मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
श्रवण थापा सर्लाही
२०७९ पौष २५ सोमबार ११:३१:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

व्यवसायी अपहरण प्रयास गर्ने अभियुक्त छाडेको भन्दै आन्दोलन

Read Time : > 1 मिनेट
श्रवण थापा, सर्लाही
२०७९ पौष २५ सोमबार ११:३१:००

सर्लाहीको नवलपुरमा सुनचाँदी व्यवसायी अपहरण गर्न खोज्ने अभियुक्तलाई प्रहरीले छाडेको भन्दै आन्दोलन भएको छ। सोमबार पूर्व–पश्चिम राजमार्गस्थित लालबन्दी नगरपालिका– १ नवलपुर चोकमा स्थानीय व्यवसायी आन्दोलित भएका हुन्।

नवलपुर चोकका सुनचाँदी व्यवसायी गुड्डु साहलाई अपहरण गर्न खोज्ने अभियुक्तलाई प्रहरीले त्यसै छाडेको उनीहरूको आरोप छ। आन्दोलित व्यवसायीहरूले पूर्व–पश्चिम राजमार्गमा सवारी आवागमन ठप्प पारेका छन्। सडक अवरुद्ध भएपछि उक्त रुट भएर चल्ने छोटो तथा लामो दूरीका यात्रु तथा सवारी बाटैमा अलपत्र परेका छन्।

घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रशासन कार्यालयका प्रमुख थानेश्वर गौतमले जानकारी दिए। पक्राउ परेका व्यक्ति प्रहरीको हिरासतमा रहेको र सूक्ष्म अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी गौतमले जानकारी दिए। 

नेपाल प्रहरीका प्रमुख एसपी नरेशराज सुवेदीले भने घटनाको विषयमा कुरा गर्न चाहेनन्। घटना अपहरण प्रयास भए दोषी पत्ता लगाएर कानुनी कठघरामा ल्याउन कुनै कसर नछाडिने प्रमुख जिल्ला अधिकारी गौतमले बताए। स्थानीयले आरोप लगाएजस्तो पक्राउ परेका अभियुक्त नछाडिएको र  प्रहरी हिरासतमा रहेका उनले दाबी गरे। घटनाको अनुसन्धान चलिरहेकाले अहिले नै घटना यस्तै हो भन्न भने नसकिने उनको भनाइ थियो। उनले आफ्नो अधिकारको कुरा गरिरहँदा राजमार्ग अवरोध गरेर अन्य नागरिकको अधिकार कुण्ठित नगर्न स्थानीय तथा उद्योग वाणिज्य संघलाई समेत आग्रह गरेका छन्।

यसरी भएको थियो घटना
लालबन्दी नगरपालिका– १ नवलपुरका सुनचाँदी व्यवसायी गुड्डु साह आइतबार साँझ ६ बजेको समयमा पसलमै थिए। सोही समयमा कारमा केही अपरिचित व्यक्ति उनको पसलअगाडि आएर रोकिए। उनीहरूले साहलाई त्यहाँबाट कतै जान भने। साहले नमानेपछि जबर्जस्ती कारमा राखेर लौजाने प्रयास गरे।

सो घटना थाहापाएपछि स्थानीय व्यवसायीले तत्काल प्रतिकार गरे। प्रतिकारका क्रममा सो समूहका एकजनालाई नियन्त्रणमा लिए। अन्य व्यक्ति भने कारमै भागेका स्थानीयको भनाइ छ। स्थानीयले नियन्त्रणमा लिएका अभियुक्तलाई इलाका प्रहरी कार्यालय नवलपुरले हिरासतमा राखेको छ।