ब्राजिलमा अभूतपूर्व ढंगले राष्ट्रपतिमा निर्वाचित भएका लुइज इनासियो लुला दा सिल्भाले पदभार ग्रहण गरेसँगै उनको सबैभन्दा ठूलो चुनौती एमेजोनमा भइरहेको विध्वंस हुनेछ । एमेजोन रेन फरेस्ट (वर्षावन) रक्षालाई चुनावी मुद्दा बनाएका लुलाको कार्यकाल मूलतः एमेजोनको रक्षासँगै जोडिनेछ । तर, उनीसामु चुनौतीका पहाड मौजुद छन् । काठ तस्कर, खानी मालिक र जग्गा हडप्नेसँग जुध्न विश्व समुदायको सहयोग आवश्यक पर्नेछ । उनले विभक्त कंग्रेसमा र ब्राजिलको वातावरणीय प्रतिबद्धतामा सन्देह गर्ने ग्रामीण सम्भ्रान्तबीच गठबन्धन पनि निर्माण गर्नुपर्ने हुन सक्छ ।
विश्वको सबैभन्दा ठूलो वर्षावनका लागि सन् १९९० वा सन् २००० को दशकमा जस्ता शत्रु छैनन् । आज लुलाले वैश्विक आपूर्तिसँग साँठगाँठ गरिरहेका आपाराधिक गिरोहको सञ्जालसँग जुध्नुपर्नेछ । सन् २०१९ मा बोल्सोनारो राष्ट्रपति बनेयता उनले वातावरण संरक्षणका मामिलामा उल्टो वा विनाशकारी कदम चाले र आदिवासी भूमिलाई व्यापारिक प्रयोगका लागि खुला गर्ने कदम चाले । नतिजा उनको कार्यकालभन्दा अगाडिका चार वर्षको तुलनामा वनविनाश ६० प्रतिशतले बढ्यो । अहिले जंगलले सोस्नेभन्दा बढी कार्बन डाइअक्साइड उत्सर्जन गर्छ ।
लुला नेतृत्वको सरकारले एमेजोन क्षेत्रमा सुनखानी बढाउने योजनालाई उल्ट्याउने र वातावरणीय कर बढाउने संकेत गरेको छ । यसबाहेक सरकारले संघीयस्तरमा वर्षावन जोगाउन जंगलमा लुट मच्चाउने आपराधिक गिरोहलाई नियन्त्रण गर्न संघीय प्रहरी एकाइ खडा गर्ने योजना बनाएको छ । यससँगै सरकारले सन् २०१९ मा अवरुद्ध ६० करोड डलरको एमेजोन संरक्षण कोष ब्यँुताउनेछ । तर, यी उपाय कति प्रभावकारी हुन्छन्, हेर्न बाँकी नै छ ।
लुलाको अघिल्ला दुवै कार्यकालमा वनविनाशविरोधी अभियानमा संलग्न अधिकारी बोल्सोनारोले शासन गर्नुअगाडिकै अवस्थामा ल्याउन अझै कैयौँ वर्ष लाग्ने बताउँछन् । किनभने एमेजोनमा वातावरणीय अपराधको गतिशीलता विगत १० वर्षमा परिवर्तन भएको छ र स्याटेलाइट डाटा प्रयोग एवं संघीय अधिकारी परिचालनजस्ता रणनीति पनि सीमित रूपमा सफल छन् । अहिले एमेजोनबाट गाईको मासु, सुन र काठजस्ता वस्तुको अवैध उत्पत्ति लुकाउन र तिनलाई अन्तर्राष्ट्रिय बजारमा बेच्न परिष्कृत योजना बुन्ने आपराधिक गिरोहबाट वनविनाश बढिरहेको छ । ब्राजिलको नीति–निर्माता संस्था इगारापे इन्स्टिट्युटले सन् २०२२ मा गरेको अध्ययनले प्रत्येक एमेजोन क्षेत्रमा ‘सबै किसिमका अपराध एकत्रित’ हुने गरेको पाएको छ, जसमा हिंसा, भ्रष्टाचार, वित्तीय अपराध र धोखाधडी आदि पर्छन् ।
एमेजोन वर्षावन पुनस्र्थापना गर्ने ब्राजिलको प्रयासमा अन्तर्राष्ट्रिय समुदायले महŒवपूर्ण भूमिका खेल्न सक्छ, आर्थिक सहयोग एवं सदाशयता देखाउन सक्छ
