१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ बैशाख २० बिहीबार ११:४७:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

भन्सार क्षेत्रमा खुलेआम तस्करी : तस्कर समूहबाट कुटपिट र ज्यान मार्ने धम्की, कर्मचारीद्वारा मन्त्रालयसँग सुरक्षा माग

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:४७:oo

विराटनगर भन्सार क्षेत्रमा खुलेआम तस्करी गर्दै आएको समूहबाट भन्सार कर्मचारी निरिह र असुरक्षित बनेका छन्। भन्सार क्षेत्रमा प्रहरीकै अगाडि खुलेआम हुँदै आएको तस्करी रोक्न खोज्दा तस्करबाट ढुंगामुढासहित कुटपिट हुन थालेपछि कर्मचारी निरीह बनेका हुन्।

प्रहरीकै अगाडि खुलेआम भन्सार छली गरी तस्करी गर्दै आएका तस्करलाई रोक्न खोज्दा आक्रमणमा परेपछि भन्सार कर्मचारीले मन्त्रालय र विभागसँग सुरक्षाको व्यवस्था मिलाउन माग गरेका छन्। विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ताराप्रसाद सापकोटाले शनिबार विज्ञप्ति जारी गर्दै प्रहरीकै अगाडि सिसी क्यामेराको निगरानीमै भन्सार क्षेत्रबाट हुँदै आएको तस्करी रोक्न खोज्दा तस्कर समूहले कर्मचारीमाथि कुटपिट गरेको र ज्यान मार्ने धम्की दिएको उल्लेख गरे। उनले भन्सार विभाग र अर्थ मन्त्रालयसँग चोरी–पैठारी अत्यधिक बढेकाले नियन्त्रण गर्न र कर्मचारीको सुरक्षाको व्यवस्था मिलाउन माग गरेका छन्।

प्रमुख भन्सार अधिकृत सापकोटाका अनुसार विराटनगर भन्सार कार्यालयको ३ नम्बर गेटअघि हुँदै भारतको जोगबनी बजारबाट राति तस्करको समूहले सीमा प्रहरी चौकी रानीकै अगाडि सवारीसाधनमा मालवस्तु लोड गरेर खुलेआम तस्करी गर्दै आएको थियो। सूचना प्राप्त भएपछि उक्त तस्करी रोक्दा जाँदा २३ मंसिर साँझ भन्सारका अधिकृतसहितको समूहलाई तस्करले ढुंगामुढा र कुटपिट गरी ज्यान मार्ने धम्की दिएर भगाएको थियो।

प्रहरीले असहयोग गरेकाले भन्सार कर्मचारीले नियन्त्रणमा लिएको मालवस्तु पनि तस्करको समूहले खोसेर लगेको बताइएको छ। प्रमुख भन्सार अधिकृत सापकोटाका अनुसार प्रहरी कार्यालयकै अगाडि सिसिटिभीकै निगरानीमा भएको उक्त घटनामा प्रहरी रमिते बनेर असहयोग गर्दा भन्सार कर्मचारी तस्करका अगाडि निरीह बन्नुपरेको थियो।

‘विराटनगर भन्सारको संयुक्त जाँचचौकी (आइसिपी)बाट प्रायः कर्मचारी राति २ बजेसम्म काम गरेर ६ किलोमिटर उत्तरमा रहेको क्वाटर मा वास बस्न फर्कनुपर्छ। यसरी खुलेआम तस्करले ज्यान मार्ने धम्की दिँदा  त्रासमा परेका छौँ। यसैले विभाग र मन्त्रालयसँग सुरक्षा माग गरेका हौँ,’ प्रमुख भन्सार अधिकृत सापकोटाले भने।पछिल्लो समय विराटनगर भन्सार क्षेत्रभित्रबाट मात्र नभएर मोरङ र सुनसरीका नाकाहरूबाट समेत चोरी पैठारी अत्यधिक बढेको छ। जसले गर्दा भन्सार राजस्व असुलीमा प्रत्यक्ष प्रभाव पर्दै आएको छ। प्रहरीले असहयोग गर्न थालेपछि राजस्व असुली वृद्धि गराउन तस्करी नियन्त्रणमा भन्सार कर्मचारी आफैँ खटिन थालेका छन्।

विराटनगर–जोगबनी भन्सार नाकामा तस्करी नियन्त्रण गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको अलगअलग टोली छ। भन्सार क्षेत्रमा सीमा प्रहरी चौकी छ भने एक किलोमिटर उत्तरमा इलाका प्रहरी रानीको कार्यालय  छ। यसैगरी दशगजानजिकै सशस्त्र प्रहरीको सुरक्षा बल र पोस्ट छ भने आइसिपी क्षेत्रमा बेसक्याम्प पनि छ। यसबाहेक नेपाल प्रहरी र सशस्त्र प्रहरीको मोबाइल र पिकेट गस्ती पनि हुँदै आएको छ।

ad
ad