वित्तीय साक्षरतामा उत्तीर्ण हुन न्यूनतम ६६% अंक ल्याउनुपर्छ, तर राष्ट्र बैंकको सर्वेक्षणमा नेपालीको प्राप्त औसत अंक ५७.९% मात्रै
नेपाली नागरिकको समग्र वित्तीय साक्षरता अत्यन्त कमजोर देखिएको छ । पछिल्लो समय नेपालमा वित्तीय क्षेत्र व्यापक रूपमा विस्तार भएको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको वित्तीय साक्षरतासम्बन्धी सर्वेक्षण प्रतिवेदनअनुसार अधिकांश नेपाली अनुत्तीर्ण (फेल) छन् । प्रतिवेदनअनुसार सर्वेक्षणमा सहभागी २७.५ प्रतिशतले मात्रै वित्तीय साक्षरताको न्यूनतम अंक (उत्तीर्ण अंक) प्राप्त गरेका छन् ।
नेपाल राष्ट्र बैंकले वित्तीय ज्ञान, वित्तीय व्यवहार र वित्तीय मनोवृत्ति गरेर तीन आयाममा सर्वेक्षण गरेको थियो । वित्तीय ज्ञानमा उत्तीर्ण हुन ५–७ अंक (७१ प्रतिशत), वित्तीय व्यवहारमा ६–९ अंक (६७ प्रतिशत) र मनोवृत्ति (सोच) मा २.४–४ अंक (६० प्रतिशत) ल्याउनुपर्ने थियो । उक्त तीनै आयाममा गरेर औसतमा ६६ प्रतिशत (थ्रेस होल्ड) ल्याउनुपर्छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै उत्तीर्ण हुनका लागि सोबराबरको अंक तोकिएको थियो ।
यी तीनै आयाममा २७.५ प्रतिशत सहभागी मात्रै पास भएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । राष्ट्र बैंकले देशभरका (सबै प्रदेश तथा स्थानीय तह समेटिने गरी) नौ हजार तीन सय ६१ जना १८ वर्ष उमेरभन्दा माथिका नागरिकलाई सर्वेक्षणमा सहभागी गराएको थियो ।
राष्ट्र बैंकको तथ्यांकअनुसार उत्तीर्ण हुने प्रदेशमा बागमती प्रदेश अगाडि देखिएको छ । उक्त प्रदेशका ४२.७ प्रतिशत सहभागीले वित्तीय साक्षरताको तीनवटै आयाममा न्यूनतम अंक प्राप्त गरेका छन् । सबैभन्दा पछाडि भने मधेस प्रदेश देखिएको छ, मधेस प्रदेशका १९.१ प्रतिशत सहभागीले मात्रै तीनवटैमा न्यूनतम अंक प्राप्त गरेका छन् ।
वित्तीय ज्ञानमा बढी पास
तीन फरक–फरक आयामअनुसार भने वित्तीय मनोवृत्तिमा सबैभन्दा बढी पास भएका छन् । प्रतिवेदनअनुसार वित्तीय ज्ञानमा ९५.४ प्रतिशत सहभागीहरूले न्यूनतम अंक प्राप्त गरेका छन् । यस्तै, वित्तीय व्यवहारमा ५६.७ प्रतिशत र वित्तीय ज्ञानमा ३६.५ प्रतिशत सहभागीले न्यूनतम अंक प्राप्त गरेको प्रतिवेदनमा उल्लेख छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा आर्थिक अनुसन्धान विभाग प्रमुख डा. प्रकाशकुमार श्रेष्ठले पनि वित्तीय मनोवृत्तिमा नेपालीहरू अघि देखिएको बताए ।
२७.५ प्रतिशत सहभागीले न्यूनतम अंक प्राप्त गरे पनि औसतमा भने नेपाली वित्तीय साक्षरतामा फेल भएको देखिएको छ । वित्तीय साक्षरतामा उत्तीर्ण हुन ६६ प्रतिशत अंक प्राप्त गर्नुपर्छ । तर, सर्वेक्षणमा सहभागीले औसतमा ५७.९ प्रतिशत अंक प्राप्त गरेका छन् ।
कुन आयाममा कति अंक ?
