१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ११ सोमबार
  • Wednesday, 26 June, 2024
चारु सुदन कस्तुरी
२o७९ पौष ११ सोमबार ११:o५:oo
Read Time : > 4 मिनेट
ad
ad
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

युद्धपूर्वकै अवस्थामा कहिले फर्किएला ग्यासको मूल्य ?

Read Time : > 4 मिनेट
चारु सुदन कस्तुरी
नयाँ पत्रिका
२o७९ पौष ११ सोमबार ११:o५:oo

तेल र ग्यासको मूल्य युद्धपूर्वकै अवस्थामा आउन रुसले निर्यात गर्ने परिमाण नयाँ ऊर्जा स्रोतबाट आउनुपर्छ । त्यसका लागि कम्तीमा दुई वर्ष लाग्न सक्छ ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि आक्रमण गरेको नौ महिना पुगेको छ । सो अवधिपश्चात् ऊर्जाको मूल्य उच्चस्तरमा पुग्यो, जसले गर्दा बेलायत लामो मन्दीको संघारमा पुगेको छ । उता फ्रान्समा राष्ट्रपति इमानुएल म्याक्रोनले ‘प्रचुरता’को युग समाप्त भएको चेतावनी दिएका छन् । फ्रान्समा इन्धनको अभाव हुन थालेपछि पेट्रोल स्टेसनमा लामो लाइन देखिन थालेको छ । त्यस्तै, जर्मन सरकारले पनि इन्धन मूल्यको असर कम गर्न डिसेम्बरमा सबै नागरिक र साना तथा मध्यम व्यवसायको ऊर्जा खर्च तिरिदिने निर्णय लिएको छ । 

युरोप र सम्पूर्ण उत्तरी गोलार्धले जाडोको तयारी गरिरहँदा कहिलेसम्म पेट्रोल तथा ग्यासको मूल्य युद्धपूर्वकै स्तरमा फर्किएला भन्ने प्रश्न बारम्बार उठ्न थालेको छ । तर, सरसर्ती हेर्दा पनि  पेट्रोलियम पदार्थको मूल्य युद्धपूर्वको स्थितिमा झर्न कम्तीमा दुई वर्ष लाग्ने देखिन्छ । इन्धनको मूल्यबारे पछिल्लो समय केही सुखद समाचार आए । कच्चा मूल्यको बेन्चमार्क मानिने ब्रेन्ट आयलको प्रतिब्यारेल मूल्य पछिल्ला दिनमा घट्दै गइरहेको छ ।

यही वर्षको अगस्टको सुरुमा प्रतिब्यारेल एक सय २८ डलर रहेको मूल्य डिसेम्बर ११ मा ७६ डलरमा झरेको छ । तर, ग्यासको मूल्य आज पनि जनवरीको अन्त्यको तुलनामा दोब्बरभन्दा बढी छ । यी लक्षणलाई केलाएर हेर्दा विज्ञहरू मूल्य घटिहाल्नेमा विश्वस्त छैनन् । 

‘यथार्थ हो कि यसको मूल्य थप बढ्न सक्छ,’ लन्डन मुख्यालय रहेको उपभोग्य सामग्रीसम्बन्धी गुप्तचर सेवा आइसिआइएसका ग्यास विश्लेषक प्रमुख टम मार्जेक मन्सर भन्छन्,’ ‘ग्यासको मूल्य घटाउने कारक आगामी वर्ष पनि कायम रहने सम्भावना छैन ।’ 

पश्चिममा बिमा गरिएका जहाजले रुसी तेलमा लगाएको ६० डलरको सीमा–प्रभाव लामो समय टिक्ने अपेक्षा छैन । युनाइटेड स्टेट इनर्जी इन्फर्मेसन एड्मिनिस्ट्रेसनले सन् २०२३ मा तेलको औसत मूल्य ९२ डलर हुने प्रक्षेपण गरेको छ । 

भरिपूर्ण तेलको भण्डार : रुसले युरोपलाई दिइरहेको ग्यास आपूर्ति बन्द गर्न सक्ने डरले यस महाद्वीपले विगत केही सातादेखि सकेसम्म धेरै ग्यास खरिद गरी भण्डारण गरिरहेको छ । नोभेम्बरसम्म युरोपेली संघले आफ्नो ग्यास भण्डारण क्षमताको लगभग ९५ प्रतिशत भरिसकेको थियो, जबकि वर्षको अन्त्यसम्ममा ८५ प्रतिशत भण्डारणको लक्ष्य थियो । यो वर्ष युरोपमा शरद असामान्य रूपमा न्यानो रह्यो । जसले गर्दा आवास तथा कार्यालयलाई न्यायो  बनाउनुपर्नेे आवश्यकता घट्यो । यस्तै, ऊर्जाको उच्च मूल्यलाई मध्यनजर गर्दै उपभोक्ताले ऊर्जा प्रयोगमा सचेत हुने सम्भावना पनि छ । परिणामतः यो वर्षको पहिलो आठ महिनामा युरोपले सन् २०२१ को सोही अवधिको तुलनामा १० प्रतिशत कम ग्यास उपभोग गर्‍यो । बढेको आपूर्ति र घटेको मागको संयोजनले ग्यासको मूल्यलाई केही हदसम्म नियन्त्रण गर्न मद्दत गरेको विज्ञहरू बताउँछन् । यसले युरोपलाई यस जाडोमा ‘गम्भीर अभाव’बाट बचाउने भए पनि बीचमा नयाँ आपूर्ति अवरुद्ध भएमा जाडोको अन्त्यमा ‘छोटो, अस्थायी अभाव’ आउन सक्ने युरेसिया ग्रुपका ऊर्जा, जलवायु र संसाधन निर्देशक हेनिंग ग्लोस्टिनले चेतावनी दिएका छन् । 

