मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
जिल्ला ब्युरो नयाँ पत्रिका
२०७९ मङ्सिर १ बिहीबार ०८:१४:००
Read Time : > 6 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मधेसका ३२ सिटमा स्थानीय निर्वाचनले गरेको संकेत : २६ क्षेत्रमा सत्तागठबन्धन, पाँचमा एमाले र एकमा स्वतन्त्र बलियो

Read Time : > 6 मिनेट
जिल्ला ब्युरो, नयाँ पत्रिका
२०७९ मङ्सिर १ बिहीबार ०८:१४:००

मधेसका आठ जिल्लामा प्रतिनिधिसभाका ३२ सिट यसकारण महत्वपूर्ण छन् कि जसले दलहरूलाई सिंहदरबारको सिंहासन प्राप्ति गर्न अर्थपूर्ण भूमिका खेल्छ । सोही कारण मधेसमाथि प्रमुख दलको चासो र नजर बढी छ । मधेस प्रदेशमा स्थानीय तहको अंकगणितले सत्तागठबन्धन २६ सिटमा अगाडि देखाएको छ । बाँकी ६ सिटमध्ये एमाले पाँच र एकमा सत्तागठबन्धनको साथ पाएर स्वतन्त्र उम्मेदवार बलिया देखिएका छन् । स्थानीय तहमा वडाध्यक्षले पाएको मतका आधारमा सत्तागठबन्धन पर्सा ३ र ४, बारा १, ३ र ४, रौतहट १, २ र ४, सर्लाही १, २, ३ र ४, महोत्तरी १, २, ३ र ४, धनुषा १, २, ३ र ४ सिराहा २ र ४, सप्तरी १, २, ३ र ४ मा अगाडि छ । एमाले–जसपा गठबन्धन पर्सा १ र २, बारा २, सिराहा १ र ३ मा अगाडि छ । मधेसका ६ निर्वाचन क्षेत्रमा भने झिनो मतान्तर देखिन्छ । 

पर्साका दुई क्षेत्रमा कांग्रेस–एमाले आमनेसामने
पर्सामा चार प्रतिनिधिसभा र आठ प्रदेश सभा क्षेत्र छन् । सत्तागठबन्धन दल कांग्रेस, माओवादी, एकीकृत समाजवादी र लोसपाको गठबन्धन एकातिर छ भने अर्कोतिर एमाले र जसपाको गठबन्धन छ । पर्सा १ मा लोसपाका लक्ष्मणलाल कर्ण र जसपाका प्रदीप यादव उम्मेदवार छन् । कांग्रेस पर्साका पूर्वसभापति अजय द्विवेदी स्वतन्त्र उम्मेदवार छन् । स्थानीय निर्वाचनमा जसपाले १५ हजार ६७६ र एमालेले १३ हजार २३३ मत प्राप्त गरेका छन् । कांग्रेसले १२ हजार ९९३ मत, माओवादीले तीन हजार ३७४ र लोसपाले दुई हजार ८६, एकीकृत समाजवादीले एक हजार ६ सय मत पाएका छन् ।  पर्सा २ मा कांग्रेसका अजयकुमार चौरसिया र जसपाका सुरेन्द्र कुर्मी प्रतिनिधिसभामा उम्मेदवार छन् । स्थानीय निर्वाचनमा जसपाले मत १५ हजार १३२, एमालेले १६ हजार ७९१, कांग्रेसले २० हजार २१६, लोसपाले २३ सय, एकीकृत समाजवादीले दुई हजार ९२, माओवादीले एक हजार नौ सय मत पाएका छन् । 

पर्सा ३ मा कांग्रेसका सुरेन्द्र चौधरी, एमालेका राजकुमार गुप्ता र नेपाल सुशासन पार्टीबाट राजकुमार यादव प्रतिस्पर्धामा छन् । स्थानीय निर्वाचनमा जसपाले १० हजार ७८७, एमालेले २० हजार ६३, कांग्रेसले २४ हजार ११९, लोसपाले दुई हजार ८८७, एकीकृत समाजवादीले १४६०, माओवादीले दुई हजार ७०० र नेपाल सुशासन पार्टीले तीन हजार ५४९ मत पाएका छन् । पर्सा ४ मा कांग्रेसका रमेश रिजाल र एमालेका जालिम मियाँ उम्मेदवार छन् । स्थानीय निर्वाचनमा कांग्रेसले २३ हजार ९१, माओवादीले ५८९६, लोसपाले २१२३, एकीकृत समाजवादीले १३२६, नेपाल सुशासन पार्टीले एक हजार ३२२, जसपाले १३ हजार ६२७ र एमालेले १८ हजार ११८ मत पाएका छन् । 

