नेपालमा वैदेशिक सहायता प्रतिबद्धता दोब्बरले बढेको छ । चालू आर्थिक वर्षको पहिलो चार महिनामा एक खर्ब तीन अर्बको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको छ । गत आर्थिक वर्षको पहिलो चार महिनामा ५५ अर्ब ९४ करोड रुपैयाँको प्रतिबद्धता आएको थियो ।
कुल सहायतामा ऋणको हिस्सा ८४.२ प्रतिशत र अनुदानको हिस्सा १५.८ प्रतिशत छ । गत आर्थिक वर्षको चार महिनामा ऋणको हिस्सा ८९.६ प्रतिशत थियो भने अनुदानको हिस्सा १०.४ प्रतिशत मात्रै थियो । सबैभन्दा बढी सहायता दिनेमा विश्व बैंकको हिस्सा ६३ प्रतिशत छ ।
घट्दै छ सार्वजनिक ऋण
चालू आर्थिक वर्षको तीन महिनामा सार्वजनिक ऋण भने घटेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयअनुसार पहिलो त्रैमासमा गत असारको तुलनामा असोज मसान्तसम्म सार्वजनिक ऋण ०.२७ प्रतिशतले घटेको छ । गत असार मसान्तसम्म नेपालको कुल सार्वजनिक ऋण २० खर्ब १३ अर्ब २९ करोडबराबर थियो । कार्यालयअनुसार पहिलो त्रैमासिक अवधिसम्म नेपालको कुल बाह्य ऋण १० खर्ब ५० अर्ब २३ करोड छ भने आन्तरिक ऋण नौ खर्ब ५७ अर्ब ६१ करोडबराबर छ । गत असार मसान्तसम्मको तुलनामा बाह्य ऋण २४ अर्ब ३८ करोडले बढेको र आन्तरिक ऋण २९ अर्ब ८३ करोडले घटेको हो ।
चालू आर्थिक वर्षको पहिलो तीन महिनामा सरकारले कुल २४ अर्ब ७० करोडबराबर बाह्य ऋण प्राप्त गरेको छ । यही अवधिमा आन्तरिक ऋण उठाएको छैन । पहिलो त्रैमासमा पाँच अर्ब ८४ करोडबराबर बाह्य ऋण तिरेको छ । विदेशी मुद्रामा लिएको ऋण विनिमय दरमा भएको वृद्धिका कारण थप पाँच अर्ब ५२ करोड तिर्नुपर्ने पनि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।
कसलाई कति ऋण तिर्न बाँकी ?
नेपालको सबैभन्दा ठूलो ऋणदाता विश्व बैंक समूहअन्तर्गत इन्टरनेसनल डेभलपमेन्ट एसोसिएसन (आइडिए) हो । आइडिएसँग नेपालले पाँच खर्ब २६ अर्ब एक करोड १८ लाखबराबर ऋण लिएको छ । त्यस्तै, एसियाली विकास बैंक (एडिबी) नेपालको दोस्रो ठूलो ऋणदाता हो ।
एडिबीलाई नेपालले तीन खर्ब २३ अर्ब ६४ करोड ९० लाख ऋण तिर्न बाँकी रहेको छ । नेपालले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)सँग ४८ अर्ब ४१ करोड ३४ लाख र अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ)सँग ४३ अर्ब ८९ करोड ५३ लाखबराबर ऋण लिएको छ ।
एक्जिम बैंक लाइन अफ क्रेडिट–इन्डियासँग ३७ अर्ब ५६ करोड ६३ लाख, एक्जिम बैंक अफ चाइनासँग ३३ अर्ब ५१ करोड २८ लाख, इन्टरनेसनल फन्ड फर एग्रिकल्चर डेभलपमेन्टसँग १० अर्ब २५ करोड ४४ लाख र ओपेक फन्ड फर इन्टरनेसनल डेभलपमेन्टसँग आठ अर्ब ३८ करोड ३३ लाखबराबर ऋण नेपालले लिएको छ ।
युरोपियन इन्भेस्टमेन्ट बैंकको पाँच अर्ब ६१ करोड ५५ लाख, एक्जिम बैंक कोरियासँग पाँच अर्ब ६२ करोड ८५ लाख, साउदी कोषको तीन अर्ब तीन करोड, नर्डिक डेभलपमेन्ट फन्डको एक अर्ब ८१ करोड ८५ लाख र कुवेतको एक अर्ब ५० करोड ५७ लाख ऋण तिर्न बाँकी छ ।
त्यसैगरी, नेपालले बेल्जियमसँग ५७ करोड ३६ लाख, युरोपियन इकोनोमिक काउन्सिलसँग १९ करोड ५३ लाख, नाजिक्सिक बैंक फ्रान्ससँग १३ करोड ९५ लाख र एसियन पूर्वाधार लगानी बैंकसँग तीन करोड ७० लाखबराबर ऋण लिएको देखिन्छ ।