उनका अनुसार हालको न्यून ‘प्राकृतिक ग्यासको मूल्यले यस क्षेत्रको जाडो ऊर्जा संकट समाप्त भएको संकेत गर्दैन । साथै, त्यसले युरोपका भण्डारण लगभग भरिपूर्ण भएको संकेत गर्छ । खासमा तेलको अवस्था पनि करिब उस्तै छ । बाहिर चर्को कुरा गरे पनि युरोपले अझै पनि रुसी कच्चा तेल किनिरहेको छ । युरोपले सेप्टेम्बरमा मात्रै रुसी खनिज इन्धन त्यसमा पनि मुख्यतया तेलमा प्रतिदिन २६.६ करोड डलर खर्च गरेको फिनल्यान्डस्थित सेन्टर फर रिसर्च अन इनर्जी एन्ड क्लिन एयरको अध्ययनले देखाउँछ । जुन अप्रिलमा खर्च हुने दैनिक एक अर्ब युरो (१.०६ अर्ब डलर)को एकचौथाइ मात्र हो ।  

भारत र चीनले पछिल्लो समय सर्वाधिक बढी रुसी कच्चा तेल किनिरहेका छन् । यसले मध्यपूर्व, अफ्रिका, ल्याटिन अमेरिका र संयुक्त राज्य अमेरिकाजस्ता अन्य स्रोतबाट तेलको माग मुख्य रूपमा रसियाली कच्चा तेल पूर्ण रूपमा उपलब्ध नभए के हुने थियो भन्ने देखाउँछ । विल्सन सेन्टरका ऊर्जा विश्लेषक हरि सेससायीले भने पेट्रोलियम पदार्थको मूल्य अझै बढ्नबाट जोगाएको र यो सबै छिट्टै परिवर्तन हुन सक्ने बताएका छन् । 

मूल्य पुनः बढ्न सक्छ : जाडो सुरु भएसँगै विज्ञहरूले युरोपमा ग्यासको मागमा वृद्धि हुने प्रक्षेपण गरेका छन् । यस्तो अवस्थामा सन् २०२३ को सुरुवातमा मूल्यवृद्धिको जोखिम कायमै रहने ग्लोस्टिनको भनाइ छ । गत महिना कुल ग्यासको मूल्य ४० प्रतिशतभन्दा बढी वृद्धि भएको देखियो । युरोपेली ग्यास आयातकर्ताले जाडोका लागि भण्डारण परिमाण बढाउन विभिन्न तरिकाले काम गरे । आंशिक रूपमा गैरआवश्यकतामा बढी ध्यान दिँदा यस्तो अवस्था नआउला भन्न सकिन्न । तर, यसको अर्थ कुनै वेला कल्पना नगरिएको अवस्थासमेत उत्पन्न हुने जोखिम पनि उत्तिकै छ । यदि यस्तो भयो भने जुनसुकै अवस्थामा पनि आकस्मिक मूल्यवृद्धि निम्तिन सक्छ । यी विविध संकेतलाई हेर्दा ठूलो जोखिमको घेरा देखिइसकेको छ । डिसेम्बर ५ मा जी–७ देशहरूले रुसी निर्यातमा मूल्य सीमा तोके । यस्तो गर्नुका पछाडि क्रेमलिनको राजस्व घटाउने उद्देश्य मुख्य रहेको देखिन्छ । तर, मस्कोले मूल्य नियन्त्रण योजनामा सामेल हुने राष्ट्रलाई कच्चा तेल आपूर्ति बन्द गर्ने चेतावनी दिएको छ । 