बारा: तीन क्षेत्रमा सत्तागठबन्धन बलियो
बारा १ मा कांग्रेसका उमाकान्त चौधरी र एमालेका अच्युत मैनाली प्रतिस्पर्धामा छन् । स्थानीय निर्वाचनमा कांग्रेसले ३२ हजार ४८०, एमालेले २५ हजार ३२, लोसपाले नौ हजार ४१०, माओवादीले ६३१३, जसपाले ६१४३ र एकीकृत समाजवादीले १८३७ मत ल्याएका थिए । बारा २ मा जसपाका रामसहायप्रसाद यादव र माओवादीका शिवचन्द्रप्रसाद कुसवाह प्रतिस्पर्धामा छन् । स्थानीय निर्वाचनको परिणामअनुसार सत्तागठबन्धनले २६ हजार नौ सय ६६ र एमाले–जसपा गठबन्धनले ३६ हजार २३५ मत पाएका छन् । बारा ३ मा लोसपाका लालबाबु सिंह भुइँहार, एमालेबाट ज्वालाकुमारी साह र जसपाबाट रामबाबुकुमार यादव प्रतिस्पर्धामा छन्  । स्थानीय निर्वाचनमा सत्तागठबन्धनले २८ हजार ४४२, एमालेले २३ हजार ४९७ र जसपाले १० हजार ५४० मत प्राप्त गरेका थिए । बारा ४ मा एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ (किसान) र एमालेका एकवाल मियाँ प्रतिस्पर्धामा छन् । स्थानीय निर्वाचनको परिणामअनुसार सत्तागठबन्धनको ५१ हजार २५९, एमाले–जसपा गठबन्धनको ३२ हजार ३१५ मत छ ।

रौतहटका चारै क्षेत्रमा सत्तागठबन्धन अगाडि
रौतहट १ मा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बलियो अवस्थामा छन् । स्थानीय निर्वाचनमा एकीकृत समाजवादीले १९ हजार ६९८, कांग्रेसले १६ हजार ९२८, लोसपाले १२ हजार ६२, जसपाले आठ हजार २४१, माओवादीले आठ हजार १९१ र एमालेले सात हजार ३८५ मत पाएका थिए । रौतहट २ मा कांग्रेसका फिरदोष आलम, जसपाका शैलेन्द्र साह र स्वतन्त्र उम्मेदवार किरण साह प्रतिस्पर्धामा छन् । स्थानीय निर्वाचनमा कांग्रेसले १९ हजार ९१४, माओवादीले पाँच हजार ३२, लोसपाले ११ हजार २८२, एमालेले १४ हजार ३०७ तथा जसपाले करिब पाँच हजार मत, एकीकृत समाजवादीले सात हजार ७३८ मत पाएका थिए । 

रोतहट ३ मा स्वतन्त्र उम्मेदवार प्रभु साह, ओमप्रकाश जयसवाल र माओवादीका धीरज पटेल चुनावी प्रतिस्पर्धामा छन् । एमाले र जसपा भने उम्मेदवारविहीन छन् । स्थानीय निर्वाचन परिणामअनुसार एमालेले १७ हजार ६००, जसपाले ११ हजार ६५२, कांग्रेसले ११ हजार ४४६, माओवादीले आठ हजार ७९७ र एकीकृत समाजवादीले नौ हजार ४४९ मत ल्याएका थिए । रौतहट ४ मा कांग्रेसका देवप्रसाद तिमल्सिना, एमालेका उद्धव रेग्मी र स्वतन्त्र उम्मेदवार अजयकुमार साह प्रतिस्पर्धामा छन् । साह कांग्रेस पृष्ठभूमिका हुन् । स्थानीय निर्वाचनमा कांग्रेसले २४ हजार ९४२, एकीकृत समाजवादीले १५ हजार ६ सय २४, माओवादीले १३ हजार ६ सय ८३ मत पाएका छन् । एमालेले १४ हजार ७३८, लोसपाले १३ हजार ४२४, जसपाले २१ सय पाएका थिए । 

