१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ११ सोमबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ पौष ११ सोमबार ११:२१:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

हिउँदे उदासीनताबाट बच्न के गर्ने ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ पौष ११ सोमबार ११:२१:oo

अहिले जाडोयाम छ । जाडो मौसम सुरु भएपछि हामी आफ्नो शारीरिक स्वास्थ्यप्रति सचेत बन्छौँ । किनकि, यस समय विभिन्न जीवाणुका कारण रुघाखोकी लाग्ने, निमोनिया, फोक्सो, दमलगायत समस्या निम्तिन्छन् । यस्ता समस्यासँगै उजाड मौसम, सुक्खा, चिसो हावालगायत कारणले हाम्रो मन पनि दुःखी तथा उदास हुन्छ । 

मौसमले मनमा पार्ने असर
मौसम धुम्म भएका वेला मन खिन्न हुने तथा घाम लागेका वेला मन प्रफुल्ल हुने त हामी सबैले महसुस गरेकै कुरा हो । जाडोयाम सुरु हुनेबित्तिकै प्रायः हामी सबैलाई अल्छी लाग्छ । काम गर्न जाँगर नचल्ने, झर्को लाग्ने, नरमाइलो लाग्ने, थकान महसुस हुने, नमज्जा लाग्ने, सुतिरहन मन लाग्ने, मुड परिवर्तन वा खराब हुने, भोक बढी लाग्नेजस्ता केही न केही लक्षण हामीले महसुस गरिरहेका हुन्छौँ । 

लक्षण दुई हप्ताभन्दा बढी समयसम्म लगातार देखिएमा, यसले दैनिक जीवनमा नकारात्मक प्रभाव पार्दै गएमा वा उदासीनता, नकारात्मक भावना, आत्महत्याको सोच विचारजस्ता लक्षण देखिएमा विन्टर डिप्रेसन वा हिउँदे उदासीनता भएको भन्ने बुझ्नुपर्छ । हिउँदे उदासीनताको मुख्य कारण सेरोटोनिन हर्मोनको कमी हो ।

जाडोयाममा दिन छोटो तथा रात लामो हुन्छ । र, हामीले पर्याप्त मात्रामा सूर्यको प्रकाश प्राप्त गर्न पाउँदैनौँ । यसको अभावमा सेरोटोनिन हर्मोनको उत्पादनमा कमी आउँछ । सेरोटोनिनको कमी हुँदा यसले हाम्रो मुडलाई प्रभाव पार्छ । हामी उदास हुनुको मुख्य कारण यही नै हो । 

के गर्ने ?

घाममा बस्ने : बिहान सबेरै उठ्ने, बिहानको समयको पारिलो घाम ताप्ने । आफू बस्ने कोठा, घर वा अफिस, खाना खाने ठाउँ घाम लाग्ने गरी व्यवस्थापन गर्नुपर्छ । हामीले दिनमा कम्तीमा १५–२० मिनेट घाममा बस्ने गर्नुपर्छ । घाममा बसेर बदाम, सुन्तलाजस्ता मौसमी फलफूल खाने गर्नुपर्छ । घाममा बस्दा सेरोटोनिन उत्पादन हुन्छ । त्यसले हामीलाई आनन्दको महसुस हुने गर्छ । जाडोयाममा मन उदास हुने समस्या घामको प्रकाशसँग जोडिएको हुनाले घाम लाग्ने ठाउँमा बस्नुपर्छ ।

शारीरिक व्यायाम : नियमित रूपमा प्रत्येक दिन योगाभ्यास, ध्यान र व्यायाम गर्नुपर्छ । मर्निङवाक, साइक्लिङ आदि गर्न सकिन्छ । घाममा बसेर तेल लगाउनु, मसाज गर्नु राम्रो हुन्छ । जाडोयाममा घाम लाग्ने डाँडामा पिकनिक जाने, नाच्ने, गाउने र रमाइलो गर्नाले पनि मुड फ्रेस हुन्छ । यस्ता क्रियाकलापले सेरोटोनिनको उत्पादन बढ्छ ।

खानेकुरामा ध्यान दिने : पोषणयुक्त आहार खाने गर्नुपर्छ । पर्याप्त मात्रामा मनतातो पानी तथा झोलिलो पदार्थ सेवन गर्नुपर्छ । हरियो सागपात र मौसमी फलफूल खाने गर्नुपर्छ । ओमेगा–३ भएका खानेकुरा, जस्तै– माछा र आलस खानु उपयुक्त हुन्छ । जाडोयाममा ओमेगा–३ क्याप्सुल पनि खान सकिन्छ । मद्यपान र धूम्रपानबाट टाढा रहनुपर्छ । चिसो मौसममा खानपान र जीवनशैलीमा ध्यान दिन जरुरी हुन्छ । विन्टर डिप्रेसनको समस्या देखिएमा, यसका लक्षण बढ्दै गएमा वा अवस्था बिग्रिएमा भने मनोचिकित्सकसँग परामर्श लिनुपर्छ ।

ad
ad
ad
ad