केही बहुराष्ट्रिय कम्पनीले वनविनाश भएका क्षेत्रबाट भटमास र गाईको मासु खरिद नगर्ने जनाएका छन् । त्यसैगरी, युरोपियन युनियनले पनि कम्पनीलाई वनविनाश भएका क्षेत्रबाट मालसामान खरिद नगरेको प्रमाण देखाउनुपर्ने बाध्यकारी नियम बनाइरहेको छ । तर, ब्राजिलको भटमास, गाईको मासु र छाला सबैभन्दा बढी खरिद गर्ने चीन भने मौन देखिन्छ । यस सन्दर्भमा लुलाले बेइजिङलाई भटमास र मासुसम्बन्धी वस्तुको स्रोत पत्ता लगाउने नियम बनाउन मनाउनुपर्ने हुन्छ । आर्थिक विकासका लागि वर्षावनको दोहन आवश्यक हुन्छ भन्ने व्यापक मानसिकतासँग लड्नु आगामी सरकारका लागि अर्को चुनौती हुनेछ ।
लुला निर्वाचित भएपछि थुप्रै ट्रक चालक र अन्य बोल्सोनारो समर्थकले ‘सोयाबिन राजमार्ग’ भनेर चिनिने बिआर–१६३ लाई अवरुद्ध पारेका थिए । यो राजमार्ग सोयाबिन खेतदेखि एमेजोन निर्यात बन्दरगाहसम्म फैलिएको छ । सडक खाली गर्न खोज्दा संघीय अधिकारीलाई प्रदर्शनकारीको भिडले आक्रमण गरेको थियो । उसो त लुलाका अघिल्ला दुई कार्यकालमा यी क्षेत्रमा हुने हिंसा विश्व समाचार बनिसकेका छन् ।
उत्तरपश्चिम ब्राजिलमा एक लाख ८० हजार वर्गमाइल क्षेत्रमा फैलेको एमेक्रो क्षेत्र (एमेजोनाज, एक्रे र रोन्डोनिया राज्यका हिस्सा) वनविनाशविरुद्धको लडाइँमा एक महत्वपूर्ण युद्धभूमि हुनेछ । बोल्सोनारोको सहयोगमा यस क्षेत्रलाई गाईको मासु र भटमास उत्पादनका लागि ‘दिगो विकास क्षेत्र’ परियोजनाका रूपमा बजारीकृत गरिएको थियो । कुनैवेला सबैभन्दा उपयुक्त ढंगले संरक्षितमध्येको यो क्षेत्र हाल इन्स्टिट्युट फर स्पेस रिसर्चको तथ्यांकअनुसार ‘सबैभन्दा ठूलो वन–विनाश’ भइरहेको क्षेत्रमध्ये एक हो ।
यो जटिल परिस्थितिमा लुलाले आफ्नो संरक्षण योजनामा विश्वबजारलाई प्रमुख घटकका रूपमा समावेश गर्नुपर्छ । शून्य वनविनाश हासिल गर्न संघीय सरकारले पनि नियमको सम्मान गर्ने व्यक्तिलाई पुरस्कृत गर्नुपर्छ र अपराधीलाई हदैसम्मको कठोर सजाय दिइनुपर्छ । वर्षावन पुनस्र्थापना गर्ने ब्राजिलको प्रयासमा अन्तर्राष्ट्रिय समुदायले महत्वपूर्ण भूमिका खेल्न सक्छ, आर्थिक सहयोग एवं सदाशयता देखाउन सक्छ ।
यी सहयोगमा एमेजोन संरक्षण कोषमा योगदान हुन सक्छ र यसबाहेक स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने दीर्घकालीन वित्तीय प्रतिबद्धता गरेर दिगो विकासका लागि आधार तयार गर्न सकिन्छ । उदाहरण, चीनले एसिया र अफ्रिकामा गरेझैँ कारखाना निर्माण गरेर निर्यात गर्नुअघि प्राकृतिक स्रोतमा मूल्य थप्ने गरी काम गर्न सकिन्छ ।
गत महिना इजिप्टमा भएको राष्ट्रसंघको जलवायु सम्मेलनमा दिएको भाषणमा लुलाले ‘जलवायु परिवर्तनलाई उत्तेजित नगरी पनि धन आर्जन गर्न सम्भव छ भन्ने कुरा फेरि प्रमाणित गरौँ’ भनेका थिए । यदि उनी सफल भए एमेजोनमा औसत आम्दानी गर्ने र कृषि व्यवसायी सम्भ्रान्तमाझ समृद्धि र संरक्षण दुवै सम्भव छ भनेर पुष्टि गर्न सक्नेछन् ।
(अराउजो एक खोज पत्रकार हुन्, उनको ‘मास्टर्स अफ द लस्ट ल्यान्ड : द अनटोल्ड स्टोरी अफ द एमेजोन एन्ड द भाइलेन्ट फाइट फर द वल्र्ड्ज लास्ट फ्रन्टियर’ पुस्तक प्रकाशित हुँदै छ) द न्युयोर्क टाइम्सबाट