१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ पौष १४ बिहीबार ०७:४२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

इतर समूहको बैठकमा देखिएनन् महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ पौष १४ बिहीबार ०७:४२:००

कांग्रेस इतर समूहको बुधबार बसेकाे बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल उपस्थित भएनन् । संसदीय दलको निर्वाचनमा इतरको कित्तामा उभिएसँगै इतरको महत्वपूर्ण निर्णय प्रक्रियाका नेताद्वयको उपस्थिति चासोको विषय बनेको थियो ।

नेता अर्जुननरसिंह केसीले सबैलाई जानकारी नगरिएको र काठमाडौंमा उपलब्ध नेताबीच सामान्य छलफल मात्रै भएकाले उपस्थित नभएको बताए । ‘यो सामान्य छलफल थियो, सबैलाई जानकारी थिएन । उहाँहरूलाई जानकारी नभएकाले आउनुभएन । अब बस्ने बैठकमा व्यापक छलफल र रणनीति तय हुन्छ । त्यो बैठकमा उहाँहरूको उपस्थिति रहनेछ,’ केसीले भने । 

नेता पौडेलले भने बैठकबारे आफूले जानकारी नपाएकाले बैठकमा उपस्थित नभएको बताए । ‘बैठकबारे जानकारी थिएन,’ पौडेलको प्रतिक्रिया छ । ६ पुसमा संसदीय दलको नेता चयनको प्रक्रियासँगै महामन्त्री शर्मा र पौडेल रूपान्तरणको पक्षमा भन्दै इतर समूहको पक्षमा उभिएका थिए ।

प्रतिरक्षाको तयारीमा संस्थापन समूह
केन्द्रीय कार्यसमिति बैठकमा इतर समूहको निसानामा पर्ने निश्चित भएपछि संस्थापन पक्ष पनि प्रतिरक्षाको तयारीमा जुटेको छ । देउवाको ‘संवाद दूत’का रूपमा काम गरेका नेता सभापतिसँगै आफ्नो विषयमा समेत बैठकमा प्रश्न उठ्ने देखेपछि प्रतिरक्षाको तयारीमा लागेका हुन् । प्रदेशमा दलको नेता चयन प्रक्रिया सकिएसँगै केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत हुने विषयमा सामूहिक छलफल गर्ने संस्थापन पक्षका नेताहरूको तयारी छ ।

‘हाम्रै समूहका नेता पनि रुष्ट हुनुहुन्छ । इतर पनि सशक्त रूपमा प्रस्तुत हुने तयारीमा छ । त्यसैले बैठकमा कसरी प्रतिरक्षा गर्ने भन्नेबारे सामान्य छलफल भएका छन् । प्रदेशहरूको संसदीय दलको निर्वाचनपछि थप छलफल गर्ने तयारी छ,’ संस्थापन पक्षका एक पदाधिकारीले भने । 

इतर समूहका नेता अर्जुननरसिंह केसी भन्छन्– सानो गिरोहले ‘डिल’ गर्दा कांग्रेस दुर्घटनामा पर्‍यो 

ठूलो पार्टीका हिसाबले सरकारमा दाबी गर्नु स्वाभाविक थियो, तर परिस्थितिको जटिलता हेरेर पार्टी पदाधिकारी, सम्भव भए केन्द्रीय समिति या कार्यसम्पादन समिति बोलाएर निष्कर्षमा पुग्नुपर्थ्यो ।

तर, सभापतिनिकट ‘सानो गिरोह’ले डिल गर्दा कांग्रेस ठूलो दुर्घटनामा पर्‍यो । यो नेतृत्वको असफलता होे । छिट्टै समूहको भेला बोलाएर समीक्षा र केन्द्रीय समिति बैठकमा प्रस्तुत हुने रणनीति तय गर्छौँ । राजीनामा माग्ने, विशेष महाधिवेशन बोलाउने या के गर्ने भन्ने बैठकबाट टुंगो लगाउँछौँ ।

प्रवक्ता डा. प्रकाशशरण महत भन्छन्– महामन्त्रीसहितका केही नेताको दोहोरो चरित्र देखियो
आफूले केही भूमिका नखेल्ने र अरूलाई दोष लगाउनेभन्दा गैरजिम्मेवार के हुन्छ ? महामन्त्रीले कुरेर बसेँ भन्नुभयो । पार्टीको कामका लागि महामन्त्रीले पर्खिनुपर्छ ? केन्द्रीय कार्यसम्पादन समितिले पार्टीकै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको थियो ।

यो नहुने अवस्थामा गठबन्धनको निरन्तरताका लागि विकल्प के भनेर कुरा राख्नुपर्थ्यो । उहाँहरूले जिम्मेवारी नै होइन भन्न मिल्छ ? प्रधानमन्त्री प्रचण्डलाई नै दिएको भए पनि पहिलो पार्टीले तेस्रो पार्टीलाई प्रधानमन्त्री दियो भनेर आलोचना हुने नै थियो । महामन्त्रीसहितका केही नेताको दोहोरो चरित्र भयो ।