१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर २५ आइतबार
  • Wednesday, 26 June, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o७९ मङ्सिर २५ आइतबार o९:११:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

कुहिने फोहोर राख्न काठमाडौं महानगरले सहुलियतमा भाँडो उपलब्ध गराउने

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o७९ मङ्सिर २५ आइतबार o९:११:oo

बजारमा झन्डै चार हजार मूल्य पर्ने कम्पोस्ट बिन भाँडो महानगरले १५ सयमै उपलब्ध गराउने

कुहिने र नकुहिने फोहोर व्यवस्थापनमा यसअघि असफल भएको काठमाडौं महानगरपालिकाले फोहोर छुट्याउने फरक तरिका अपनाएको छ । महानगरले आइतबारदेखि कुहिने फोहोर घरमै व्यवस्थापन गर्न प्रोत्साहनस्वरूप सहुलियत मूल्यमा मल बनाउन प्रयोग हुने कम्पोस्ट बिन भाँडो वितरण गर्न लागेको हो । 

अब महानगरभित्र फोहोर वर्गीकरण गरेर घरमै कुहिने फोहोर व्यवस्थापन गर्नेलाई महानगरले एक हजार पाँच सय रुपैयाँमा कम्पोस्ट बिन वितरण गर्नेछ । उक्त फोहोर राख्ने भाँडोलाई बजारमा झन्डै चार हजार रुपैयाँ पर्छ । तर, महानगरले महँगोमा खरिद गरेर नगरवासीलाई सस्तोमा उक्त बिन उपलब्ध गराउन लागेको हो ।

भाँडो लिएर पनि फोहोर वर्गीकरण नगर्नेलाई कारबाही हुन्छ : सरिता राई, वातावरण विभाग प्रमुख, काठमाडौं महानगर 
कम्पोस्ट मल बनाउन चाहिने भाँडो हामी महानगरवासीलाई दिन्छौँ । यसमा फोहोरलाई कुहाएर मल बनाउन सकिन्छ । तर, मल बनाउने भाँडो लिएर पनि फोहोर वर्गीकरण नगर्नेलाई कारबाही हुन्छ ।

पहिलो चरणमा धेरै फोहोर उत्पादन गर्ने कार्यालय तथा घरधनी हेरेर बिन वितरण गरिने महानगरले जनाएको छ । उक्त भाँडोमा कुहिने फोहोर संकलन गरेर कम्पोस्ट मल बनाउन सकिनेछ । यसो गर्दा घरको बगैँचालाई आवश्यक पर्ने मल घरमै उत्पादन हुने र फोहोर व्यवस्थापनमा पनि सहज हुने काठमाडौं महानगरले जनाएको छ । 

फोहोरलाई स्रोतमा वर्गीकरण गरी घरमा नै कम्पोस्ट मल बनाई फोहोर न्यूनीकरण कार्यमा काठमाडौं महानगरपालिकालाई सहयोग गर्न सूचित गरिन्छ,’ महानगरले शुक्रबार जारी गरेको सूचनामा भनिएको छ,’ साथै सो कार्य प्रोत्साहन गर्न सहुलियत दरमा कम्पोस्ट बिन काठमाडौं महानगरवासीलाई उपलब्ध गराउने जानकारी गराइन्छ ।’ कम्पोस्ट बिन महानगरको वातावरण तथा कृषि विभाग टेकुबाट बिहान १० देखि दुई बजेसम्म सहुलियत दरमा किन्न पाइनेछ । यसमा घरमा उत्पादन भएको कुहिने फोहोर सहजै अटाउनेछ । 

यसअघि काठमाडौं महानगरले गत १ वैशाखमा सूचना जारी गर्दै १ साउनदेखि कुहिने र नकुहिने फोहोर वर्गीकरण गर्न नगरवासीलाई अनुरोध गरेको थियो । तर, उक्त कार्यमा महानगर नै चुकेको थियो । फोहोर संकलन गर्ने महानगरका कन्टेनरले नै दुवैथरी फोहोरलाई एउटैमा राख्ने गरेका थिए । त्यतिवेला हचुवामा सूचना जारी गर्दै महानगर आफैँ पछि हट्नुपरेको थियो । 

महानगरले जारी गरेको सूचनाअनुसार वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा २२, १ र २ तथा फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ६ को १ र २ को व्यवस्थाअनुसार स्रोतमै फोहोरको पृथकीकरण गर्नुपर्नेछ । यही ऐनलाई टेकेर फोहोर वर्गीकरणमा लागेको महानगरले जनाएको छ । 

उपत्यकामा दैनिक पाँच सय मेट्रिकटन कुहिने फोहोर
काठमाडौं उपत्यकाका सबै स्थानीय तहमा दैनिक एक हजार दुई सय मेट्रिकटन फोहोर उत्पादन हुन्छ । उक्त फोहोर व्यस्थापन गर्न दैनिक दुई सय टिपर बन्चेरडाँडा पुर्‍याइन्छ । हाल उत्पादन भएको फोहोरमध्ये झन्डै पाँच सय मेट्रिकटन फोहोर कुहिने हो । यसमध्ये काठमाडौं महानगरमा दैनिक पाँच सय मेट्रिकटन फोहोर उत्पादन हुन्छ भने त्यसमा तीन सय मेट्रिकटन फोहोर कुहिने हो ।

उक्त फोहोर घरमै व्यवस्थापन वा मल बनाउन सके उपत्यकाको फोहोर व्यवस्थापनमा पनि सहजता हुने महानगरका वातावरण तथा कृषि विभाग प्रमुख सरिता राईले जानकारी दिइन् । उनका अनुसार घरधनीले बिनको प्रयोग गरी उत्पादन गरेको मल घरमै प्रयोग गर्नेछन् । उक्त मल कुनै कृषि फार्मलाई पनि बिक्री गर्न सक्नेछन् । ‘कम्पोस्ट मल बनाउन चाहिने भाँडो बिन हामी महानगरवासीलाई दिन्छौँ, यसमा फोहोरलाई कुहाएर मल बनाउन सकिन्छ,’ उनले भनिन्, ‘सुरुमा हामीले कुहिने फोहोर उत्पादन हुने अवस्था हेरेर बिन वितरण गर्छौँ, तर भाँडो लिएर फोहोर वर्गीकरण नगर्नेलाई कारबाही हुन्छ ।’  

ad
ad
ad
ad