Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७९ पौष १४ बिहीबार ०६:१९:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कांग्रेसमा शेखर–गगन समूहको रणनीति : सभापतिको राजीनामा वा विशेष महाधिवेशनका लागि दबाब बढाउने

Read Time : > 3 मिनेट
२०७९ पौष १४ बिहीबार ०६:१९:००

प्रतिरक्षाको तयारीमा संस्थापन 

नेता शेखर कोइराला र महामन्त्री गगन थापाले नेतृत्व गरिरहेको कांग्रेसको इतर समूहले पछिल्लो सत्ता राजनीतिमा आएको नाटकीय परिवर्तनमा नेतृत्व जिम्मेवार रहेको निष्कर्षसहित सभापति शेरबहादुर देउवाको राजीनामा वा विशेष महाधिवेशनका लागि दबाब दिने रणनीति लिएको छ । नयाँ सरकार गठनपछि पहिलोपटक बसेको यो समूहका नेताहरूको बैठकले प्रारम्भिक समीक्षासहित सभापति देउवामाथि दबाब बनाउने रणनीति बनाएको हो । पछिल्लो राजनीतिक घटनाक्रममाथि समीक्षा गर्न २२ पुसमा कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै छ । 

इतर समूहका नेताहरूको बुधबारको बैठकमा सहभागी केन्द्रीय सदस्य अर्जुननरसिंह केसीका अनुसार सभापति देउवाले संस्थागत निर्णय नगरी पार्टीका पदाधिकारीभन्दा सभापतिनिकट ‘सानो गिरोह’मार्फत डिल गर्दा कांग्रेस ठूलो दुर्घटनामा परेको प्रारम्भिक निष्कर्ष छ । उनले यसबारे समूहमा व्यापक छलफल गरेर केन्दीय समिति बैठकमा प्रस्तुत हुने बताए । 

थप रणनीति बनाउन केही दिनमा केन्द्रीय समिति सदस्य र पदाधिकारी , १४औँ महाधिवेशनमा केन्द्रीय समितिमा पराजित नेता, प्रदेश सभापति र सभापतिमा पराजित नेताको भेला बोलाउने निर्णय गरेको छ । ‘ठूलो पार्टीका हिसाबले सरकारमा दाबी गर्नु स्वाभाविक थियो, तर परिस्थितिको जटिलता हेरेर पार्टी पदाधिकारी, सम्भव भए केन्द्रीय समिति या कार्यसम्पादन समिति बोलाएर निष्कर्षमा पुग्नुपर्थ्यो । तर, सभापतिनिकट ‘सानो गिरोह’ले डिल गर्दा कांग्रेस ठूलो दुर्घटनामा पर्‍यो । यो नेतृत्वको असफलता होे,’ केसीले नयाँ पत्रिकासँग भने, ‘छिट्टै समूहको भेला बोलाएर समीक्षा र केन्द्रीय समिति बैठकमा प्रस्तुत हुने रणनीति तय गर्छौँ । राजीनामा माग्ने, विशेष महाधिवेशन बोलाउने या के गर्ने भन्ने बैठकबाट टुंगो लगाउँछौँ ।’

केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेलले बैठकमा गल्ती गर्नेलाई अनिवार्य रूपमा स्पष्टीकरण माग्ने विषयमा छलफल भएको बताए । ‘अनौपचारिक रूपमा छलफल भयो । गल्ती गर्नेलाई आत्मालोचना र स्पष्टीकरण माग्ने विषयमा पनि छलफल भयो,’ उनले भने । त्यस्तै, बैठकमा प्रदेश संसदीय दलको निर्वाचनमा आफ्नो समूहका उम्मेदवार खडा गर्ने र सम्बन्धित प्रदेशका पदाधिकारी र केन्द्रीय सदस्यले निर्वाचित गराउन भूमिका खेल्ने विषयमा समेत छलफल भएको थियो ।