सर्लाहीका तीनै क्षेत्रमा सत्तागठबन्धनको शक्ति 
सर्लाही १ मा लोसपाका रामप्रकाश चौधरी र जसपाका प्रमोद साह प्रतिस्पर्धामा छन् । स्थानीय निर्वाचनको यो क्षेत्रमा कांग्रेसले २५ हजार ५३८, एमालेले १७ हजार २८५, माओवादीले १२ हजार ६०९, लोसपाले सात हजार ५७९, जसपाले पाँच हजार ४०३ र एकीकृत समाजवादीले ५ हजार २५० मत पाएका थिए । 

सर्लाही २ मा नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव, लोसपाका राजेन्द्र महतो र एमालेका राजनारायण साह प्रतिस्पर्धामा छन् । स्थानीय निर्वाचनको परिणामअनुसार कांग्रेसले २४ हजार ६२०, माओवादीले सात हजार ७३७, जसपाले १९ हजार ६३२, लोसपाले १२ हजार २६३, एमालेले सात हजार ६७९ र एकीकृत समाजवादीले दुई हजार २२१ मत पाएका थिए ।

सर्लाही ३ मा माओवादीका नरेन्द्र साह कलवार र एमालेका हरिप्रसाद उप्रेतीबीच प्रतिस्पर्धा देखिएको छ । स्थानीय निर्वाचनमा एमालेले २२ हजार ५४७, कांग्रेसले २२ हजार ३७९, माओवादीले २० हजार ६१५, जसपाले १२ हजार ३५१, लोसपाले ११ सय १४ र एकीकृत समाजवादीले ३८५४ मत प्राप्त गरेका थिए । सर्लाही ४ मा सत्तागठबन्धन तथा विपक्षी गठबन्धनलाई बागी उम्मेदवारले टक्कर दिएका छन् । कांग्रेसका निवर्तमान जिल्ला सभापति नागेन्द्रकुमार राय, जसपाका राकेश मिश्र  र स्वतन्त्र उम्मेदवारका रूपमा कांग्रेस पूर्वनेता डा. अमरेशकुमार सिंह र मधुुमाला रायले उम्मेदवारी दिएका छन् । स्थानीय चुनावको मतपरिणामअनुसार कांग्रेसले २३ हजार ११३, माओवादीले १८ हजार ६१५, एमालेले १५ हजार २७४, लोसपाले १५ हजार १२५, जसपाले ६४४० मत प्राप्त गरेको तथ्यांक छ । 

महोत्तरीमा पनि सत्तागठबन्धन बलियो 
महोत्तरी १ मा माओवादी नेता गिरिराजमणि पोखरेल र एमालेका लक्ष्मी महतो मुख्य प्रतिस्पर्धी छन् । स्वतन्त्र उम्मेदवार पोषण थापा पनि चुनावी प्रतिस्पर्धामा छन् । स्थानीय निर्वाचनको मत परिणामअनुसार एमालेको सात हजार ८९७, माओवादी १५ हजार ८८८, कांग्रेस १३ हजार १२९, लोसपा पाँच हजार ८८४, जसपा सात हजार ९९७, एकीकृत समाजवादी एक हजार ५०७, जनमत दुई हजार २१ मत छ । महोत्तरी २ मा लोसपा नेता शरत्सिंह भण्डारी र एमालेका डा. रामपरीक्षण यादव प्रतिस्पर्धामा छन् । स्थानीय निर्वाचनमा लोसपाले १७ हजार ५७७, कांग्रेस १६ हजार ९३८, जसपा आठ हजार ५३२, एमाले ७०५७, माओवादी ६४९९, एकीकृत समाजवादी ११९६ मत पाएका थिए । 