नेपालीहरूले वित्तीय व्यवहारमा बढी अंक प्राप्त गरेका छन्, उक्त आयाममा नेपालीहरूले ६३.५ अंक प्राप्त गरेका छन् । यसैगरी, वित्तीय मनोवृत्ति ६२.९ प्रतिशत र वित्तीय ज्ञानमा ४७.३ प्रतिशत अंक प्राप्त गरेका छन् ।
बागमती प्रदेशकाले पाए सबैभन्दा बढी अंक
वित्तीय साक्षरतामा मधेस प्रदेश सबैभन्दा पछाडि देखिएको छ । सर्वेक्षणमा उक्त प्रदेशका नागरिकले ५२ प्रतिशत अंक प्राप्त गरेका छन् । सबैभन्दा अगाडि रहेको बागमती प्रदेशका नागरिकले भने ६४.५ प्रतिशत अंक प्राप्त गरेको छ ।
वित्तीय साक्षरता अंकमा भिन्नता हुनुको प्रमुख कारक प्रदेशहरूबीचमा वित्तीय ज्ञानमा रहेको भिन्नता देखिएको छ । तर, वित्तीय व्यवहारको र वित्तीय मनोवृत्तिको अंक भने सबै प्रदेशहरूमा लगभग समान रहेको प्रतिवेदनमा उल्लेख छ ।
नेपालीहरूले वित्तीय स्रोत–साधन के–कसरी प्रयोग गर्छन् भनेर पहिलोपटक यस्तो सर्वेक्षण गरेको थियो । सर्वेक्षणले नेपालीहरूमा वित्तीय साक्षरता कमजोर देखाएको राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले बताए । ‘पढेलेखेका तथा राम्रो क्षेत्रमा कार्यरत व्यक्तिमा समेत वित्तीय साक्षरता राम्रो देखिएन,’ उनले भने, ‘२७.५ प्रतिशत सहभागी वित्तीय साक्षरतामा पास त भए, तर समग्रमा वित्तीय साक्षरताको अवस्था राम्रो देखिएन ।’
यस्तो थियो प्रश्न
राष्ट्र बैंकले वित्तीय ज्ञानअन्तर्गत निक्षेपबाट हुने आम्दानी, निक्षेप ब्याजदर र मूल्यवृद्धिदरबीचको सम्बन्ध, बैंक ब्याजदर र लगानीको प्रतिफल, लगानी क्षेत्रलगायतका विषयमा प्रश्न सोधेको थियो । वित्तीय व्यवहारअन्तर्गत भने घरायसी खर्च र आम्दानीको रेकर्ड राख्ने प्रचलन, आपत्का वेला वित्तीय व्यवस्थापन गर्ने शैली, वित्तीय साधान छनोट गर्नेलगायतका विषयमा प्रश्न गरिएको थियो । यस्तै, वित्तीय मनोवृत्तिमा पैसा बचत गर्ने योजना, लगानी गर्ने योजना, व्यक्तिगत बजेट प्लानिङ गर्नेलगायतका विषयमा केन्द्रित रहेर प्रश्न सोधिएको थियो, जसमा अधिकांश सहभागी फेल भएको सर्वेक्षण कमिटीका संयोजक तथा राष्ट्र बैंकका उपनिर्देशक सुशील पौडलले बताए ।
‘पछिल्लो समय नेपालमा वित्तीय स्रोत र साधनको प्रयोग बढ्दै गएको छ । तर, त्यसको प्रयोग भने सही रूपमा भएको देखिएन,’ उनले भने, ‘नेपालीले जानी–नजानी वित्तीय स्रोत–साधन प्रयोग गरेको मात्रै देखियो ।’ मूल्यवृद्धि र बैंक ब्याजदरबीच सम्बन्ध, ब्याज आम्दानी र लगानीको प्रतिफल, सुरक्षित लगानी गर्ने तरिकामा नेपालीहरू पछाडि देखिएको उनको भनाइ छ ।
अब वित्तीय साक्षरता बढाउन केन्द्रित हुन्छौँ : डा. प्रकाशकुमार श्रेष्ठ कार्यकारी निर्देशक, नेपाल राष्ट्र बैंक
नेपालमा वित्तीय साक्षरताको अवस्था राम्रो देखिएन । वित्तीय साक्षरतामा अझै धेरै काम गर्नुपर्ने यो सर्वेक्षणले औँल्याएको छ । त्यसमा नेपाल राष्ट्र बैंक पनि सकारात्मक छ ।
तर, राष्ट्र बैंकको एक्लो प्रयासमा त्यो सम्भव हुँदैन । वित्तीय साक्षरता पुँजी बजार, बिमा बजारसँग पनि प्रत्यक्ष जोडिन्छ ।
तसर्थ, यसमा नेपाल धितोपत्र बोर्ड, नेपाल बिमा प्राधिकरण, बिमा कम्पनीहरू, बैंक तथा वित्तीय संस्थाहरूको पनि सहयोग हुन जरुरी छ । अब उनीहरूले पनि वित्तीय साक्षरता बढाउन सहयोग पुग्ने गरी काम गर्नुपर्छ ।