सत्ता राजनीतिबाट बढारिनुपर्ने अवस्था आएपछि कांग्रेस सभापति देउवा रक्षात्मक अवस्थामा छन् । प्रधानमन्त्री नछाड्ने देउवाकै अडानले एमालेसहितका सात दलको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएपछि संसद्को पहिलो दल प्रतिपक्षमा बस्ने परिस्थिति बनेको छ । 

कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा कोइरालासहित उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीहरू बद्री पाण्डे र जीवन परियार, नेताहरू मीनेन्द्र रिजाल, नेता केसीलगायत काठमाडौंमा उपलब्ध पदाधिकारीसहितका नेताको बैठक बसेको थियो । इतरले नीति– अधिवेशनका लागि समेत दबाब दिने तयारी गरेको छ । 

एक नेताका अनुसार इतरले सभापतिसँगै उपसभापति पूर्णबहादुर खड्का, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरू विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा. प्रकाशशरण महत, एनपी साउद, ज्ञानेन्द्रबहादुर कार्की, आरजु राणा देउवालगायतलाई जिम्मेवार मानेको छ । तर, कांग्रेस प्रवक्ता तथा देउवानिकट नेता डा. महतले इतर समूहका जिम्मेवार पदाधिकारीसहितका नेताले गैरजिम्मेवार अभिव्यक्ति दिएको आरोप लगाए । 

पार्टीको निर्णय कार्यान्वयन र निर्णायक भूमिका निभाउनुपर्ने पदाधिकारीले दोहोरो चरित्र देखाएको र यसबारे केन्द्रीय समितिमा छलफल हुने डा. महतको जिकिर छ । ‘आफूले केही भूमिका नखेल्ने र अरूलाई दोष लगाउनेभन्दा गैरजिम्मेवार के हुन्छ ? महामन्त्रीले कुरेर बसेँ भन्नुभयो । पार्टीको कामका लागि महामन्त्रीले पर्खिनुपर्छ ? केन्द्रीय कार्यसम्पादन समितिले पार्टीकै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको थियो,’ उनले भने, ‘यो नहुने अवस्थामा गठबन्धनको निरन्तरताका लागि विकल्प के भनेर कुरा राख्नुपर्थ्यो । उहाँहरूले जिम्मेवारी नै होइन भन्न मिल्छ ? प्रधानमन्त्री प्रचण्डलाई नै दिएको भए पनि पहिलो पार्टीले तेस्रो पार्टीलाई प्रधानमन्त्री दियो भनेर आलोचना हुने नै थियो । यो दोहोरो चरित्र भयो ।’

४ मंसिरमा सम्पन्न निर्वाचनमा प्रतिनिधिसभा र प्रदेश सभा दुवैमा पहिलो बनेको कांग्रेस देउवाको प्रधानमन्त्री बन्ने अडानका कारण अन्तिम अवस्थामा प्रमुख प्रतिपक्ष दल बन्नुपर्ने अवस्थापछि पार्टीभित्र तीव्र असन्तुष्टि छ । यसको जिम्मेवारी पार्टी सभापति देउवाले लिनुपर्ने आवाज पनि कांग्रेस असन्तुष्ट समूहले उठाएको छ । 

इतर समूहको बैठकमा देखिएनन् महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल

इतर समूहको बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौेडेल भने उपस्थित भएनन् । संसदीय दलको निर्वाचनमा इतरको कित्तामा उभिएसँगै इतरको महत्वपूर्ण निर्णय प्रक्रियाका नेताद्वयको उपस्थिति चासोको विषय बनेको थियो ।

नेता केसीले सबैलाई जानकारी नगरिएको र काठमाडौंमा उपलब्ध नेताबीच सामान्य छलफल मात्रै भएकाले उपस्थित नभएको बताए । ‘यो सामान्य छलफल थियो, सबैलाई जानकारी थिएन । उहाँहरूलाई जानकारी नभएकाले आउनुभएन । अब बस्ने बैठकमा व्यापक छलफल र रणनीति तय हुन्छ । त्यो बैठकमा उहाँहरूको उपस्थिति रहनेछ,’ केसीले भने । 