महोत्तरी ३ मा लोसपा अध्यक्ष महन्थ ठाकुर र जसपाका हरिनारायण यादवले प्रतिस्पर्धा गर्दै छन् । स्थानीय निर्वाचनमा जसपाले १५ हजार ८०, लोसपाले १३ हजार ३०५, एमालेले १० हजार ८२०, कांग्रेसले नौ हजार ३१३, माओवादीले पाँच हजार १९५, एकीकृत समाजवादीले दुई हजार ५७०, जनमतले दुई हजार ७९१, तमलोपाले ७९५ मत पाएका थिए ।  महोत्तरी ४ मा जसपा नेता डा. सुरेन्द्र यादव र कांग्रेस नेता महेन्द्र रायबीच चुनावी प्रतिस्पर्धा हुँदै छ । स्थानीय निर्वाचनमा कांग्रेसले १७ हजार ७१८, लोसपाले ११ हजार १३८, एमालेले १० हजार ३९६, माओवादीले सात हजार ७२२, जसपाले नौ हजार ६९९, जनमत पार्टीले ३८२१ मत पाएका थिए । 

धनुषामा दुई गठबन्धनबीच प्रतिस्पर्धा 
धनुषा १ मा माओवादीका मातृका यादव र जसपाका दीपक कार्की मुख्य प्रतिस्पर्धी हुन् । जनमत पार्टीका उम्मेदवार किशोरी साह र राप्रपाका उम्मेदवार मनोज मल्ल पनि प्रतिस्पर्धामा छन् । स्थानीय निर्वाचनमा कांग्रेसले १७ हजार ५५०, एमालेले १५ हजार ८१७, माओवादीले १२ हजार २९२ र जसपाले नौ हजार १०, लोसपाले ६ हजार ६२४, राप्रपाले चार हजार ९३०, जनमत पार्टीले तीन हजार ३२०, एकीकृत समाजवादीले २ हजार ९३७ मत पाएका थिए । 

धनुषा २ मा कांग्रेसका रामकृष्ण यादव, एकीकृत समाजवादीबाट रामचन्द्र झा, एमालेबाट उमाशंकर अरगरिया र जसपाका गंगाराम यादव प्रतिस्पर्धामा छन् । स्थानीय निर्वाचनमा कांग्रेसले २१ हजार २३२, जसपाले १३ हजार ८८९, एमालेले ११ हजार ५८३, माओवादीले १० हजार ७९४, एकीकृत समाजवादीले ८९९७ र लोसपाले ६७१३ मत पाएका थिए । 

धनुषा ३ मा लोसपाका अनिल झा र एमालेकी जुलीकुमारी महतो प्रतिस्पर्धामा छन् । स्थानीय निर्वाचनमा कांग्रेसले २२ हजार ४२९, एमालेले १६ हजार १६, जसपाले ८२२४ र लोसपाले ११६३ मत प्राप्त गरेका थिए । एकीकृत समाजवादीले ३ हजार ७१३ र  माओवादीले ६५६ मत प्राप्त गरेका थिए । धनुषा ४ मा कांग्रेसका महेन्द्र यादव, एमालेका रघुवीर महासेठ र जसपाका महाजन यादवबीच प्रतिस्पर्धा हुँदै छ । स्थानीय निर्वाचनमा कांग्रेसले २९ हजार १०९, एमालेले २७ हजार ७६०, जसपाले ८७७७, लोसपाले २१४०, माओवादीले ५७५४ र एकीकृत समाजवादीले ९३३५ मत पाएका थिए ।

