बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले उँधौली पर्व पनि हाम्रा पर्वहरूमध्ये एउटा महत्वपूर्ण पर्व भएको उल्लेख गर्दै हाम्रा विविध पर्वहरूले नै राष्ट्रिय एकता सुदृढ गर्न प्रेरित गरेका बताएका छन् । बिहीबार किराँत समुदायको प्रमुख पर्व उँधौलीको अवसरमा शुभकामना सन्देश दिँदै प्रमुख शर्माले यस्तो बताएका हुन् ।
प्रमुख शर्माले आफ्नो सन्देशमा नेपालीहरूको परम्परा, वेशभूषा, चालचलन एवं चाडपर्व र संस्कृतिमा विविधता रहेको उल्लेख गर्दै यही विविधताभित्रको दरिलो एकता र सामाजिक सहिष्णुताले विश्वसामु नेपालीको पहिचान बनेको बताएका छन् । उनले यस्ता चाडपर्वप्रति गर्वबोध गर्न सक्नुपर्ने उल्लेख गर्दै सबै देशभित्रका सम्पूर्ण समुदाय र सम्प्रदायका मानिसहरू समष्टिमा बन्धु–बान्धव नै भएको उल्लेख गरेका छन् ।
प्रमुख शर्माको शुभकामना सन्देशमा ‘हाम्रा सबै भाषा तथा चाडपर्वहरू राष्ट्रिय हुन् । यस सन्दर्भमा हाम्रो देशका किराँत समुदायहरूले मनाउने उँधौली पर्व पनि हाम्रा पर्वहरूमध्येको एउटा महान् चाड हो’ भनिएकाे छ । प्रमुख शर्माले यस पर्वले नेपालीबीच आपसी मेलमिलाप, सदभाव र सहिष्णुता अभिवृद्धि गर्दै राष्ट्रिय एकता सुदृढ गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् ।