मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर १० शनिबार ०६:१३:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

दोलखामा पुन: मतदान  गराउने आयोगको तयारी

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर १० शनिबार ०६:१३:००

निर्वाचन आयोगले दोलखामा पुनः मतदानको तयारी गरेको छ । पाँच मतदानस्थलमा ‘बुथ कब्जा’ गरेर धाँधली गरेको भन्दै एमालेसहितका दलले पुनः मतदानको माग गरेका थिए ।आयोगले ६ मंसिरमा सहसचिव यज्ञप्रसाद भट्टराईको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ टोली दोलखा पठाएर पुनः मतदान गर्नुपर्ने निष्कर्ष निकालेको छ । कति मतदानस्थलमा फेरि मतदान गराउने भन्ने जाँचबुझ टोलीले प्रतिवेदन बुझाएपछि तय हुने एक आयुक्तले जानकारी दिए । 

शुक्रबार काठमाडौं फर्किएको जाँचबुझ टोलीले प्रतिवेदन लेखनको काम थालिसकेको छ । ‘निर्वाचन अधिकृतबाटै वस्तुस्थितिसहित पुनः मतदान गर्नुपर्ने राय आएको छ । आयोगले स्थलगत रूपमा तथ्य–प्रमाण बुझेर आएको छ । तीन–चार ठाउँमा पुनः मतदान हुन सक्छ । प्रतिवेदन बुझाएपछि आयोगले निर्णय गर्छ,’ उनले भने । 

दोलखाका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले एउटा स्थलमा प्रतिनिधिसभाको मतपत्र प्राविधिक त्रुटिले प्रदेश सभाको मतपेटिकामा परेको र अर्काे स्थलमा बाक्सा फुटेको देखिएको भन्दै आयोगमा वस्तुस्थिति रिपोर्टिङ गरेका थिए । दलहरूबाट पुनः मतदानको माग भएपछि आयोगको निर्देशनमा मतगणना रोकिएको उनले बताएका थिए । 

एमालेले दोलखाको वैत्यश्वर माविको ६ मतदान केन्द्र, हेल्थपोस्ट तामाकोसीका तीन मतदान केन्द्र, वडा कार्यालय पीपलबोट वैत्यश्वरको एक मतदान केन्द्र, नवीन मावि शैलुङको तीन मतदान केन्द्र र जखे प्रावि मेलुङको चार मतदान केन्द्रमा पुनः मतदानको माग गरेको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दोलखाबाट जाँचबुझ टोली फर्किएको र प्रतिवेदन बुझाएपछि आवश्यक निर्णय हुने बताए । त्यसैबीच, आयोगले शुक्रबार मतगणनामा विवाद देखिएको स्याङ्जा २ र बाजुरामा सहसचिवको नेतृत्वमा जाँचबुझ टोली खटाएको छ । स्याङ्जामा सहसचिव फणीन्द्र गौतम र कानुन अधिकृत गोकुल भुजेल खटिएका छन् । बाजुरामा सहसचिव तुलसी श्रेष्ठ, उपसचिव सूर्यप्रसाद अर्याल र कानुन अधिकृत प्रकाश घिमिरे खटिएका छन् ।

स्याङ्जामा मतपेटिका संकलन भइसकेपछि धाँधली भयो भनेर एमालेलगायत दलले पुनःमतदानको माग गरेपछि निर्वाचन कार्यालयले वस्तुस्थितिसहितको रिपोर्ट आयोगमा पठाएको थियो । यहाँको चापाकोट नगरपालिका– ३ को दिसिङकोट आधारभूत विद्यालय, वडा नम्बर ४ को राम मन्दिर मावि, वडा नम्बर ५ को जनसक्रिय आधारभूत विद्यालय र सोही वडाको दिनदयाली आधारभूत माविको बुथ कब्जा भएको आरोप छ । 

यी ठाउँको थप वस्तुस्थिति बुझ्न आयोगले जाँचबुझ टोली खटाएको हो । टोलीले ल्याएको तथ्य–प्रमाणका आधारमा पुनः मतदान गर्ने वा गणना प्रारम्भ गर्ने निर्णय हुने प्रवक्ता पौडेलले बताए । 

बाजुरामा बुढीनन्दबाहेक धाँधली भएको भन्दै १६ ठाउँमा एमाले र आठ ठाउँमा कांग्रेसले पुनः मतदानको माग गरेको विषयमा जाँचबुझ गर्न आयोगले सहसचिव श्रेष्ठको नेतृत्वमा हेलिकोप्टरबाट टोली पठाएको छ । टोलीको प्रतिवेदनपछि यी स्थानमा पुनः मतदान वा गणनाको निर्णय हुनेछ ।

स्याङ्जा २ र बाजुराबाट आइतबारसम्म प्रतिवेदन आइपुग्ने र त्यसपछि निर्णय हुने एक आयुक्तले बताए । ‘आइतबारसम्म सबै रिपोर्ट आउँछ । मेरो सूचनामा स्याङ्जा २ र बाजुराका विवादित ठाउँमा पुनः मतदान हुँदैन । सोमबारदेखि गणना थालेर १५ गतेसम्म सकेर दललाई समानुपातिक सिटका लागि आह्वान हुन्छ । केन्द्रीय समितिबाट निर्णय गराएर तीन दिनभित्र रिपोर्ट बुझाउँछन्,’ उनले भने ।

बुढीनन्दामा आज मतदान 
बाजुराको मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतदान स्थगित भएको बुढीनन्दा नगरपालिका वडा नम्बर ५ मतदानस्थलमा शनिबार पुनः मतदान गराउँदै छ । मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले मतदानको सम्पूर्ण तयारी पूरा भएको बताए । ‘बिहीबार नै मतदान अधिकृत र सुरक्षाकर्मीको टोली पुगिसकेको छ । सर्वदलीय बैठकपछि सौहार्दपूर्ण वातावरण छ । सबैको सहयोग छ । शान्तिपूर्वक चुनाव सम्पन्न हुन्छ,’ उनले भने । 

मतदानका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका एसपी खटाइएको पौडेलले जानकारी दिए । ‘दुइटा एसपीसहित सुरक्षाकर्मीको नयाँ टोली गएको छ । बाहिर सुरक्षा घेरा राम्रो छ । भित्र कर्मचारीको टिम पनि फरक गएको छ । सबै तयारी चुस्त छ,’ उनले भने । 

यहाँ निर्वाचनका क्रममा भएको हिंसात्मक घटनाको अध्ययन गर्न राष्ट्रिय मानव अधिकार आयोगको टोली खटिएको छ । मतदानको दिन झडपमा परेर यहाँ दुईजनाको मृत्यु र एक प्रहरीसहित चारजना घाइते भएका थिए । उक्त घटनाबारे स्थलगत अनुसन्धान गर्न आयोगका उपसचिवको नेतृत्वमा केन्द्रीय कार्यालयका अधिकृत सम्मिलित टोली खटिएको आयोगका प्रवक्ता टीकाराम पोखरेलले जानकारी दिए ।