सिराहामा एमाले–जसपा गठबन्धन बलियो
सिराहा १ मा कांग्रेसका पद्मनारायण चौधरी र एमालेका रामशंकर यादवबीच प्रतिस्पर्धा हुँदै छ । स्थानीय निर्वाचनमा सत्तागठबन्धनले ३३ हजार ९४९ र एमाले–जसपा गठबन्धनले ३५ हजार ८१ मत ल्याएका थिए । सिराहा २ मा जसपाका राजकिशोर यादव र कांग्रेस नेतृ चित्रलेखा यादवबीच  प्रतिस्पर्धा हुँदै छ । स्थानीय निर्वाचनमा सत्तागठबन्धनले ३३ हजार ८९५ र एमाले–जसपा गठबन्धनले ३२ हजार ३४८ मत पाएका छन् । जनमत पार्टीको चार हजार ९६६ मत छ । सिराहा ३ मा माओवादीका विश्वनाथ साह र एमालेका लीलानाथ श्रेष्ठबीच प्रतिस्पर्धा छ । स्थानीय निर्वाचनमा एमाले–जसपा गठबन्धनले ३६ हजार १७५ र सत्तागठबन्धनले ३४ हजार ३९ मत पाएका थिए । जनमत पार्टीले एक हजार ५७७ मत प्राप्त गरेको थियो ।  सिराहा ४ मा जसपाका डा. वीरेन्द्रप्रसाद महतो र एकीकृत समाजवादीका धर्मनाथ साहबीच मुख्य प्रतिस्पर्धा छ । स्थानीय निर्वाचनमा सत्तागठबन्धनले २८ हजार २८९ र एमाले–जसपा गठबन्धनले २८ हजार २८५ मत पाएका छन् । 

सप्तरीमा सत्तागठबन्धन अगाडि
सप्तरीमा पनि सत्तागठबन्धन र एमाले–जसपा गठबन्धन छ ।  सप्तरी १ मा जसपाका नवलकिशोर साह र कांग्रेसका रामदेव साह चुनावी मैदानमा छन् । माओवादीका अशोककुमार मण्डलले स्वतन्त्र उम्मेदवारी दिएका छन् । स्थानीय निर्वाचनमा जसपाले १६ हजार २००, एमालेले १६ हजार ८००, कांग्रेसले ३१ हजार, माओवादीले सात हजार ५९९, लोसपाले एक हजार ६४६, एकीकृत समाजवादीले ७४२ मत पाएका छन् । जनमत पार्टीले ११ हजार मत पाएको छ । 

सप्तरी २ मा जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपाका जयप्रकाश ठाकुर र जनमत पार्टीका अध्यक्ष डा‍. सिके राउतबीच प्रतिस्पर्धा छ । स्थानीय निर्वाचनको मतअनुसार ठाकुर यादवभन्दा अगाडि देखिन्छन् । स्थानीय चुनावमा मत धेरै नपाए पनि जनमत पार्टीका राउतले बलियो दाबेदारी प्रस्तुत गरेका छन् । स्थानीय निर्वाचनमा कांग्रेसले १० हजार ८०७, लोसपाले १० हजार २५४, माओवादीले नौ हजार ५३१ र एकीकृत समाजवादीले दुई हजार ४०८ मत पाएका छन् । जनमत पार्टीले चार हजार ५४४ मत पाएको छ । जसपाले १४ हजार ४०३ र एमालेले पाँच हजार ९५१ मत पाएका छन् । 

सप्तरी ३ मा एमालेका ताराकान्त चौधरी र कांग्रेसका दिनेशकुमार यादवबीच मुख्य प्रतिस्पर्धा छ । स्थानीय निर्वाचनमा जसपाले १९ हजार ४५८, एमालेले १४ हजार १५९, कांग्रेसले १८ हजार ३२३, लोसपाले ७७४८, माओवादीले ४७५१, एकीकृत समाजवादीले पाँच हजार २२६ मत पाएका छन् । सप्तरी ४ मा कांग्रेसका तेजुलाल चौधरी र जसपाका बालकिशोर यादवबीच प्रतिस्पर्धा हुँदै छ ।  स्थानीय निर्वाचनमा जसपाले १५ हजार ६८२ र एमालेले १० हजार ४४ मत पाएका छन् । कांग्रेसले १६ हजार ९७५, लोसपाले तीन हजार ८४८, माओवादीले ६ हजार ९२०, एकीकृत समाजवादीले आठ हजार ४५० मत पाएका छन् ।  

वीरगन्जमा तिवारी यादव,  बारामा वसन्त खतिवडा, लहानमा सुरेन्द्रकुमार कामती र मणिलाल विश्वकर्मा, सर्लाहीमा श्रवण थापा, जनकपुरधाममा हदिश खुद्दार, रौतहटमा अशोक पहाडी, महोत्तरीमा रञ्जन भण्डारी र राजविराजमा सौरभ यादवको रिपोर्ट