१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १o:१६:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

अमेरिकामा नकारात्मक र क्रुद्ध बन्दै समाचार

समाचार शीर्षकका सटिक भावनात्मक अर्थलाई थप सूक्ष्म ढंगले हेर्दा हामीले डर र क्रोध जनाउने समाचार शीर्षक समयक्रममा लगभग दुई गुणाले बढेको पायौँ

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:१६:oo
  • डेभिड रोजाडो
  • रुथ ह्युजेस
  • ज्यामिन हेल्बरस्ट्याड 

कयौँ टिप्पणीकार हालैका वर्षमा सञ्चारमाध्यममा नकारात्मक विषयवस्तुलाई चाहिनेभन्दा बढी स्थान दिइएको तर्क गर्छन् । के यो सत्य हो ? यस प्रश्नको जवाफ वास्तवमा सहज छैन, किनभने यसका सञ्चारमाध्यममा आउने विषयवस्तुको तुलना गर्न सकिने मानकको आवश्यकता पर्छ । अर्को शब्दमा भन्ने हो भने नकारात्मक वा सकारात्मक मिडिया विषयवस्तु निर्धारण गर्नु चुनौतीपूर्ण छ ।  

बरु हामी समाचार सामग्रीको प्रवृत्ति (सकारात्मक वा नकारात्मक) र डर, क्रोध, खुसीजस्ता भावनात्मक अर्थ समयक्रमसँगै कसरी बदलिए भन्नेबारे निष्कर्ष निकाल्न सक्छौँ । यसले हामीलाई समाचार सामग्रीको सकारात्मकता, नकारात्मकता वा स्थिरताबारे जानकारी राख्न सघाउँछ ।

हामीले सन् २००० देखि २०१९ सम्म अमेरिकामा व्यापक रूपमा पढिएका ४७ समाचार संस्थाका दुई करोड ३० लाख प्रतिनिधि समाचार शीर्षकको प्रवृत्ति र भावनात्मक अर्थ पत्ता लगाउन विगत दुई वर्षदेखि अनुसन्धान गरिरहेका छौँ । शीर्षकको अत्यधिक संख्याका कारण हामीले मेसिन लर्निङ मोडेल प्रयोग गरेका छौँ, जसले मानिसले झैँ बुद्धिमतासाथ कार्यसम्पादन गर्छ । सो कार्यसम्पादनमा प्रवृत्ति र भावनात्मक अवस्थाको स्वचालित वर्गीकरण हुन्छ । 

हामीले सन् २००० देखि प्रमुख सञ्चारमाध्यममा शीर्षकको प्रवृत्तिगत अर्थ बढ्दो रूपमा नकारात्मक हुँदै गइरहेको पाएका छौँ । नतिजा ‘ब्राजिलमा भएको कारागार दंगामा नौको मृत्यु’जस्ता नकारात्मक शीर्षक बारम्बार देख्न पाइरहेका छौँ, जब कि ‘एक नयाँ लेन्सले दृष्टि फर्काएर राहत दिँदै छ’ जस्ता सकारात्मक अर्थ भएका समाचार शीर्षक घट्दै गएका छन् ।

हामीले सञ्चारमाध्यमलाई वैचारिक आस्थाका आधारमा विभाजन गरेका थियौँ । जहाँ दक्षिणपन्थी झुकाव भएका सञ्चारमाध्यमबाट आउने समाचारका शीर्षकलाई वाम झुकाव भएका सञ्चारमाध्यमका समाचारका शीर्षकसँग तुलना गरेका थियौँ । र, हामीले चाखलाग्दो नतिजा हासिल गरेका थियौँ, अर्थात् दक्षिणपन्थी सञ्चारमाध्यममा नकारात्मक सामग्री बढी भएको पाएका थियौँ ।

यद्यपि सन् २०१३ पछि वामपन्थी झुकाव राख्ने सञ्चारमाध्यममा प्रकाशित हुने समाचारमा पनि नकारात्मक शीर्षक तात्विक रूपमा बढेको पाएका छौँ । यी परिवर्तनलाई आंशिक रूपमा राजनीतिक चरमपन्थ अर्थात् उग्र–दक्षिणपन्थदेखि उग्र–वामपन्थ, त्यसैगरी नश्लवाद, लिंगभेद र समलिंगीद्वेषजस्ता पूर्वाग्रह जनाउने शब्दावलीलाई सञ्चारमाध्यममा भएको अत्यधिक प्रयोगले पुष्टि गर्छ । 

