मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ मङ्सिर २१ बुधबार ०८:२८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अर्थतन्त्रका समस्या समाधान गर्न पहल गर्छु : प्रधानमन्त्री

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर २१ बुधबार ०८:२८:००

 देशको अर्थतन्त्रमा देखिएको संकट समाधान गर्न पहल गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले आश्वासन दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिमण्डलसँग बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री देउवाले अर्थ मन्त्रालय र राष्ट्र बैंकसँग छलफल गरेर समाधान निकाल्ने बताएका हुन् । 

प्रधानमन्त्री देउवाले निजी क्षेत्रसहित सबै सरोकारवाला पक्षलाई बोलाएर समस्या समाधानमा नेतृत्व लिने प्रतिबद्धता जाहेर गरे । महासंघ प्रतिनिधिमण्डलले यसअघि एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग छुट्टाछुट्टै भेट गरी देशको अर्थतन्त्र जोखिमउन्मुख रहेकाले जोगाउन आग्रह गरेको थियो । यस्तै, अर्थमन्त्री जनार्दन शर्मा र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूलाई पनि भेटेर महासंघले वर्तमान समस्या समाधानबारे ध्यानाकर्षण गराएको छ । 

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले अर्थतन्त्र संमस्यामा रहेको र यसको सामाधानका लागि आफू र आफ्नो पार्टी तत्पर रहेको आश्वासन दिएका थिए । यस्तै, अर्का पूर्वप्रधानमन्त्री प्रचण्डले पनि समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिए । प्रधानमन्त्रीसहित शीर्ष नेताहरूसँगको भेटवार्तामा महासंघको प्रतिनिधिमण्डलले अर्थतन्त्रमा बहुुआयामिक असर परेको र बहुप्रतीक्षित चालू आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाले समेत विद्यमान समस्या सम्बोधन गर्न नसकेकोतर्फ चिन्ता प्रकट गर्दै समस्या समाधानमा सहयोग र समन्वय गरिदिन आग्रह गर्‍यो । 

शीर्ष नेतृत्वसँगको भेटवार्तामा महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रको संवेदनशीलता बुुझिदिन आग्रह गरेका थिए । राजस्वले साधारण खर्चसमेत धान्न नसक्ने अवस्था आएको भन्दै मूल्यवृद्धि सात वर्षयताकै उच्च रहेको र अर्थतन्त्रलाई चलायमान बनाउने निजी क्षेत्र नै संकुचित हुँदै गएकोतर्फ उनले ध्यानाकर्षण गराए ।