मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर २० मंगलबार
  • Thursday, 19 December, 2024
नदाभ लपिड
२o७९ मङ्सिर २० मंगलबार o८:४४:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

द कस्मिर फाइल्स : एक अश्लील प्रोपगान्डा

कलाले झटारो हानेर र्‍याखर्‍याख्ती पार्नुपर्छ, तर यो काम बुद्धिमत्तापूर्ण शैलीका साथ गर्न सक्नुपर्छ, मूर्खतापूर्ण अश्लीलताका माध्यमबाट होइन

Read Time : > 2 मिनेट
नदाभ लपिड
नयाँ पत्रिका
२o७९ मङ्सिर २० मंगलबार o८:४४:oo

द कस्मिर फाइल्स चलचित्रमाथि गरेको टिप्पणीप्रति मलाई कुनै पछुतो छैन (उनले द कस्मिर फाइल्सलाई अश्लील प्रोपगान्डा बताएका थिए) । मलाई टिप्पणी गर्नैपथ्र्यो भन्ने लागेको थियो र अन्ततः मैले टिप्पणी गरेँ । म भारतीय यथार्थको हिस्सा होइन । म भारतमा इन्टरनेसनल फिल्म फेस्टिभल अफ इन्डिया (आइएफएफआई) फिल्म महोत्सवमा निर्णायक बन्नका लागि पुगेको थिएँ र मेरो टिप्पणीपछि घटना र परिस्थितिले एउटा भिन्नै मोड लियो । दुई–चार दिनको हल्लाखल्लापछि यो घटना सेलाउने नै छ ।   

प्रश्न मेराबारे वा द कस्मिर फाइल्स चलचित्रबारे होइन । वास्तविक प्रश्न भिन्न छ । मानिसहरू मेरो टिप्पणीमाथि असन्तुष्ट हुन सक्छन् र मैले केही पनि जान्दिनँ भन्न पनि सक्छन् । मेराबारे निकृष्ट बुझाइ पनि राख्न सक्छन् । मानिसहरू द कस्मिर फाइल्सलाई मन पराउन वा घृणा दुवै गर्न सक्छन् । यो सब जायज छ र म कुनै भावनात्मक वा गम्भीर बहसविरुद्ध छैन । तथापि मेरो टिप्पणीमाथि आएको प्रतिक्रियाको ठूलो हिस्साले पागलपनबाहेक केही झल्काउँदैन । हो, म मान्छु यो तपाईंहरूकै देश हो, तपाईंहरूकै समाज हो, तर हिंसात्मक प्रतिक्रिया आउँछ भनेर तपाईं सत्य बोल्न डराउनुहुन्छ ? मिडियामा आएका प्रतिक्रिया मैले नियालेँ र एक चलिचित्र समीक्षकका रूपमा मप्रति लक्षित यी प्रतिक्रिया स्वाभाविक नै हो र ! भन्दै चकित परेको छु । 

द कस्मिर फाइल्स एक नक्कली चलचित्र हो र यो फगत प्रोपगान्डा हो । अन्य चलचित्रझैँ यसले पनि जीवन, अस्तित्व, ऐतिहासिक परिघटनाबारे कलात्मक सिर्जना गर्ने प्रयास गरिरहेकोजस्तो व्यवहार गर्छ । अन्ततः मेरो विचारमा द कस्मिर फाइल्सले अत्यन्त अश्लील र घटिया तरिकाले सिनेमेटिक (चलचित्रगत) छेडखानी गरेर राजनीतिक पक्षधरता स्थापित गर्ने प्रयास गरेको छ । सिनेमेटिक कोणबाट हेर्दा म यो चलचित्रलाई गम्भीर रूपमा लिन सक्दिनँ । बाहिरबाट हेर्दा यो चलचित्र मजाकबाहेक केही लाग्दैन । तर, यो चलचित्रलाई गम्भीरतापूर्वक हेरेर नै प्रतिष्ठित चलचित्रलाई महोत्सव आइएफएफआईको मञ्चमा स्थान दिएको पाइयो र यस अवस्थामा निर्णायकका हैसियतले चलचित्रबारेको बुझाइ र टिप्पणी राख्नैपर्छ ।  

चलचित्रको दृश्य, ध्वनी, रंगलगायतका विधि (फर्म) कथावस्तु हो र जब कलाको कुरा आउँछ कथावस्तु नै विधि हो । चलचित्रको सौन्दर्य विधिले वैचारिक अर्थ राख्छ । कस्मिर फाइल्सको मामिलामा मसँग कति मानिस मरे वा पीडितको संख्या निर्धारण गर्ने कुनै उपाय वा उपकरण छैन । कतिलाई मृत्युदण्ड दिइयो भन्न सक्ने क्षमता मसँग छैन । फिल्ममा देखाइएका डरलाग्दो दृश्य भएकै होइनन् भनेर म भन्न सक्दिनँ । मेरो प्रश्न के चलचित्रमा देखाइएका बीभत्स दृश्यलाई छायामा उतार्न जरुरी थियो ? भन्ने हो ।

