जिल्ला अस्पताल हुम्लाका कर्मचारी निर्वाचनमा खटिएपछि सेवा प्रभावित भएको छ। प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचनमा कर्मचारी खटिएपछि जिल्ला अस्पतालको आकस्मिकसहित एक्स–रे, ल्याब, फार्मेसीलगायतका सेवा प्रभावित भएका हुन्।
हात भाँचिएर एक्स–रे गराउन सिमकोट पुगेका खार्पुनाथ गाउँपालिका– ३ का भीम बुढा सेवा नपाएर विनाउपचार घर फर्किए। ‘एक्स–रे गर्न आएको, बन्द छ भन्छन्। अब यत्तिकै फर्कनुपर्ने भयो,’ उनले नयाँ पत्रिकासँग भने । अस्पतालको पारामेडिक नर्सिङ र रेडियोग्राफी सेवाबाट समेत सेवाग्राही वञ्चित भएका छन्। एक्स–रे सेवाका दुवै कर्मचारी निर्वाचनमा खटिएका छन्।
सिमकोट गाउँपालिका– ५ का बिजु रोकाया पिसाब रोकिएपछि जिल्ला अस्पताल पुगेका थिए। पारामेडिक्सका सातैजना कर्मचारी निर्वाचनमा खटिएपछि उनी पनि यताउता भौँतारिएर घर फर्किए। सात नर्सिङ स्टाफ निर्वाचनमा खटिएपछि दुईजनाले इमर्जेन्सी सेवा थेगेका छन्। यता ल्याबका सातमध्ये ६ कर्मचारीलाई निर्वाचनमा खटाइएको छ।
अस्पतालका एक डाक्टर रोशन रावत निर्वाचन अधिकृत भएर खटिए पनि अन्य पाँचजना अस्पातलमै छन्। यद्यपि, अन्य विभाग र सेवाका कर्मचारी नहुँदा सेवाग्राही मर्कामा परेका छन्।
आफूखुसी कर्मचारी खटाएको भन्दै निर्वाचन कार्यालयलाई पत्राचार
जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका निमित्त जनस्वास्थ्य अधिकृत प्रेमबहादुर सिंहले स्वास्थ्य कार्यालयलाई जानकारी नदिई आफूखुसी कर्मचारी खटाएको भन्दै मुख्य निर्वाचन अधिकृत कार्यालयलाई पत्राचार गरेको छ। जनस्वास्थ्यका निमित्त कार्यालय प्रमुख मनकृष्ण जैसीले ६० प्रतिशत कर्मचारी बस्नुपर्ने भए पनि अस्पताल नै खाली हुने गरी कर्मचारी निर्वाचनमा खटाइएपछि समस्या भएको बताए।