मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर १२ सोमबार १९:५३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मेलम्ची बाढीमा पुरिएको सहकारीले अझै पाएन राहत  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर १२ सोमबार १९:५३:००

वर्ष दिनअघि सिन्धुपाल्चोकको मेलम्चीमा आएको भीषण बाढीले क्षतिग्रस्त माझी गाउँ बहुउद्देश्यीय सहकारीले अझै  क्षतिपूर्ति पाउन सकेको छैन। 

मेलम्ची–१० स्थित सहकारीको सबै सम्पति १ असार ०७८ मा आएको भीषण बाढीले पुरेको थियो। मेलम्चीमा सहकारीको बंगुर तथा माछा फार्म थियो। दुवै फार्म बाढीले पूर्ण रूपमा क्षतिग्रस्त तुल्याएको थियो। 

सहकारीका अध्यक्ष  हिरालाल भुजेलले बाढीले सहकारीको एक सय १८ बंगुर र ती हजार चार सय ५२ माछा पुरेको बताए। उनका अनुसार बाढीले एक करोड सात लाख रुपैयाँ मूल्यबराबरको क्षति भएको थियो। तर, अझैसम्म सरकारबाट उनले क्षतिपूर्ति पाउन सकेका छैनन्। 

उनले भने, ‘सहकारीले सञ्चालन गरेको बंगुर र माछा फार्म थियो। बाढीले सबै पुरिदियो। एक करोड सात लाख रुपैयाँ मूल्यबराबरको धनमाल क्षति भयो। वर्ष दिन बित्यो। तर, सरकारबाट न राहत पाउन सकियो न क्षतिपूर्ति नै।’

भुजेलका अनुसार क्षतिपूर्ति पाउन नसक्दा लिएको कर्जासमेत चुक्ता गर्न सकिएको छैन। सहकारीले राष्ट्रिय सहकारी बैंकबाट १२ लाख र युवा स्वरोजगार कोषबाट १२ लाख रुपैयाँ ऋण लिएको थियो। भए जति सबै जेथा बाढीले पुर्दा कर्जा चुक्तामा समस्या आएको उनले बताए। 

सहकारी बाढीमा पुरिएपछि ऋणीले कर्जा चुक्ता नगरेको सहकारीको भनाइ छ। सहकारीमा चार सयभन्दा धेरै सदस्य थिए। संकलन भएको निक्षेप फिर्ता भइसकेको तर ऋण उठाउन समस्या भएको भुजेलले बताए।