चलचित्रमा देखाइएका खराब चरित्रमा मानवीय गुण पनि देखाइएको छैन अर्थात् ती मान्छे नै होइनन् । निकृष्ट मानिसले पनि आफूलाई सही देखाउँछ । मेरा लागि यसैले जीवनमा द्वन्द्वात्मकता झल्काउँछ । तपाईंले यो चलचित्रमा द्वन्द्वात्मकता भेट्नुहुन्न । तपाईंले सजिलै एजेन्डा थाहा पाउनुहुन्छ र चलचित्रलाई अश्लील ढंगले निर्माण गरेको भेउ पाउनुहुन्छ । म प्रस्टै भन्छु, यदि तपाईं प्रोपगान्डा चलचित्र बनाउन चाहनुहुन्छ भने इमानदारीसाथ खुलेरै बनाउनुस् ।    

कलाले झटारो हानेर र्‍याखर्‍याख्ती पार्नुपर्छ, तर यो काम बुद्धिमत्तापूर्ण शैलीका साथ गर्न सक्नुपर्छ, मूर्खतापूर्ण अश्लीलताका माध्यमबाट होइन

केही सर्गेई आइजेन्स्टाइनको ‘ब्याटलसिप पोटेम्किन’लाई प्रोपगान्डा भन्छन् र पनि यो एक विशिष्ट चलचित्र हो । नाजी प्रोपगान्डा चलचित्रकर्मी लेनी रेफेन्स्टालले मानव इतिहासकै सबैभन्दा घटिया र नृशंस विचारमा रहेर चलचित्र बनाएकी थिइन् तर उनका चलचित्रको मोहित पार्ने दृश्य विधिलाई तपाईं अनदेखा गर्न सक्नुहुन्न । उनका फिल्म मानिसलाई हेरौँ हेरौँ भन्ने बनाउँथ्यो र आकर्षक हुन्थे ।  

वास्तवमा म आफूलाई प्रोपगान्डा भनेर चिनाउने प्रोपगान्डा चलचित्रप्रति कुनै विरोध छैन । जब एक कलाकार आफूलाई विचारधाराको सच्चा अनुयायी ठान्छ, उसले खुलेर आफ्नो विचारलाई प्रोत्साहन गर्ने गरी कलात्मक सिर्जना गर्छ । उल्लिखित कलाकारले जबजब क्यामेरा चलाए, उनले जादुमयी सिर्जना गरेका थिए । यही त कलाको जादु हो । यति भन्दै गर्दा म प्रोपगान्डा चलचित्रको सन्देश वा नैतिकताको कुरा गरिरहेको छैनँ म केवल सौन्दर्यशास्त्रको कुरा गर्दै छु । द कस्मिर फाइल्स चलचित्रजस्तो देखिन्छ वास्तवमा चलचित्र भने होइन । यो चलचित्र अश्लीलता र एक विशेष विचारधाराको सम्मिश्रण हो ।  

कस्मिरमा भएको हिंसाका पीडित वा शरणार्थी र परिवारले यो चलचित्र हेरेर के प्रतिक्रिया दिए भन्नेबारे म जानकार छैनँ । चलचित्रप्रति सबै किसिमका प्रतिक्रिया आएका छन् । यदि म कस्मिरमा भएको अत्याचारसँग जोडिन्थे भने म आफ्नो दुःख प्रस्तुत गर्न द कस्मिर फाइल्सजस्तो चलचित्र निर्माण गर्दिनथेँ । म योभन्दा गम्भीर काम गर्ने थिएँ ।  

कसैलाई चोट पु¥याउनु मेरो रुचि होइन, तर हिंसात्मक एवं अपमानजनक प्रतिक्रियालाई आलोचनात्मक चिन्तन र कलात्मक संकथनलाई मौन बनाउने अस्त्रका रूपमा बुझ्छु । हामी बालबालिका होइनौँ । म कलाले जहिल्यै मानिसलाई खुसी र आनन्दको अनुभूति गराउनुपर्छ भन्ने मान्यता राख्दिनँ ।

कलाले झटारो हान्नुपर्छ र र्‍याखर्‍याख्ती पार्नुपर्छ, तर यो काम बुद्धिमत्ता र शैलीका साथ गर्नुस् नकि मूर्खतापूर्ण अश्लीलताका माध्यमबाट । उसो त मेरा आफ्नै राजनीतिक विचार छन् । तर, म विपरीत विचारधाराबाट निर्मित चलचित्रका लागि उत्साहित हुन्छु । दक्षिणपन्थी वा वामपन्थी चलचित्र भनेर म चलचित्रलाई राजनीतिक पार्टीमा विभक्त गर्दिनँ, तर कलाकारलाई राज्यले पुल्पुल्याउनु स्वस्थकर हुन्छ भन्नेमा म विश्वास गर्दिनँ । तसर्थ, कलाकार राज्यसत्ताबाट टाढा हुनु वा राज्यसत्ताको आलोचक हुनुलाई तर्कसंगत ठान्छु । 

(इजरायली सिनेकर्मी एवं निर्देशक लपिड हालै इन्टरनेसनल फिल्म फेस्टिभल अफ इन्डिया (आइएफएफआई) फिल्म महोत्सवका निर्णायक थिए) द न्यु इन्डियन एक्सप्रेसबाट