०७४ को निर्वाचनमा प्रदेशतर्फ उम्मेदवार रहेका प्रमुख दलका नेताहरू सिन्धुलीमा यसपटक संघीय संसद्का लागि प्रतिस्पर्धामा छन् । साना दल र स्वतन्त्रको प्रभाव न्यून भएकाले जिल्लामा गठबन्धन र एमालेका उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।
सिन्धुलीको क्षेत्र नम्बर १ एमालेका उम्मेदवार प्रदीपकुमार कटवाल र गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार बनेको श्यामप्रसाद घिमिरेबीच टक्कर छ ।
उनीहरू दोस्रोपटक आमनेसामने हुन लागेका हुन् । ०७४ मा भएको प्रदेश सभा निर्वाचनमा सिन्धुली क्षेत्र नम्बर १ (ख) बाट उनीहरू प्रतिस्पर्धामा थिए । सो निर्वाचनमा कटवालले करिब साढे चार हजार मतान्तरले घिमिरेलाई पराजित गरेका थिए ।
त्यतिवेला वाम गठबन्धन थियो । यसपटक वाम–लोकतान्त्रिक गठबन्धनको सहयोगमा प्रदेशको हारको बदला लिने घिमिरेको दाउ छ भने कटवाल संघमा पनि आफ्नो विजयको विराजत राख्ने कसरतमा छन् ।
सिन्धुली क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार लेखनाथ दाहाल (राजन) र मनोजजंग थापा पहिलोपटक निर्वाचनमा आमनेसामने हुन लागेका हुन् । नेकपा माओवादी केन्द्रका नेता दाहाल गठबन्धनका साझा उम्मेदवार हुन् भने थापा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका हुन् ।
दाहाल ०७४ सालमा सिन्धुली क्षेत्र नम्बर १ (क) बाट प्रदेश सभा निर्वाचनमा विजयी भएका थिए । थापाको निर्वाचनमा भने पहिलो अनुभव हो । थापा सिन्धुली सदरमुकामनिवासी हुन् भने दाहाल जिल्लाको सुनकोसी गाउँपालिकानिवासी हुन् । थापा एमाले बुद्धिजीवी परिषद्का इन्चार्ज हुन् भने दाहाल माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हुन् ।
गठबन्धनलाई स्थानीय निर्वाचनको भरोसा
गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा जिल्लाका दलहरूले पाएको मतलाई आधार मान्ने हो भने सिन्धुलीमा सत्तागठबन्धनको पल्ला भारी हुने देखिन्छ । जिल्लाको दुईवटा प्रतिनिधिसभा निर्वाचन र चारवटा प्रदेश सभा निर्वाचन रहेकोमा सबै क्षेत्रमा सत्तागठबन्धन दलहरूको मत धेरै देखिन्छ ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा गठबन्धन दलका प्रमुखहरूले ३२ हजार तीन सय २८ प्राप्त गरेका छन् भने एमालेका उम्मेदवारहरूले ३० हजार पाँच मत प्राप्त गरे ।
गठबन्धनका वडाध्यक्षहरूले ४१ हजार सात सय ८३ पाउँदा एमालेका वडाध्यक्ष उम्मेदवारहरूले २८ हजार ६ सय २० मत पाएका थिए । स्थानीय तहमा गठबन्धनको पक्षमा करिब १३ हजार मत धेरै आएकाले उनीहरू ढुक्क देखिन्छन् । तर, एमालेका उम्मेदवार भने संसदीय निर्वाचनमा स्थानीय तहमा भन्दा फरक शैलीमा मत आउने दाबी गरिरहेका छन् ।
यस निर्वाचन क्षेत्रअन्तर्गत प्रदेश (क) मा वडाध्यक्षहरूले प्राप्त गरेको मतअनुसार गठबन्धन दलको मत २१ हजार सात सय ९० मत देखिन्छ भने एमालेको मत १३ हजार पाँच सय छ । यसै निर्वाचन क्षेत्रअन्तर्गत प्रदेश (ख) अन्तर्गत गठबन्धन दलका वडाध्यक्षहरूले १९ हजार नाै सय ९३ मत पाउँदा एमालेका वडाध्यक्षका उम्मेदवारकाे १५ हजार एक सय २० मत देखिन्छ ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धन दलका पालिका अध्यक्षहरूले ३१ हजार पाँच सय ८७ मत पाउँदा एमालेका उमेदवारहरूले २७ हजार चार सय ३३ मत प्राप्त गरे । यो क्षेत्रमा वडागत रूपमा हेर्दा एमालेको भन्दा गठबन्धन दलको मत दोब्बर छ । यस क्षेत्रमा गठबन्धन दलका वडाध्यक्षहरूले ३६ हजार नाै सय ४६ मत प्राप्त गरेकाे देखिन्छ भने एमालेका वडाध्यक्षहरूले १८ हजार ९६ मत प्राप्त गरेका छन् ।
