मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १४ बिहीबार
  • Wednesday, 18 December, 2024
बुधबार साँझ प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा सर्दै प्रधामन्त्री प्रचण्ड (बायाँ) । बालुवाटारबाट बाहिरिएपछि निवर्तमान प्रधानमन्त्री देउवाले बस्नका लागि भाडामा लिएको धुम्बाराहीस्थित घर । तस्बिर : अमुल थापा/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष १४ बिहीबार o९:oo:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

‘क्वार्टर’ खाली नहुँदै नवनियुक्त मन्त्रीलाई सर्न हतारो 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष १४ बिहीबार o९:oo:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार भित्रिए, देउवा बाहिरिए

नवनियुक्त मन्त्रीहरूले खाली नहुँदै ‘क्वार्टर’ सर्न हतारो गरेका छन् । सोमबार शपथ लिएका केही मन्त्रीले मंगलबार नै आफ्ना सहयोगीलाई ललितपुरको पुल्चोकस्थित मन्त्री ‘क्वार्टर’ पठाएका हुन् ।

सहरी विकास मन्त्रालय स्रोतका अनुसार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले मंगलबार बिहानै ‘क्वार्टर’ हेर्न आफ्ना सहयोगी पठाएका थिए । सबै ‘क्वार्टर’को अवलोकनपछि सहयोगीले गृहमन्त्री लामिछानेका निम्ति ‘क्वार्टर’ छनोट पनि गरिसकेका छन् । तर, भर्खरै पदमुक्त भएका मन्त्रीले ‘क्वार्टर’ खाली गरेका छैनन् । कतिपयले बाहिर डेरा खोज्नुपर्ने भएकाले केही दिन लाग्ने बताएका छन् । गृहमन्त्रीले मात्रै होइन, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले पनि ‘क्वार्टर’ छान्न मंगलबार नै सहयोगीलाई पुल्चोक पठाए । उनका सहयोगी पनि ‘क्वार्टर’ पक्का गरेर फर्किएका छन् ।

त्यस्तै, अर्का उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठले पनि सहयोगी पठाएर ‘क्वार्टर’ छानिसकेका छन् । तर, खाली हुन समय लाग्ने भएकाले सर्न भने केही दिन लाग्नेछ । 

विनाविभागीय मन्त्रीहरू दामोदर भण्डारी, ज्वालाकुमारी साह, राजेन्द्र राई, अब्दुल खानले समेत सहयोगीलाई पुल्चोक पठाएर ‘क्वार्टर’ छानिसकेको स्रोतले बतायो । सहरी विकास मन्त्रालयका प्रवक्ता प्रदीप परियारले मन्त्री ‘क्वार्टर’ खाली हुन समय लाग्ने बताए । ‘पुल्चोकस्थित मन्त्री क्वार्टर खाली भएका छैनन् । पुराना मन्त्रीज्यूहरू सर्नुभएको छैन । सरेपछि खाली होला,’ उनले भने, ‘त्यसलगत्तै नयाँ मन्त्रीज्यूहरू क्वार्टरमा जानुहोला । यसको तयारी भइरहेको छ, केही दिन लाग्न सक्छ ।’

नयाँ मन्त्रीका लागि ललितपुरकै भैँसेपाटीमा भव्य ‘क्वार्टर’ बन्दै छ । हाल पुल्चोकमा रहेको क्वार्टर सबै मन्त्रीलाई भाग पुग्दैन । त्यसैले सरकार गठन भएपछि ‘क्वार्टर’ छान्न पुल्चोकमा तँछाडमछाड चल्छ ।

भाडाको घरमा सरे निवर्तमान प्रधानमन्त्री देउवा

बालुवाटारबाट बाहिरिएपछि निवर्तमान प्रधानमन्त्री देउवाले बस्नका लागि भाडामा लिएको धुम्बाराहीस्थित घर । तस्बिर : अमुल थापा/नयाँ पत्रिका

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटार प्रवेश गरेका छन् । ललितपुरको खुमलटारमा बस्दै आएका उनी बुधबार साँझ बालुवाटार प्रवेश गरेका हुन् । 

साइत हेराएर बालुवाटार प्रवेश गरेका प्रचण्डकी छोरी गंगा दाहालले बालुवाटरको चाबी लिएकी थिइन् । उनलाई सहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यले चाबी हस्तान्तरण गरेका हुन् ।

यसैबीच, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा पनि बुधबार प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारबाट बाहिरिएका छन् । देउवाको निजीनिवास बुढानीलकण्ठमा मर्मतसम्भार चलिरहेकाले घरभाडामा लिएर धुम्बाराहीमा बस्न थालेका हुन् ।