मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
श्रवण थापा सर्लाही
२०७९ पौष २२ शुक्रबार ०९:०५:००
Read Time : > 3 मिनेट
समाचार प्रिन्ट संस्करण

विपन्नलाई चिसोको कहर, प्राण जोगाउन परालको भर

Read Time : > 3 मिनेट
श्रवण थापा, सर्लाही
२०७९ पौष २२ शुक्रबार ०९:०५:००

- निरन्तरको चिसोले विपन्नहरू कठ्यांग्रिएका छन्, स्थानीय सरकारले राहतको व्यवस्था गर्न वास्ता गरेका छैनन्
- सर्लाहीमा पुस लागेयता चारजनाले कठ्यांग्रिएर ज्यान गुमाइसकेका छन् । अरू थुप्रै विपन्न परिवार परालको सहारामा प्राण धानिरहेका छन्
- पीडितहरू भन्छन्– यो विपत्तिका वेला सरकारको अनुभव गर्न पाएका छैनौँ, चिसोबाट जोगिन विपन्न परिवारले गरेको संघर्ष निकै दयनीय देखिन्छ

सर्लाहीको चन्द्रनगर गाउँपालिका– ६ कामतकी ३४ वर्षीया रेखादेवी माझीको परिवार यही झुपडीको सहारामा कठ्यांग्रिँदो चिसोसँग लड्दै छन् । तस्बिर : नयाँ पत्रिका

लगातार बढेको चिसोले विपन्न परिवारको दैनिकी कष्टकर बनिरहेको छ । मध्य पुसको सिरेटोले कामेको मुटु तताउन उनीहरू पराल ओड्ने र पराल नै ओछ्याउने गरिरहेका छन् । बिहीबार सर्लाहीको चन्द्रनगर गाउँपालिका– ६ कामत पुग्दा ३४ वर्षीया रेखादेवी माझी झुपडीबाहिर धानको टुप्पा केलाउँदै थिइन् । 

उनकी ११ वर्षकी जेठी छोरी रातभरि ओड्ने र ओछ्याउने बनाएको पराल बाहिर निकालेर सुकाउँदै थिइन् । ‘केही दिनयता चिसो भुइँमा ओछ्याएको पराल ओसिएछ,’ रेखाले भनिन्, ‘ओसिएको परालले भरे रात काट्न के सकिएला ? त्यसैले सुकाउन लगेको छु ।’ तर, चार दिनदेखि सर्लाहीमा घाम देखिएको छैन । त्यसैले पराल सुकाएर न्यानो गरी रात काट्ने रेखाको चाहना पूरा हुन गाह्रो छ । 

सम्पत्तिको नाममा रेखासँग एउटा साँघुरो झुपडी छ । माटोले लिपेका भित्ताबाट बाहिरको सिरेटो सहजै वारपार हुन्छ । ६ बालबच्चासहितको रेखाको परिवारसँग यो कठ्यांग्रिने जाडोसँग जुध्न योभन्दा अर्को विकल्प छैन । उनका स–साना लालाबालाको ओड्ने–ओछ्याउने त्यही पराल भएको छ । रिपोर्टिङका क्रममा बिहीबार पुग्दा झोपडीभित्र दुधेबालक परालमै मस्त निद्रामा थिए ।

परालमा सुताइएका रेखाका दुधेबालक । तस्बिर : नयाँ पत्रिका

सोही स्थानका दसई माझीको अवस्था पनि उस्तै छ । १२ जनाको उनको परिवार पनि फुसको छाप्रोमा मुस्किलले जाडो छल्ने उपाय खोजिरहेको छ । दैनिक ज्याला–मजदुरी गरेर परिवार पाल्दै आएका दसईले प्रत्येक जाडो यस्तै पीडादायी बनेर आउने गरेको अनुभव सुनाए । ‘हामी गरिबको अवस्था वर्षौँदेखि उस्तै छ,’ उनले भने, ‘केही वर्षपहिला कुनै गैरसरकारी संस्थाले दिएको एउटा च्यादर चिसोमा प्राण बनिरहेको छ ।’

चिसोमा कठ्यांग्रिएर सर्लाहीमा पुसमै चारजनाले ज्यान गुमाइसकेका छन् । बसबरिया गाउँपालिका र मलंगवा नगरपालिकामा एक–एकजना तथा हरिपुर नगरपालिका ६ र ९ मा दुईजनाले ज्यान गुमाए । हरिपुर– ६ लक्ष्मीपुर कोद्राहका ६५ वर्षीय रामभगत माझी र ९ पिडारीका ४० वर्षीय रमेश माझीको चिसोकै कारण ज्यान गएको परिवारका सदस्यको दाबी छ । 

