१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर २६ सोमबार
  • Monday, 01 July, 2024
मुना कुँवर काठमाडाैं
२o७९ मङ्सिर २६ सोमबार ११:३७:oo
Read Time : > 3 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

तीन महिनामा साढे चार अर्बको जीवन बिमा पोलिसी सरेन्डर

Read Time : > 3 मिनेट
मुना कुँवर, काठमाडाैं
नयाँ पत्रिका
२o७९ मङ्सिर २६ सोमबार ११:३७:oo

जीवन बिमा कम्पनीहरूले संकलन गरेको पहिलो बिमा शुल्कको ४८ प्रतिशत पोलिसी सरेन्डर भएको प्राधिकरणको तथ्यांक 

जीवन बिमा कम्पनीहरूले गरेको नयाँ व्यवसायको झन्डै ५० प्रतिशत रकमबराबरको पोलिसी सरेन्डर हुन थालेको छ । नेपाल बिमा प्राधिकरणका अनुसार चालू आर्थिक वर्ष ०७९/८० को पहिलो तीन महिनामा जीवन बिमा कम्पनीहरूको चार अर्ब ४३ करोड रकमबराबरको पोलिसी सरेन्डर भएको छ । यो रकम सो अवधिमा जीवन बिमा कम्पनीहरूले संकलन गरेको पहिलो बिमा शुल्कको ४८ प्रतिशत हो । 

बिमितले आफूले खरिद गरेको बिमा पोलिसीलाई निरन्तरता दिन नसकेको अवस्थामा पोलिसी फिर्ता गर्ने प्रक्रियालाई पोलिसी सरेन्डर भनिन्छ । पोलिसी सरेन्डर गर्दा बिमितले सो अवधिसम्म भुक्तानी गरेको बिमा शुल्क र सो अवधिसम्ममा प्राप्त बोनस रकम फिर्ता पाउँछन् । तर, सो रकममा कम्पनीले निश्चित प्रतिशत कटाउँछ । पछिल्लो समयमा नेपालमा कम्पनीको संख्या, बिमा अभिकर्तामा कमिसनको लोभ, फोर्स बिमालगायतका कारणले पोलिसी सरेन्डरको क्रम बढेको कम्पनीहरूको बुझाइ छ ।  

तथ्यांकअनुसार पोलिसी सरेन्डर हुने कम्पनीहरूमा सबैभन्दा अगाडि राष्ट्रिय बिमा संस्थान छ । संस्थानमा चालू आवको पहिलो तीन महिनामा आर्जन गरेको प्रथम बिमा शुल्कभन्दा बढी पोलिसी सरेन्डर भएको छ । कम्पनीले गत असोजसम्म १२ करोड ९७ लाख पहिलो बिमाबापत प्रिमियम संकलन गरेको छ भने सोही अवधिमा कम्पनीमा २१ करोड ५० लाख रुपैयाँबराबरको पोलिसी सरेन्डर भएको छ । त्यसैगरी, एलआइसी नेपालले ५२ करोड ६२ लाख पहिलो प्रिमियम संकलन गर्दा ७२ करोड ३९ लाखबराबरको पोलिसी सरेन्डर भएको छ । नेपाल लाइफको एक अर्ब ३३ करोड रुपैयाँबराबरको पोलिसी सरेन्डर भएको छ । यो रकम कम्पनीले सो अवधिमा आर्जन गरेको पहिलो बिमा शुल्कको ९८ प्रतिशत हो  । 

त्यस्तै, गुराँस लाइफ इन्स्योरेन्सको पाँच करोड ३८ लाख बिमा पोलिसी सरेन्डर भएको छ । यो रकम कम्पनीले आर्जन गरेको पहिलो बिमा शुल्कको ९४ प्रतिशत हो ।  नेसनल लाइफ इन्स्योरेन्समा पनि आर्जन गरेको बिमा शुल्कको ६० प्रतिशत पोलिसी सरेन्डर भएको छ ।