यदि रुसले चेतावनीलाई साँच्चिकै कार्यान्वयनमा ल्यायो र अधिकांश देशलाई तेल दिन छाड्यो भने मूल्य केही बढ्नेछ । रुसले विश्वलाई प्रदान गर्ने तेलको हिस्सालाई पूर्ण रूपमा प्रतिस्थापन गर्न सक्ने अर्को स्रोत छैन । अन्य प्रमुख तेल निर्यातक मुलुकको राष्ट्रिय आवश्यकताले पनि तेलको मूल्य उच्च राख्न भूमिका खेल्न सक्छ । अधिकांश प्रमुख तेल निर्यातक मुलुक विशेष गरी मध्यपूर्व तथा अफ्रिका खाद्यान्नजस्ता अन्य आवश्यक वस्तुको पनि प्रमुख आयातकर्ता हुन् । युद्धले पनि खाद्यान्नको मूल्य बढाइरहेको अवस्थामा यी राष्ट्र तेलको मूल्य घटाउने गरी काम गर्न इच्छुक छैनन् । कारण, उनीहरूलाई आफ्नो व्यापार घाटा सन्तुलनमा राख्न अतिरिक्त राजस्व चाहिन्छ । अन्त्यमा, युरोपको ग्यास वा विश्वको तेलको मूल्य ब्रसेल्स, वासिङ्टन वा मस्कोमा निर्णय हुने स्थिति नआउन सक्छ । यिनको निर्णय बेइजिङ र त्यसमा पनि चिनियाँ राष्ट्रपति सी जिनपिङको हातमा बढी हुने देखिन्छ । 

चीन फ्याक्टर : चीन लामो समयदेखि विश्वको सबैभन्दा ठूलो तेल आयातकर्ता हो । सन् २०२१ मा जापानलाई उछिनेर ऊ संसारको लिक्विफाइड नेचुरल ग्यास (एलएनजी)को सबैभन्दा ठूलो खरिदकर्ता पनि बन्यो । तर, बेइजिङको कोभिड–शून्य नीतिका कारण यो वर्षको अधिकांश समय चीनले देशका 

कैयौँ आर्थिक केन्द्रहरूलाई लामो समय नाकाबन्दी गरेर राख्यो । यसले आर्थिक गतिविधि सुस्त हुँदा तेलको माग कम गर्‍यो र सँगसँगै ऊर्जाको मागलाई घटायो । यो कुरा युरोप र विश्वका लागि वरदान साबित भयो ।

अहिले चीनमा लकडाउनविरुद्ध देशव्यापी विरोध र प्रदर्शनपछि चिनियाँ अधिकारीले शून्य कोभिड नीति हटेको संकेत गरेका छन् । फलतः अब त्यहाँको अर्थतन्त्रले पुनः गति लिने आशा गर्न सकिन्छ । ग्लोस्टिनका अनुसार चीनमा तेलको माग फेरि बढ्न थालेपछि युरोप र उत्तर–पूर्वी एसियाबीच कच्चा तेलको मूल्यमाथिको बोलीका लागि नयाँ प्रतिस्पर्धा सिर्जना हुनेछ । परिणामस्वरूप तेल र ग्यासको मूल्य पुनः बढ्नेछ । 

वैकल्पिक स्रोतको महत्व : रुस–युक्रेन युद्ध तत्कालै अन्त्य भयो भने पनि तेलको मूल्यमा धेरै फरक पर्नेछैन । यसले ऊर्जा स्थानान्तरण र व्यापारसँग सम्बन्धित भूराजनीतिक जोखिमलाई कम गरेर बजारलाई एक हदसम्म शान्त तुल्याउनेछ, तर मूल्य पुनः पहिलेकै स्तरमा आउनेछैन ।किनभने, युद्ध अन्त्यपछि पनि युरोपले पहिलेकै स्तरमा रुसी ग्यास आपूर्ति गर्नेछैन । विशेषतः उनीहरूलाई मस्कोमाथि पुनः निर्भर हुने चिन्ताले त्यसो गर्न दिनेछैन । 

ब्रसेल्स क्रेमलिनसँग पहिलेकै अवस्थामा व्यापारमा फर्कन चाहे पनि सेप्टेम्बरमा ‘नर्ड स्ट्रिम १’ र ‘नर्ड स्ट्रिम २’ मा भएको विस्फोटले तत्कालै आपूर्ति पहिलेकै स्थितिमा हुन दिनेछैन । रुसदेखि युरोप लैजाने दुईवटा ग्यासको पाइपलाइनमा विस्फोटले ठूलो क्षति पुगेको छ । तेल र ग्यासको मूल्य युद्धपूर्वको स्तरमा आउन सक्ने एउटै उपाय भनेको रुसले पहिले निर्यात गर्ने परिमाणको ऊर्जा नयाँ स्रोत, चाहे ती जीवाश्म इन्धन हुन् वा नवीकरणीय ऊर्जा, बाट आउनुपर्छ । सबैभन्दा उत्तम अवस्थामा पनि त्यसका लागि कम्तीमा दुई वर्षको समय लाग्नेछ । प्रमुख नयाँ परियोजना, जस्तै– कतार पेट्रोलियम र एक्सोन मोबिलको लगानीमा टेक्सासमा बन्दै गरेको परियोजना र अर्को अबुधाबी राष्ट्रिय तेल कम्पनीको नेतृत्वमा बनिरहेका परियोजना २०२४ र २०२५ सम्म प्रयोगमा आउने अपेक्षा छैन । 

(विभिन्न विधामा अवार्ड जितेका कस्तुरी लेखक तथा सम्पादक हुन्)
अल जजिराबाट

ad
ad
ad
ad