Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
कमलराज भट्ट काठमाडाैं
२०७९ मङ्सिर ८ बिहीबार ०५:४३:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

मतगणना विवाद : दोलखामा जाँचबुझ टोली, स्याङ्जा र बाजुराको रिपोर्ट आयोगमा

Read Time : > 2 मिनेट
कमलराज भट्ट, काठमाडाैं
२०७९ मङ्सिर ८ बिहीबार ०५:४३:००

हुम्लामा तेस्रो दिन बल्ल मतगणना सुरु

जिल्लाको दक्षिणी भेगबाट हेलिकोप्टरमा बुधबार सिमकोट विमानस्थलमा ल्याइएका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा लैजाने तयारी गरिँदै । निर्वाचन भएको तेस्रो दिन बल्ल हुम्लामा मतगणना सुरु भएको छ । दुर्गम र विकट स्थानमा रहेका मतदान केन्द्रबाट मतपेटिका ढुवानी गर्न समय लागेकाले बुधबार रातिबाट मतगणना सुरु भएको हो । तस्बिर : रासस

बुढीनन्दामा १० मंसिरमा पुनःमतदानको तयारी 

दोलखा, स्याङ्जा २ र बाजुराबाहेक सबै निर्वाचन क्षेत्रमा गतगणना प्रारम्भ भएको छ । कुल १६५ निर्वाचन क्षेत्रमध्ये बुधबार राति १२ बजेसम्म ४० भन्दा क्षेत्रको परिणाम पनि आइसकेको छ । मतदान स्थगित भएको तथा मतदान सम्पन्न भइसकेपछि विवाद उत्पन्न भएको दोलखा, स्याङ्जा २ र बाजुरामा अझै गणना सुरु हुन सकेको छैन । 

धाँधली भएको भनेर विवाद उत्पन्न भएको दोलखामा निर्वाचन आयोगले सहसचिव यज्ञप्रसाद भट्टराईको नेतृत्वमा जाँचबुझ टोली पठाएको छ । यहाँ एमालेले वैत्यश्वर माविको ६ मतदान केन्द्र, हेल्थपोस्ट तामाकोसीका तीन मतदान केन्द्र, वडा कार्यालय पीपलबोट वैत्यश्वरको एक मतदान केन्द्र, नवीन मावि शैलुङको तीन मतदान केन्द्र र जखे प्रावि मेलुङको चार मतदान केन्द्रमा बुथ कब्जा गरेर धाँधली गरेको दाबी गर्दै पुनः मतदानको माग गरेको छ ।

दोलखाका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले कैफियत देखिएको स्थलमा आयोगबाटै सूक्ष्म अध्ययन भइरहेको बताए । ‘एउटा स्थलमा प्रतिनिधिसभाको मतपत्र प्राविधिक त्रुटिले प्रदेश सभाको मतपेटिकामा परेको र अर्काे स्थलमा बाक्सा फुटेको देखिएकाले हामीले आयोगमा वस्तुस्थिति रिपोर्टिङ गरेका थियौँ । आयोगबाटै अध्ययन जारी छ । निर्णय नहुँदासम्म मतगणना अघि नबढाउनु भनेकाले रोकिएको छ । आयोगको निर्णयअनुसार अघि बढ्छौँ,’ उनले भने ।

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले दोलखाको वस्तुस्थिति बुझ्न आयोगबाट मंगलबार टोली खटाइएको बताए । टोली फर्किएपछि पुनः मतदान वा गणना प्रारम्भ गर्ने भन्ने निर्णय हुने उनको भनाइ छ । 

स्याङ्जा र बाजुराको रिपोर्ट आयोगमा
आयोगले स्याङ्जा २ र बाजुरामा भने मुख्य निर्वाचन अधिकृतलाई थप बुझेर यथार्थ विवरण पठाउन पत्राचार गरेको थियो । स्याङ्जा २ का निर्वाचन अधिकृत रामचन्द्र शर्मा र बाजुराका मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले क्षेत्रको वस्तुस्थिति आयोगमा पठाइसकेको जानकारी दिए । 

‘मतपेटिका संकलन भइसकेपछि धाँधली भयो भन्ने विषयमा हामीले आयोगमा वस्तुस्थितिसहितको रिपोर्ट पठाइसकेका छौँ । आयोगबाट आवश्यक छानबिन तथा निर्णय होला । निर्णयअनुसार अघि बढ्छौँ,’ स्याङ्जा २ का अधिकृत शर्माले भने । बाजुराका मुख्य निर्वाचन अधिकृत पौडेलले भने, ‘आयोगले सोधेको सम्बन्धमा जवाफ पठाइसकेका छौँ । विधि, प्रक्रियाअनुसार स्वतन्त्र र निष्पक्ष रूपमा भएन, बुथ कब्जा भयो भन्ने किसिमको उजुरीको हकमा अध्ययन भइरहेको छ ।’ 

यहाँ धाँधली भएको भन्दै १६ ठाउँमा एमाले र आठ ठाउँमा कांग्रेसले पुनः मतदानको माग गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्याङ्जा २ र बाजुराको जवाफ कानुन शाखामा आइसकेको र अध्ययन गरेर आयोगले आवश्यक निर्णय गर्ने बताए । 

बुढीनन्दामा शनिबार पुनः मतदान
बाजुराको मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतदान स्थगित भएको बुढीनन्दा नगरपालिका–५ मतदान स्थलमा पुनः मतदानको तयारी थालेको छ । आयोगले १० मंसिरभित्र पुनः मतदान गराउन निर्देशन दिएपछि तयारी थालिएको मुख्य निर्वाचन अधिकृत पौडेलले बताए । ‘मतपत्रसहित मतदान सामग्री तयार छ । कर्मचारी पनि तयारी अवस्थामा छन् । उहाँहरू मतदान केन्द्रमा समयमै पुग्नुहुन्छ । सर्वदलीय सहमति छ । शनिबार शान्तिपूर्ण मतदान हुन्छ,’ उनले भने । उनका अनुसार मतदानका लागि यहाँ सुरक्षा व्यवस्था कडा पारिएको छ । सर्वदलीय सहमतिपछि सुरक्षा अवस्था सामान्य हुँदै गएको छ । 

आठ दिनभित्रै गणना सकिने
विवादित तीन ठाउँबाहेक १६२ निर्वाचन क्षेत्रमा मतगणना सुरु भएसँगै आयोगले मतदानको आठ दिनभित्र गणना सम्पन्न हुने जानकारी दिएको छ । सहायक प्रवक्ता कमल भट्टराईले आयोगले घोषणा गरेको समयसीमाभित्रै गणना सकिने बताए । 

प्रमुख आयुक्त दिनेश थपलियाले मतदानको तीन दिनभित्र प्रत्यक्षतर्फ र त्यसको पाँच दिनमा समानुपातिक गरेर सबै गणना सकिने बताएका थिए । तर, प्रत्यक्ष र समानुपातिक मतपत्र बाँडिएपछि सँगसँगै गणना थालिएको थियो । विवादित तथा मतपरिणाम आएकोबाहेक १२० निर्वाचन क्षेत्रमा गणना जारी रहेको र आउँदो सोमबारसम्म सबै गणना सम्पन्न हुने सहायक प्रवक्ता भट्टराईको भनाइ छ ।