पोलिसी सरेन्डरमा ब्याजदरको प्रेसर
बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर बढाउँदै लगेपछि जीवन बिमा कम्पनीहरूमा पोलिसी सरेन्डर प्रेसर बढ्न थालेको नेपाल बिमा प्राधिकरणका प्रवक्ता एवं प्रमुख कार्यकारी अधिकृत राजुरमण पौडेलले बताए । बंैकको ब्याजदरको प्रभाव अहिले पोलिसी सरेन्डरमा पनि परेको महालक्ष्मी जीवन बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले बताए । तर, पोलिसी सरेन्डरमा बैंक तथा वित्तीय संस्थाको ब्याजदर वृद्धि हुनु मात्रै कारण नभएको उनको दाबी छ । 

बैंक तथा वित्तीय संस्थाका साथै बिमा कम्पनी आफैँले समेत कर्जाको ब्याजदर वृद्धि गरेका छन् । बिमितहरूलाई १० प्रतिशतसम्ममा पोलिसी कर्जा दिइरहेका कम्पनीहरूले ब्याजदर वृद्धि गरी १२ प्रतिशत पु¥याएका छन् । बिमितले आफूले खरिद गरेको पोलिसी धितोमा राखी कर्जा लिन पाउने व्यवस्था छ । यस्तो कर्जा पोलिसीको सरेन्डर मूल्यको ९० प्रतिशत पाइन्छ । अर्थात्, पोलिसी राखी कर्जा लिँदाको रकम र पोलिसी सरेन्डर गरेपछि पाउने रकममा बढीमा १० हजार रुपैयाँसम्मको फरक छ । कम्पनीहरूले कर्जाको ब्याजदर बढाएपछि बिमितले ब्याज भुक्तानी गरिरहनुभन्दा सरेन्डर गरेरै सबै रकम लिने गरेको बिमकहरू बताउँछन् । 

खेलाडी अभिकर्ताले बढाए सरेन्डर
बिमा बजारमा खेलाडी अभिकर्ताको सक्रियता बढेपछि पोलिसी सरेन्डरको क्रम बढेको  बिमकहरू बताउँछन् । कम्पनीहरूका अनुसार पछिल्लो समयमा केही अभिकर्ताले आफैँ अभिकर्ता, आफैँ बिमित बनेर बजारमा खेल्न थालेका छन् । जसले योजना बनाएर नै निश्चित अवधिमा पोलिसी सरेन्डर गरी नाफा आर्जन गर्न थालेको कम्पनीहरूको गुनासो छ । 

बिमा गर्दा बिमा अभिकर्ताले पोलिसीको अवधि र बिमांक रकमअनुरूप पहिलो बिमा शुल्क भुक्तानी गर्दा २५ प्रतिशत कमिसन पाउँछन् । दोस्रोपटक १५ र तेस्रोपटक ५ प्रतिशत रकम पाउछन् । त्यस्तै, नेपाल बिमा प्राधिकरणले गरेको व्यवस्थाअनुसार कम्पनीहरूले इन्सेन्टिभबापत अभिकर्तालाई १८ प्रतिशतसम्म कमिसन दिन पाउने व्यवस्था छ । तर, खेलाडी अभिकर्ताले कम्पनीहरूसँग बार्गेनिङ गरेर २० प्रतिशतसम्म कमिसन लिने गरेको एक कम्पनीका कर्मचारीले बताए । उनका अनुसार अधिकांश अभिकर्ताले इन्सेन्टिभबापत रकम नै लिने गरेका छन् । कमिसनबापत ठूलो रकम लिएपछि पनि तीन वर्षमा पोलिसी सरेन्डर गर्दा बिमितले आफूले भुक्तानी गरे रकममा १५ प्रतिशत थप गरी फिर्ता पाउने उनको भनाइ छ । 

