१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १७ आइतबार
  • Saturday, 28 September, 2024
२o७९ पौष १७ आइतबार १८:४३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

चितवनका तीन किसानलाई राष्ट्रपति उत्कृष्ट पुरस्कार  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष १७ आइतबार १८:४३:oo

कृषि ज्ञान केन्द्र, चितवनले तीन किसानलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्रदान गरेको छ। 

च्याउ उत्पादन गर्ने किसान विष्णुबहादुर विश्वकर्मा, केरा खेती गर्ने किसान विष्णुहरि पन्त र माछापालन गर्ने किसान सरोज शाहलाई जिल्लास्तरीय राष्ट्रपति उत्कृष्ट पुरस्कार प्रदान गरिएकाे हो। 

उनीहरूलाई नगद १०-१० हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएकाे थियाे। कृषि तथा पशुपन्छी विकास मन्त्रालय बागमती प्रदेशका सचिव शरणकुमार पाण्डे, जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी र कृषि ज्ञान केन्द्र, चितवनका प्रमुख युवराज पाण्डेले संयुक्त रूपमा पुरस्कार प्रदान गरेका थिए। 

पुरस्कृत किसानका संघर्ष

धेरै नेपाली युवाको सपना 'इपिएस' भाषा पास गरेर कोरिया जाने सपना बन्दै गर्दा भरतपुर १७ का विष्णुबहादुर विश्वकर्मालाई कोरिया गएकोमा अहिले पछुतो छ।
 
स्वदेशमा उद्यमको उपाय पहिचान गर्न नसकेर विगतमा दक्षिण कोरीया पुगेका उनी नेपाल फर्कँदा अस्वस्थ शरीरसहित फिर्ता भएका थिए। कोरिया जानुअघि उनी र उनको श्रीमती जमुनाले घरकै संरचनाहरू र सामग्रीको प्रयोग गरेर पुगनपुग १० हजार रुपैयाँ खर्च गरेर एउटा कटेरामा एक सय पोका बाट च्याउ खेती गरेका थिए।
 
उनी कोरिया गएपछि पनि उनकी जीवन संगिनीले यसलाई निरन्तरता दिइन्। विगतमा विदेश नगई स्वदेशमै परिश्रम गर्न पाएको भए अहिलेको व्यावसायिक सफलताले थप उचाई दिन सक्ने कुराले कहिलेकाहीँ उनलाई झस्काउँछ।
 
उनै विश्वकर्माले नेपाल फर्किएपछि विष्णु देव एग्रिकल्चर फर्मबाट च्याउ उत्पादन  सुरु गरे। जुन अहिले वार्षिक एक लाख पोकामा पुगेको छ। जहाँ एक करोडभन्दा बढीको कारोबार हुन्छ। उनीहरूले आफ्नै तीन कठ्ठा र भाडाको चार बिघामा अहिले च्याउ उत्पादन गर्दै आएका छन्। फर्ममार्फत च्याउको बिउ उत्पादन आफैँ गर्ने र बटन मसरुम अर्थात् डल्ले च्याउ उत्पादन गर्ने उनी तयारीमा छन्।  

५ वर्ष इजरायलमा काम गरेर नेपाल फर्किएका रत्ननगरका विष्णुहरि पन्तले डेढ दशकअघिदेखि व्यासायिक रूपमा केरा खेती गर्दै आएका छन्। आफ्नै २ बिघा खेतबाट सुरु गरेको केरा व्यवसाय अहिले चार ठाउँमा गरेर ३० बिघा जमिनमा फैलिएको छ। 

कुनै समय आफैँ रोजगारीमा विदेश पुगे पनि पन्तले अहिले नियमित ३ घरपरिवारलाई रोजगारी दिएका छन् भने संयोजनले उनको फर्मबाट प्रत्यक्ष अप्रत्यक्ष रोजगारी पाएका छन्। 

मोडल कृषक र फार्मको रूपमा परिचय दिने गरी उनले केराबाट नै कमाएको पैसाले आफ्नो परिचय मात्र हैन पक्की घर, गाडीसँगै सफल कृषिको परिचय बनाइसकेका छन्। 
४१ वर्षका विष्णुहरि पन्त नेपाललाई केरामा आत्मनिर्भर बनाउनुपर्छ भन्ने उद्देश्यका साथ निरन्तर अभियानमा पनि छन्। उनी केरा उत्पादक महासंघ र केरा जोन चितवनका संयोजक पनि हुन्। 

३१ वर्षका युवा सरोज साहले बाबुआमाले गर्दै आएको परम्परागत खेतीपाती प्रणालीलाई व्यवसायी बनाउँदै माडी नगरपालिका वडा नम्बर ६ हरिनगर १० वर्षअघि सुरु गरेको माछा पालन व्यवसाय अहिले ५ बिघा १८ कठ्ठा जलासय भएको एक ठूलो पोखरीसहित ९ वटा पोखरीमा परिणत भएको छ। 

शाहको आफ्नै २ बिघा जमिन भए पनि १६ बिघा १३ वर्षका लागि भाडामा लिएर कृषि गर्दै आएका छन्। जुन बढ्ने क्रममा छ। परम्परागत पालिँदै आएको बाख्राको संख्या बढेर करिब २ सय, हाँस ७ सय र सयौँको संख्यामा लोकल कुखुरा फर्ममा छन्। 

एकीकृत हिसाबले माछा, बाख्रा, हाँस र लोकल कुखुरा छ। फार्मलाई कृषि पार्कको रूपमा विकास गर्दै पर्यटकीय क्षेत्र बनाउने सरोज शाहको लक्ष्य हो। उनको घरपरिवारसँगै  नियमित ५ जनाले यहाँबाट रोजगारी पाएका छन्।
एक करोड बढी ऋण खोजेर गरिएको लगानी अहिले डेढ करोड बढीको बनेको छ। मासिक ३ देखि ४ लाख आम्दानी हुन सुरु भएको छ।