ज्याला–मजदुरीको काम गर्ने पिडारीका रमेश माझी २४ मंसिरमा धान काट्ने काम गरेर घर आएपछि पराल ओछ्याएर सुतेका थिए । सुतेकै स्थानमा चिसोले कठ्यांग्रिएर उनको ज्यान गएको परिवारका सदस्यले बताएका छन् । केही वर्षपहिले मात्र उनीहरूले जनता आवास कार्यक्रमअन्तर्गत जस्ताले छाएको दुईकोठे घर पाएका थिए । त्यसमध्ये एउटा कोठा दाइ मोती माझी र अर्को कोठा रमेशले अंशबन्डा गरेर बसिरहेका थिए । कठ्यांग्रिएर हलचल गर्न नसक्ने अवस्थामा पुगेपछि परिवारका सदस्यले स्वास्थ्यकर्मी बोलाएका थिए । पिडारी बजारमा मेडिकल क्लिनिक सञ्चालन गर्ने अहेव दिनेश साहले उपचारका लागि पुग्दा रमेशको कठ्यांग्रिएर ज्यान गइसकेको बताए । किरियापुत्री बसेका कान्छो छोरा १६ वर्षीय कृष्णनन्दन माझीले ओड्ने–ओछ्याउने नभएकाले भुइँमा पराल ओछ्याएर सुत्दा कठ्यांग्रिएर बुबाको ज्यान गएको बताए । 

सोही पालिकास्थित लक्ष्मीपुरका रामकेवल माझीले पनि आफ्ना बाबु रामभगतको पनि कठ्यांग्रिएरै ज्यान गएको बताए । न्यानो ओड्ने–ओछ्याउने नहुँदा बुबाको प्राण गएको उनको भनाइ छ । २३ मंसिरको साँझ चिसोले कठ्यांग्रिएर बुबाको मृत्यु भएको खबर पाएपछि जनकपुरमा इँटाभट्टामा काम गर्ने रामकेवल घर फर्किए । उनले पहुँच नहुँदा राज्यले दिने राहतसमेत पाउन नसकेको दुखेसो गरे । रामकेवलसहित परिवारका पाँच सदस्य अहिले फुसको छानो भएको कच्ची छाप्रोमा चिसोसँगको पौठेजोरी खेलिरहेका छन् । घर मानेर ओत लाग्ने गरेको छाप्रोको चारैतिरबाट छिर्ने स्याँठ मध्यरातमा छाती चिर्दै अर्को भित्ताबाट बाहिरिने गरेको रामकेवलले सुनाए । 

स्थानीय सरकार नाजवाफ
चिसोले बालबालिका र वृद्धवृद्धा बढी प्रभावित छन् । हरेक सुविधाको पहुँचबाट वञ्चित विपन्न परिवारका लागि जाडो मौसम अभिशाप बनेको छ । चिसोकै कारण जीवन गुमाउनुपर्ने हो कि भन्ने चिन्तामा उनीहरू छन् । तर, स्थानीय सरकारका प्रतिनिधि हरिपुर नगरपालिका– ६ का वडाध्यक्ष प्रेमहरि श्रेष्ठले उनीहरूको चिसोले कठ्यांग्रिएर मृत्यु भएको बारे जानकारी नभएको दाबी गरे । उनले चिसोले विपन्नको जीवन संकटमा परेको भने स्वीकार गरेका छन् । 

हरिपुर नगरपालिका मेयर गोपाल पञ्जियारले विपन्नलाई जाडोबाट जोगाउन पहल गरिरहेको दाबी गरे । उनले विपत्ति मुखैमा आइपुगेको बताए । आफ्नो पालिकामा धेरै विपन्न परिवार रहेको, तर पर्याप्त बजेट नभएको उनले गुनासो गरे । स्थानीय सरकारका प्रमुख रहेका उनले सहयोगका लागि गैरसरकारी संघसंस्थालाई गुहारे । धेरै केही गर्न नसके पनि सागरनाथ वन परियोजनासँगको सहकार्यमा दाउरा वितरण गर्ने तयारी भइरहेको पञ्जियारले जानकारी दिए । 

अघिल्लो वर्ष पठाएको कपडा गोदाममा थन्कियो
चिसोमा विपन्नका लागि भनेर केन्द्र सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत पठाएका कपडासमेत समयमा वितरण नभएको पाइएको छ । गत वर्ष जाडोमा गृह मन्त्रालयले पठाएको न्यानो कपडा तथा जुत्ता यस वर्षको पुस लागेपछि मात्र वितरण गर्न थालिएको छ । विपत् वयवस्थापन जिल्ला समिति संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले गत वैशाख र मंसिरका स्थानीय र प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको आचारसंहिताको कारण न्यानो कपडा र जुत्ता बाँड्न ढिला भएको तर्क गरे । गोदाममै थन्किएका कपडा र जुत्ता पुस लागेपछि विभिन्न विद्यालयमार्फत बाँड्न थालिएको उनले बताए । 

स्थानीय अगुवा तथा अधिकारकर्मीहरू प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको जिल्ला विपत् व्यवस्थापन समितिसमेत विपन्नलाई चिसोबाट बचाउने अभियानमा चुकेको बताउँछन् । समयमै पूर्वतयारी गर्न नसक्दा यसबाट विपन्न परिवार बिचल्लीमा परेको सामाजिक अभियन्ता उग्रकान्त झाले बताए ।