हामीले समाचार शीर्षकका सटिक भावनात्मक अर्थलाई जब थप सूक्ष्म ढंगले हेर्यौं, तब हामीले डर र क्रोध जनाउने समाचार शीर्षक समयक्रममा लगभग दुई गुणाले बढेको पायौँ । ‘विद्यालयमा गरिब बालबालिकालाई निःशुल्क खाना दिनु विवादित हुनुहुँदैन । यो कुरा रिपब्लिकन जनप्रतिनिधिलाई भनौँ’ वा ‘के स्विडेनमा बलात्कारको महामारी मुसलमान आप्रवासीको आगमनसँग जोडिएको छ ?’ जस्ता क्रोध र डरले भरिएका समाचार शीर्षक अत्यधिक चर्चित भइरहेका छन् । उदासी र घृणा पनि बढ्दो रूपमा शीर्षकमा प्रतिबिम्बित भएका छन्, यद्यपि क्रोध र डरले भरिएका समाचार शीर्षकजति छैनन् । ठीकविपरीत भावनात्मक रूपमा तटस्थ समचार शीर्षकको अनुपात घट्दै गएको छ ।

हामीले दक्षिणपन्थी झुकाव राख्ने सञ्चारमाध्यम र वामपन्थी झुकाव राख्ने सञ्चारमाध्यमका समाचार शीर्षकको तुलना गर्दा दक्षिणपन्थी झुकाव राख्ने सञ्चारमाध्यमका समाचारमा क्रोध जनाउने शीर्षक बढी प्रयोग भएको पाएका छाैँ । त्यसैगरी डर व्यक्त गर्ने शीर्षकको वृद्धि र भावनात्मक रूपमा तटस्थ समाचार शीर्षकको ह्रास सबै वैचारिक झुकाव भएका सञ्चारमाध्यममा मोटामोटी रूपमा एकरूपता पायौँ । 

यी निष्कर्षलाई कसरी व्याख्या गर्न सकिन्छ त ? हाम्रो तथ्यांकले प्रस्ट रूपमा सञ्चारमाध्यमका शीर्षकमा व्यक्त हुने नकारात्मकता, क्रोध, निराशा र डरको मात्रा समयसँगै बढ्दै गएको देखाएको छ । तर, यो किन भइरहेको छ ? के यी प्रवृत्ति र भावनाले अमेरिकाको बृहत् सामाजिक मनोवृत्ति झल्काउँछ वा केवल अमेरिकी समाचार कक्षको प्रतिनिधित्व गर्छ ?

सञ्चारमाध्यम उद्योगको आम्दानी घट्दा त्यसको प्रतिक्रियास्वरूप समाचार खपत बढाउने प्रवृत्तिले समाचार शीर्षकमा नकारात्मकता र भावनात्मकता बढेको हो भन्नेमा हामी विश्वास गर्छौं । त्यसबाहेक तथ्यमा आधारित वस्तुनिष्ठताका मापदण्डबाट टाढिँदै राजनीतिक एजेन्डा अगाडि बढाउनका लागि गरिने शीर्षक निर्माणले पनि भूमिका खेलेको हुन सक्छ । यस सन्दर्भमा दक्षिणपन्थी सञ्चारमाध्यमका नकारात्मक एवं क्रोध जनाउने समाचार शीर्षक उल्लेख गर्न योग्य छ । तथापि, यसका कारणबारे अनुमान मात्रै गर्न सकिन्छ ।

एउटा अनुमान दक्षिणपन्थी झुकाव भएका सञ्चारमाध्यमले वामपन्थी झुकाव भएका सञ्चारमाध्यमका तुलना गर्दा एउटै घटनालाई वर्णन गर्दा नकारात्मक भाषा प्रयोग गर्छन् भन्ने हुन सक्छ । केही लेखकले राजनीतिक रूपमा दक्षिणपन्थी झुकाव भएका सञ्चारमाध्यमले स्वभाव वा संवेदनशीलतामा नकारात्मक उत्तेजना र घटना जोड्ने गर्छन् भन्ने तर्क गर्छन् । आर्को ढंगले सोच्ने हो भने यो प्रवृत्ति दुवै राजनीतिक विचार बोक्ने सञ्चारमाध्यमका समाचार सामग्रीको छनोटले निर्माण भएको हुन सक्छ । यी सबै अनुमान सम्भावनाहरू मात्रै हुन् । यी प्रश्नका जवाफका लागि थप अनुसन्धान आवश्यक छ ।

तर एउटा कुरा निश्चित छ । यदि तपाईंले हालका दिनमा उपभोग भइरहेका समाचार थप निराशाजनक पाउन भएको छ भने तपाईं ठीक ठाउँमा हुनुहुन्छ । यति भन्दै गर्दा समाचारको निराशा तपाईंले समाचार कसरी पढ्नुहुन्छ भन्नेले देखाउँछ । समाचार सामग्रीको बढ्दो नकारात्मकताले पाठकका साथै लोकतान्त्रिक संस्था र प्रक्रियालाई कसरी असर गर्छ भन्नेबारे गहिरो अध्ययन गर्न आवश्यक छ । यो अभिभारा शोध–अनुसन्धानकर्ताले पूर्ति गर्नुपर्छ ।

(रोजाडो, रुथ, हेल्बरस्ट्याड सञ्चार एवं मनोविज्ञानका अध्येता हुन्) अल जजिराबाट
 

ad
ad