१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २९ शुक्रबार
  • Saturday, 28 September, 2024
श्रवण थापा सर्लाही
२o७९ पौष २९ शुक्रबार १२:४९:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

माघेसंक्रान्ति नजिकिँदै गर्दा किसानलाई तरुल बेच्ने चटारो

Read Time : > 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o७९ पौष २९ शुक्रबार १२:४९:oo

माघेसंक्रान्तिमा विशेष परिकारको रूपमा खाइने तरुल बेच्न सर्लाहीका किसानलाई यतिवेला चटारो परेको छ । माघेसंक्रान्ति मुखैमा आइपुग्दा खेतमा लगाएको तरुल खनेर बजारसम्म पुर्‍याउन किसानलाई भ्याइनभ्याई छ ।

१२ वटा संक्रान्तिमध्ये माघेसंक्रान्तिलाई विशेष रूपमा मनाइन्छ । माघेसंक्रान्ति, तिलुवा संक्रान्ति, मकरसंक्रान्ति वा माघीका रूपमा आ–आफ्नै विशेषता र सांस्कृतिक महत्वका साथ यो संक्रान्ति मनाउने चलन छ ।

जिल्लाको बागमती नगरपालिकास्थित शंकरपुर, सोल्टी, राजघाट क्षेत्रमा किसानले ठूलो क्षेत्रफलमा तरुल खेती गर्दै आएका छन् । अन्य बालीभन्दा राम्रोे उत्पादन र मूल्य पाइने भएपछि किसान यसतर्फ आकर्षित भएका हुन् । किसानले प्रतिकट्ठा १२ देखि २५ हजार रुपैयाँसम्ममा तरुल खेती व्यापारीलाई बेच्ने गरेको बताए । तरुल खेतीमा अन्तरबालीसमेत लगाउन मिल्ने भएकाले फाइदा हुने उनीहरूको भनाइ छ ।

प्रतिकट्ठा जमिनमा १० क्विन्टलभन्दा धेरै तरुल उत्पादन हुने बागमती– ५, शंकरपुरका रामप्रसाद रिजालले बताए । किसानले उत्पादन गरेको तरुल अहिले व्यापारीले प्रतिकिलो ५० देखि ७० रुपैयाँसम्ममा खरिद गरिरहेका छन् । यसरी व्यापारीले लगेको तरुल बजारसम्म पुग्दा मूल्य दुई गुणासम्म बढ्ने गरेको पाइन्छ । यस क्षेत्रमा झन्डै ५० हेक्टर क्षेत्रफलमा किसानले तरुल उत्पादन गर्दै आएका छन् ।

तरुल उत्पादन घट्दै
विगतका वर्षका तुलनामा यस क्षेत्रमा तरुल उत्पादन घट्दै गएको किसानको भनाइ छ । केही वर्ष अघिसम्म अत्यधिक मात्रामा उत्पादन हुने तरुल पछिल्ला केही वर्षयता उत्पादन घट्दै गएको बागमती नगरपालिकाका कृषि प्राविधिक हिमाल शाहीले बताए ।

मलखादको अभाव, जमिनको उर्वर शक्तिमा आएको ह्रास र उन्नत बिउबिजनको अभावमा किसानले तरुलको उत्पादन बढाउन नसकेको उनको भनाइ छ । यिनै खेतमा केही वर्ष अघिसम्म २० किलोसम्मको एउटै तरुल फेला पर्ने गरेको स्थानीय किसान डम्बरबहादुरले बताए।