१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार o७:४४:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सम्झौताको करिब एक वर्षपछि २५ सय टन युरिया भित्रियो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o७:४४:oo

नेपाल–भारत (सरकारद्वारा सरकार)बीच जिटुजीमार्फत रासायनिक मल ल्याउन सम्झौता (जिटुजी) गरिएको करिब वर्ष दिनपछि २५ सय टन युरिया मल आइपुगेको छ । पहिलो चरणमा ल्याउनुपर्ने ३० हजार ६ सय टन मलमध्ये २५ सय मल शनिबार वीरगन्ज नाका हुँदै भित्रिएको कृषि सामग्री कम्पनी लिमिटेडका महाप्रबन्धक राजेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

उनले भने, ‘पहिलो चरणको मल वीरगन्ज आइपुगेको छ, अरू थप मल १५ दिनभित्र आइपुग्छ । अहिले लोड भइरहेको छ ।’ मल आयात गर्दा र्‍याकमा एकपटकमा २५ सय टन मात्र अट्ने हुँदा पहिलो चरणमा सोही परिमाणको मल ल्याइएको उनको भनाइ छ । मल भित्रिएसँगै कम्पनीका ४१ वटा कार्यालयबाट पाँच सयभन्दा बढी सहकारीमार्फत किसानलाई मल वितरण गरिने उनले बताए ।

 भारतले नेपाललाई जिटुजीमार्फत मल दिन करिब एक वर्ष समय लागेको छ । १६ फागुनमा नेपाल र भारत सरकारबीच पाँच वर्षका लागि जिटुजीमार्फत मल ल्याउन समझदारी भएको थियो । भारतको तर्फबाट रसायन एवं मल मन्त्रालयका सचिव राजेशकुमार चतुर्वेदी र नेपालको तर्फबाट कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले सो समझदारीपत्र आदान–प्रदान गरेका थिए ।

पाँच वर्षका लागि भएको सम्झौताअनुसार गत आर्थिक वर्षमै एक लाख ५० हजार मेट्रिकटन मल ल्याउनुपर्ने थियो । ६० प्रतिशत युरिया र ४० प्रतिशत डिएपी मल दिनुपर्नेमा भारतले गत वर्ष रुस–युक्रेन द्वन्द्वको कारण देखाउँदै मल उपलब्ध गराएन । जसले गर्दा नेपाली किसानले रासायनिक मलविना नै खेती गर्नुपरेको थियो ।

भारतले नेपालसँग गरेको सम्झौताअनुसार पहिलो वर्ष एक लाख टन युरिया र ५० हजार टन डिएपी, दोस्रो वर्ष एक लाख १० हजार टन युरिया र ६० हजार डिएपी, तेस्रो वर्ष एक लाख १५ हजार युरिया र ८० हजार डिएपी, चौथो वर्ष एक लाख २० हजार युरिया र ९० हजार डिएपी र पाँचौँ वर्ष एक लाख २० हजार युरिया र ९० हजार डिएपी मेट्रिकटन मल ल्याउने गरी सम्झौता भएको छ ।

ad
ad