारू र कप्तान विना थापाले समान दुई विकेट लिन सफल भए । 

दोस्रो जितको खोजीमा एपिएफ
प्रतियोगिताअन्तर्गत आज एपिएफले बागमती प्रदेशसँग दोस्रो खेल खेल्दै छ । पहिलो खेलमा गण्डकी प्रदेशलाई सात विकेटले हराएको एपिएफ लगातार दोस्रो जित निकाल्ने दाउमा छ । बागमती पहिलो जित निकाल्न चाहन्छ । बागमती समूहको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशसँग पराजित भएको थियो । एपिएफ बागमतीलाई हराउँदै चार अंकसहित शीर्ष स्थानमा रहेर सेमिफाइनल यात्रा सहज बनाउने रणनीतिमा छ । बागमती पहिलो जित निकाल्दै सेमिफाइनल सम्भावना यथावत् राख्ने योजनामा छ । समूह ‘ए’मा एपिएफ र सुदूरपश्चिमको समान दुई अंक रहँदा बागमती र गण्डकीले अंक जोड्न सकेका छैनन् । 

यसैगरी, आइतबार नै मधेस प्रदेश र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । जारी प्रतियोगितामा दुवै टोलीका लागि पहिलो खेल सुखद् रहेन । मधेसलाई प्रदेश १ र कर्णालीलाई लुम्बिनी प्रदेशले पराजित गरेका हुन् । 

ad
ad