उदाहरणका लागि कुनै बिमितले १५ वर्षे एक करोड रुपैयाँबराबरको बिमा पोलिसी खरिद ग¥यो भने वार्षिक प्रिमियम सात लाख रुपैयाँ पर्न आउछ । तीन वर्षमा उसले २१ लाख रुपैयाँ भुक्तानी गर्छ । पहिलो प्रिमियमबाट अभिकर्ताले २५ प्रतिशत अर्थात् एक लाख ७५ हजार रुपैयाँ कमिसन लिन्छ । दोस्रोमा १५ प्रतिशत अर्थात् एक लाख पाँच हजार कमिसन लिन्छ भने तेस्रो वर्ष ५ प्रतिशत अर्थात् ३५ हजार कमिसन लिन्छ । इन्सेन्टिभबापत एक लाख २६ हजार कमिसन लिन्छ । अभिकर्ताले तीन वर्षमा कमिसन र इन्सेन्टिभबापत चार लाख ४१ हजार कमिसन लिन्छ । 

१५ वर्षे एक करोडको बिमा पोलिसीमा तीन वर्षमा २१ लाख भुक्तानी गर्दा बिमितको सरेन्डर मूल्य औसतमा २० लाखजति पर्न आउँछ । १७ लाख भुक्तानी गरी सरेन्डरपछि पनि बिमितले तीन लाख ४१ हजार थप पाउँछ । त्यसबाहेक कमिसन रकम पहिले नै लिइसकेको हुन्छ । यस्तो अवस्थामा बिमित र अभिकर्ता एउटै व्यक्ति हुँदा उसले ठूलो लाभ लिने बिमकको भनाइ छ । तसर्थ, केही अभिकर्ताले आफैँ बिमित र आफैँ अभिकर्ता भई पोलिसी सरेन्डर गर्ने गरेको उनले बताए । यो लगानीमा कुनै पनि जोखिम नहुने, कुनै घटना घटेमा सुरक्षा पनि प्रदान हुने भएपछि अभिकर्ताहरू खेलाडीका रूपमा नै लागेको उनले बताए । 

नयाँ कम्पनीले अभिकर्तालाई लोभ्याउँदा बढ्यो पोलिसी सरेन्डरको दर
बजारमा जीवन बिमा कम्पनीको संख्या बढेसँगै कम्पनीले अभिकर्तालाई एक अर्का कम्पनीबाट हुक गर्न थालेका छन् । नयाँ कम्पनीले नयाँ–नयाँ र आकर्षक सुविधा दिन थालेपछि अभिकर्ता पनि बार्गेनिङ गर्दै नयाँ कम्पनीतर्फ सर्न थालेका छन् । यसरी एकपछि अर्को कम्पनीमा जाने अभिकर्ताले आफूसँगै पुरानो कम्पनीको व्यवसायसमेत लाने गरेको नेपाल बिमा प्राधिकरणको बुझाइ छ ।

कतिपय अभिकर्ताले बिमितको आवश्यकताभन्दा बढी र असान्दर्भिक बिमा पोलिसी खरिद गर्न लगाउँछन् । जब बिमितले यस बिषयमा थाहा पाउँछ, त्यसपछि उसले पोलिसी नै सरेन्डर गरिदिन्छ । दोस्रो भनेको अभिकर्ताले पहिलोपटक कुनै व्यक्तिको पहिलोपटक बिमा गरेपछि निश्चित कमिसन लिइसक्छ । कमिसन निश्चित अवधिका लागि मात्रै हुन्छ । त्यसैले उसले फेरि सोही बिमितलाई विभिन्न प्रलोभनमा पारी पुरानो कम्पनीमा पोलिसी सरेन्डर गर्न लगाई नयाँ कम्पनीको पोलिसी खरिद गर्न लगाउँछ । यसले गर्दा अभिकर्ताले फेरि चर्को कमिसन पाउँछ । 


 

ad
ad
ad
ad