यस क्षेत्रका प्रदेश सभा (क) अन्तर्गत गठबन्धन दलका वडाध्यक्षहरूले १८ हजार आठ सय ५० मत पाएका छन् भने एमालेका वडाध्यक्षका उम्मेदवारले १४ हजार दुई सय २० मत पाएका छन् । यसै क्षेत्रको प्रदेश सभा (ख) मा पनि गठबन्धन दलका वडा अध्यक्षका उम्मेदवारहरूले १८ हजार ९६ मत पाएकाे देखिन्छ भने एमालेका वडाध्यक्षका उम्मेदवारले ६ हजार आठ सय १० मत प्राप्त गरेका छन् ।
लेखनाथ दाहाल
मेरो व्यक्तिगत कुनै एजेन्डा छैन, अहिले घरदैलो गर्ने क्रममा जनताले बाटो, बिजुली,पानी, रोजगारी, कृषि अनुदान,स्वास्थ्य, शिक्षा नै जनताको माग रहेको छ । त्यो नै मेरो एजेन्डा हो । नियमित जनताको सेवा र गत स्थानीय निर्वाचनमा माओवादी केन्द्रका उमेदवारहरूले जितेका वडाहरू मात्रको संख्या पनि ३० वटा रहेकाले जित्ने आधार हाेइन, मेरो त प्रतिस्पर्धी नै छैन भन्ने लागेको छ । मेरो निर्वाचन क्षेत्रमा माओवादी केन्द्र आफैँमा बलियो उपस्थिति भएको क्षेत्र हो त्यसमा पनि गठबन्धन छ, यसमा प्रतिस्पर्धा हाेइन कति मत अन्तरमा जित्ने भन्ने मात्र हो ।
प्रदीप कटवाल
विकासको भारी जति बोकाए पनि बोक्न सक्ने, पार्टीको भारी जति बोकाए पनि बोक्न सक्ने, पार्टीमा कहिले पनि तलबितल नगरीकन निरन्तर काममा लागेको मान्छे र फेरि विकास गर्न सक्ने सामर्थ्य राखेको मान्छे हो प्रदीप कटवाल । हरेक क्षेत्रमा मेरो सहभागिता छ । बाटाे, बिजुली, स्कुल, कलेज, स्वास्थ्य, सञ्चार, सुरक्षालगायत सबै कुरामा मेरो सहभागिता रहँदै आएको छ । मलाई त अझ विकासे मान्छे भन्छन् यहाँका जनताले ।
युवाहरू जो विदेश गइरहेका छन्, त्यसलाई रोक्नुपर्छ र स्थानीय ठाउँमै रोजगारी दिनुपर्छ भन्ने मान्छे हुँ म । त्यसको लागि लागिपरेको मान्छे पनि हुँ म । त्यसकारणले सिन्धुली क्षेत्र नम्बर १ का जनताले मलाई रुचाउँछन् र भोट दिन्छन् । म निर्वाचनको समयमा मात्र आएको मान्छे हाेइन । मसँग जो निर्वाचनमा प्रतिस्पर्धा गर्न आएका व्यक्ति छन्, नेपाली कांग्रेसका तर्फबाट गठबन्धन बनाएर उठेका व्यक्ति उनी यस क्षेत्रमा सामाजिक कार्य जिरो भएका व्यक्ति हुन् । यस क्षेत्रको विकासमा उनको कुनै योगदान छैन ।
श्यामकुमार घिमिरे
गठबन्धन भएका कारण यस क्षेत्रमा आफूहरूको राम्रो रहेको र निर्वाचन जित्ने सुनिश्चितता देखिन्छ। घरदैलो कार्यक्रममा जनताको जुन उत्साह छ त्यसले आफूहरूको जित सुनिश्चित गरेको छ । यसपटकको निर्वाचन हामीले प्रतिस्पर्धीभन्दा भन्दा १० हजार बढी मतान्तरले जित्दै छौँ । प्रतिस्पर्धा देखिँदैन, निर्वाचन हो, बाहिर एउटा भित्र अर्को भएर भने हाम्रो विजय निश्चित छ ।
मेरो चुनावी एजेन्डा भनेको विकास निर्माणहरू नै हो । यस क्षेत्रमा नेकपा एमालेले २५ वर्षसम्म निर्वाचन जिते पनि केही विकास निर्माण गर्न सकेन, अब आफूले पाँच वर्षमा नै यस क्षेत्रका जनताले अनुभूति गर्ने गरी विकास गर्ने योजना छ । केही रणनीतिक सडक योजनाहरू र खानेपानी, सरकारी स्वास्थ्य संस्थाहरूमा निःशुल्क उपचार, सरकारी विद्यालयको सुधारलगायतको एजेन्डाहरू नै मुख्य छन् ।