नेता पौडेलले भने बैठकबारे आफूले जानकारी नपाएकाले बैठकमा उपस्थित नभएको बताए । ‘बैठकबारे जानकारी थिएन,’ पौडेलको प्रतिक्रिया छ । ६ पुसमा संसदीय दलको नेता चयनको प्रक्रियासँगै महामन्त्री शर्मा र पौडेल रूपान्तरणको पक्षमा भन्दै इतर समूहको पक्षमा उभिएका थिए ।

प्रतिरक्षाको तयारीमा संस्थापन समूह
केन्द्रीय कार्यसमिति बैठकमा इतर समूहको निसानामा पर्ने निश्चित भएपछि संस्थापन पक्ष पनि प्रतिरक्षाको तयारीमा जुटेको छ । देउवाको ‘संवाद दूत’का रूपमा काम गरेका नेता सभापतिसँगै आफ्नो विषयमा समेत बैठकमा प्रश्न उठ्ने देखेपछि प्रतिरक्षाको तयारीमा लागेका हुन् । प्रदेशमा दलको नेता चयन प्रक्रिया सकिएसँगै केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत हुने विषयमा सामूहिक छलफल गर्ने संस्थापन पक्षका नेताहरूको तयारी छ । ‘हाम्रै समूहका नेता पनि रुष्ट हुनुहुन्छ । इतर पनि सशक्त रूपमा प्रस्तुत हुने तयारीमा छ । त्यसैले बैठकमा कसरी प्रतिरक्षा गर्ने भन्नेबारे सामान्य छलफल भएका छन् । प्रदेशहरूको संसदीय दलको निर्वाचनपछि थप छलफल गर्ने तयारी छ,’ संस्थापन पक्षका एक पदाधिकारीले भने । 

इतर समूहका नेता अर्जुननरसिंह केसी भन्छन्– सानो गिरोहले ‘डिल’ गर्दा कांग्रेस दुर्घटनामा पर्‍यो 

ठूलो पार्टीका हिसाबले सरकारमा दाबी गर्नु स्वाभाविक थियो, तर परिस्थितिको जटिलता हेरेर पार्टी पदाधिकारी, सम्भव भए केन्द्रीय समिति या कार्यसम्पादन समिति बोलाएर निष्कर्षमा पुग्नुपर्थ्यो ।

तर, सभापतिनिकट ‘सानो गिरोह’ले डिल गर्दा कांग्रेस ठूलो दुर्घटनामा पर्‍यो । यो नेतृत्वको असफलता होे । छिट्टै समूहको भेला बोलाएर समीक्षा र केन्द्रीय समिति बैठकमा प्रस्तुत हुने रणनीति तय गर्छौँ । राजीनामा माग्ने, विशेष महाधिवेशन बोलाउने या के गर्ने भन्ने बैठकबाट टुंगो लगाउँछौँ ।

प्रवक्ता डा. प्रकाशशरण महत भन्छन्– महामन्त्रीसहितका केही नेताको दोहोरो चरित्र देखियो
आफूले केही भूमिका नखेल्ने र अरूलाई दोष लगाउनेभन्दा गैरजिम्मेवार के हुन्छ ? महामन्त्रीले कुरेर बसेँ भन्नुभयो । पार्टीको कामका लागि महामन्त्रीले पर्खिनुपर्छ ? केन्द्रीय कार्यसम्पादन समितिले पार्टीकै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको थियो ।

यो नहुने अवस्थामा गठबन्धनको निरन्तरताका लागि विकल्प के भनेर कुरा राख्नुपर्थ्यो । उहाँहरूले जिम्मेवारी नै होइन भन्न मिल्छ ? प्रधानमन्त्री प्रचण्डलाई नै दिएको भए पनि पहिलो पार्टीले तेस्रो पार्टीलाई प्रधानमन्त्री दियो भनेर आलोचना हुने नै थियो । महामन्त्रीसहितका केही नेताको दोहोरो चरित्र भयो ।