मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ पौष १८ सोमबार १८:४६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सुधारगृहबाट भागेका चारजना प्युठानबाट पक्राउ

Read Time : > 1 मिनेट
२०७९ पौष १८ सोमबार १८:४६:००

डुडुवा गाउँपालिका ६ स्थित जयेन्दु बाल सुधारगृहबाट भागेका चारजनालाई बाँके प्रहरीले पक्राउ गरेको छ। विभिन्न अभियोगमा पक्राउ परी सजाय भोगिरहेकामध्ये चारजना बालक १४ पुसमा बाल सुधारगृहबाट भागेका थिए। 

उनीहरूलाई प्युठानबाट पक्राउ गरी बाँके ल्याइएको बाँकेका प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठौरले बताए। बाल सुधारगृहमा दुई सय ३२ जना छन्। त्यसमध्ये चारजना फरार भएका थिए।

फरारमध्ये तीनजना जबर्जस्ती करणी र एकजना कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका हुन्। अपराध गरेका बालकलाई उक्त बाल सुधारगृहमा राख्ने गरिएको छ।

बन्दीगृहमा रहेका बालक फरार भएपछि त्यसको छानबिन गर्न जिल्ला प्रशासन कार्यालयले सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ। समितिमा अनुसन्धान विभाग, नेपाल प्रहरी र कारागारका प्रतिनिधि छन्।

दिनदहाडै खुकुरी प्रहार गर्ने चारजना पक्राउ 

यसैबीच, युुवाको समूहमाथि दिनदहाडै खुकुरी प्रहार गर्ने चारजनालाई पक्राउ गरी बाँके प्रहरीले सार्वजनिक गरेको छ।

नेपालगन्ज उपमहानगरपालिका ४ गणेशपुरस्थित आफन्तको घरमा गएका वेला भारतीय गाडीमा आएर खुकुरी प्रहार गरी घाइते बनाउने समूहका चारजनालाई बाँके प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो। 

आइतबार दिउँसो सबा दुई बजे नेपालगन्ज उपमहानगरपालिका ४ गणेशपुरमा तरुण दल नेपालगन्जका सदस्य नेपालगन्ज उपमहानगरपालिका १२ का अनुराग साह, जानकी गाउँपालिका ३ का उज्ज्वल शाह र नेपालगन्ज उपमहानगरपालिका ४ का शुभमजंग शाहलाई खुकुरी प्रहार गर्ने नेपालगन्ज उपमहानगरपालिका १८ का २९ वर्षीय विनय भण्डारी, राप्तीसोनारी गाउँपालिका २ का ३१ वर्षीय नारायण डाँगी, नेपालगन्ज उपमहानगरपालिका ६ का ३१ वर्षीय तासे भन्ने प्रकाश थापा र बैजनाथ गाउँपालिका ५ का २९ को वर्षीय प्रकाश रसाइलीलाई प्रहरीले सार्वजनिक गरेको छ।

बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) रामप्रसाद घर्तीमगरले सबैलाई घटना भएको चार घण्टाभित्र डुडुवा गाउँपालिका २ दासपुर्वाबाट पक्राउ गरेको बताए। उनले आक्रमणकारीले प्रयोग गरेको भारतीय नम्बर प्लेटको गाडी डुडुवा गाउँपालिका ३ स्थित वनकट्टीबाट रामपुर्वा जाने कच्ची सडकको दक्षिणतर्फको गहुँ खेतबाट बरामद गरेको जानकारी दिए। 

आक्रमणकारीले प्रयोग गरेको दुईवटा खुकुरी नेपालगन्ज उपमहानगरपालिका ५ फुल्टेक्रास्थित सडक नजिकको झाडीमा फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको घर्तीले बताए। घाइतेहरूको भारतको लखनउमा उपचार भइरहेको छ। घाइतेमध्ये अनुरागको अवस्था गम्भीर छ।