१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
प्रेम गौतम काठमाडाैं
२०७९ मङ्सिर १९ सोमबार ०६:२७:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

निर्वाचनपछि सत्तागठबन्धनको पहिलो बैठक आज

Read Time : > 2 मिनेट
प्रेम गौतम, काठमाडाैं
२०७९ मङ्सिर १९ सोमबार ०६:२७:००

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनपछि सत्तारूढ गठबन्धनको पहिलो बैठक आज बस्दै छ । चुनावी समीक्षा र नयाँ सरकार निर्माणलगायतमा पावर सेयरिङबारे प्याकेजमा छलफल हुनेछ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मुख्यमन्त्री, मन्त्रीलगायतका पद प्याकेजमै टुंग्याउने तयारी गठबन्धन दलहरूको छ । बैठक अपराह्न ३ बजेका लागि तय भएको नेताहरूले बताएका छन् ।

माओवादी र एकीकृत समाजवादीले चुनावी नतिजा अपेक्षाकृत नभए पनि गठबन्धन सफल भएको प्रारम्भिक समीक्षा गरिसकेका छन् । उनीहरूले हालको गठबन्धनलाई नै पहिलो विकल्पका रूपमा प्राथमिकता दिने निर्णय पनि गरेका छन् । कांग्रेस र जनमोर्चाले भने चुनावी समीक्षा गर्न बाँकी छ ।

चुनावी समीक्षाका साथै आगामी रणनीतिबारे बैठकमा छलफल हुने कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । ‘सुरुमा चुनावी समीक्षा हुन्छ । त्यसपछि अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुन्छ,’ उनले भने, ‘सत्तारूढ गठबन्धन कायमै रहेर नयाँ सरकार बन्ने हाम्रो विश्वास छ ।’ 

चुनावको समीक्षा गर्न गठबन्धनको बैठक बोलाइएको माओवादीका महासचिव देव गुरुङले जानकारी दिए । ‘गठबन्धनको बैठकमा चुनावी समीक्षा हुन्छ,’ उनले भने, ‘गठबन्धनको समीक्षा र निष्कर्षका आधारमा कसरी अगाडि बढ्ने भन्ने टुंगो लाग्छ ।’ 

एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसालले गठबन्धनमा सोमबार छलफल प्रारम्भ हुने बताए । चुनावी समीक्षापछि मात्रैै पावर सेयरिङको विषयमा छलफल हुने उनको भनाइ छ । ‘भर्खर चुनावी समीक्षा प्रारम्भ हुँदै छ । अहिले नै यो या त्यो पद भन्ने छैन,’ उनले भने । 

प्रतिनिधिसभामा सत्तारूढ गठबन्धन बहुमतनजिक पुगेको छ । गठबन्धनबाट कांग्रेसले सबैभन्दा धेरै ५७ सिट जितेको छ । माओवादीले १७ सिट जितेको छ भने मतगणना जारी रहेको दोलखामा समाचार तयार पार्दासम्म अग्रता लिएको छ । एकीकृत समाजवादीले १०, लोसपाले चार र जनमोर्चाले एक सिट जितेका छन् । त्यस्तै, समानुपातिक मतभारअनुसार कांग्रेसले ३२ र माओवादीले १४ सिट पाउने देखिएको छ । 

प्रतिनिधिसभामा एक सिट जितेको सिके राउत नेतृत्वको जनमत पार्टी सत्तारूढ गठबन्धनमा सामेल हुन तयार देखिएको छ । राउतले निर्वाचनबाट कसैको पनि बहुमत नआएकाले सहकार्यको सम्भावना बढाएको बताए । नेताहरूसँगको छलफलको क्रममा राउतले कृषि र उद्योग मन्त्रालयमा दाबी गरेका छन् । 

नागरिक उन्मुक्ति पार्टी पनि सरकारमा जान सकारात्मक देखिएको छ । उन्मुक्ति पार्टीसँग एक स्वतन्त्रसहित तीन सांसद छन् । उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्ना माग पूरा भए सरकारमा सहभागी हुन सक्ने बताएकी छिन् । रेशम चौधरीको रिहाइलाई उक्त पार्टीले मुख्य माग बनाएको छ । सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूले चौधरीलाई जेलमै पुगेर भेटिसकेका छन् । 

चुनावमा एमालेसँग तालमेल गर्न पुगेको जसपाले पनि सहकार्य समाप्त भएको घोषणा गर्दै सत्तारूढ गठबन्धनमा पुनरागमन गर्ने संकेत गरेको छ । ‘चुनावसँगै एमालेसँगको सहकार्यको कोर्स सकिएको छ,’ जसपा अध्यक्ष उपेन्द्र यादवले विराटनगर विमानस्थलमा पत्रकारसँग आइतबार भने । अब बन्ने सरकारको नीति हेरेर समर्थन वा विपक्षमा बस्ने निर्णय गर्ने उनले स्पष्ट पारेका छन् । जसपाले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ सात सिट जितेको छ । जसपा र जनमत पार्टीले समानुपातिक मतभारअनुसार चार–चार सिट पाउने देखिएको छ । 
 
माओवादीको समीक्षा– अपेक्षाकृत परिणाम नआए पनि मूलभूत रूपमा गठबन्धन सफल
सत्तारूढ माओवादीले अपेक्षाकृत परिणाम नआए पनि मूलभूत रूपमा गठबन्धन सफल भएको निष्कर्ष निकालेको छ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा शनिबार र आइतबार बसेको पदाधिकारी बैठकले गठबन्धन मूलभूत रूपमा परिणामुखी भएको निष्कर्ष निकालेको माओवादी महासचिव देव गुरुङले जानकारी दिए । 

गुरुङले भने, ‘गठबन्धनको प्रक्रियाबाट नै निर्वाचनमा सहभागी भयौँ । अपेक्षाकृत परिणाम नआए पनि मूलभूत रूपमा गठबन्धन सफल भएको छ । मूलभूत रूपमा परिणाममुखी भएको छ । निर्वाचनमा थोरै तल–माथि परिहाल्छ । गठबन्धन सही भएको छ । यसलाई स्वीकार गरेरै अगाडि बढ्नुपर्छ ।’ गुरुङले गठबन्धनको विकल्प नसोचेकोसमेत बताए । ‘गठबन्धनको विकल्प सोचिएको छैन । सरकारको विषय र गठबन्धनको विकल्पबारे पनि हामी प्रवेश गरेका छैनौँ । हामी निर्वाचनको समीक्षामै केन्द्रित भयौँ,’ उनले भने ।

त्रिशंकु संसद् बनेकाले दलहरूबीचको सहमति र सहकार्यमा सरकार गठन हुने गुरुङले बताए । प्रधानमन्त्रीमा माओवादीको दाबी रहनु स्वाभाविक रहेको उनको भनाइ छ । उनले भने, ‘संविधान निर्माणदेखि अहिलेसम्मको स्थिति हेर्दा सरकारको नेतृत्वमा हाम्रो दाबी स्वाभाविक हुन्छ, त्यो दाबी रहन्छ नै,’ उनले भने, ‘तर अहिले एक्लै सरकार बन्ने अवस्था छैन, त्रिशंकु संसद् छ । यस्तोमा दलहरूको सहमति र समझदारीमा भर पर्छ ।’पार्टीका सीमा र कमी–कमजोरीलाई आगामी दिनमा सुधार गरेर अगाडि बढ्ने उनले बताए । चुनावको विस्तृत समीक्षा स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा गर्ने निर्णय बैठकले गरेको छ ।