मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ कार्तिक २९ मंगलबार ०९:३२:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

दीर्घकालीन कोभिड उपचारमा प्याक्सलोभिड प्रभावकारी : अध्ययन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ कार्तिक २९ मंगलबार ०९:३२:००

कोभिड संक्रमणको उपचारमा प्रयोग हुँदै आएको प्याक्सलोभिड औषधि दीर्घकालीन कोभिड उपचारमा समेत प्रभावकारी देखिएको छ । फाइजर कम्पनीद्वारा निर्मित एन्टिभाइरल प्याक्सलोभिडले सिभियर कोभिडविरुद्ध इमर्जेन्सी प्रयोगका लागि गत मार्चमा अनुमति पाएको थियो । भिए सेन्ट लुइस हेल्थ केयरले प्याक्सलोभिड लिएका नौ हजार बिरामी र नलिएका ५० हजार कोभिड संक्रमितबीच तुलनात्मक अध्ययन गरेको थियो । अध्ययनबाट प्याक्सलोभिड सेवन गरेका बिरामीमा लामो समयसम्म देखिने (गम्भीर १२ वटा कोभिडका लक्षणमध्ये १० वटा) लक्षणहरूमध्ये करिब २५ प्रतिशत लक्षण कम देखिएको थियो । 

कोभिड महामारीबीचमै यसरी ठूलो संख्यामा अध्ययन गरी औषधिको प्रभावकारिता पत्ता लगाउन महत्वपूर्ण रहेकाले विश्वविद्यालयका प्राध्यापक अकिको इवासाकीले बताए । उनले भनेका छन्, ‘लामो समयसम्म देखिने कोभिड अहिले मुख्य समस्या बनेको छ । जो जनस्वास्थ्यको ठूलो विषय हो ।’ कोभिडविरुद्धको खोपले महामारी नियन्त्रण गर्न ठूलो भूमिका खेले पनि दीर्घकालीन कोभिड अर्को चुनौतीका रूपमा देखिएकोमा विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । 

१५ प्रतिशत कोभिड संक्रमितमा दीर्घ समस्या
सिडिसीको पछिल्लो तथ्यांकअनुसार कोभिडबाट प्रभावित करिब १५ प्रतिशतमा लामो समयसम्म कोभिडको समस्या देखिएको अनुमान गरिएको थियो । भिए सेन्ट लुइस हेल्थ केयरका अनुसन्धान प्रमुख र विकासका प्रमुख जियाद अल–अलीले नयाँ अध्ययनले कोभिडको पोस्ट असर र गम्भीरता कम गर्न एन्टिभाइरल औषधि प्रभावकारी हुने पुष्टि भएको दाबी गरेका छन् । उनले प्याक्सलोभिडको प्रयोगबाट भाइरल लोडलाई दबाएर भाइरल संक्रमण नियन्त्रण गर्न सकिने बताए । एकेडेमिक जर्नलमा प्रकाशित यस अध्ययनको विश्वभर चर्चा भएको छ । 

प्रोफेसर टोपोल भन्छन्– ठूलो प्रगति
स्क्रिप्स रिसर्चका कार्यकारी उपाध्यक्ष तथा आणविक मेडिसिनका प्रोफेसर एरिक टोपोलले ट्विटमार्फत यस अध्ययनलाई ‘एक प्रमुख प्रगति’ भनेका छन् । उनले लेखेका छन्, ‘हामीसँग कुनै उपचार छैन, जुन लामो कोभिडको उपचारका लागि मान्य गरिएको होस् । कठोर, अनियमित, अनिश्चित क्लिनिकल परीक्षणहरू अध्ययनकै क्रममा छन् । महामारीको समयमा यो औषधि पत्ता लाग्नु ठूलो प्रगति हो ।’

नेसनल इन्स्टिच्युट अफ हेल्थको करिब १.१५ बिलियन आर्थिक लगानीमा ‘रिकभर’ नामक सर्वेक्षण कार्यक्रमले समेत फाइजर औषधि (निर्माट्रेलभिर र रिटोनाभिर)को प्रभावकारिता मापन गर्ने योजना बनाएको जनाएको छ । एजेन्सीले क्लिनिकल परीक्षणमा १७ सय वयस्क सहभागी गराउने जनाएको छ । केही अन्वेषकहरूले औषधिको प्रभावकारिता मापन गर्न थप प्लेसबो अध्ययन गर्नुपर्नेमा जोड दिएका छन् । न्यु योर्कको माउन्ट सिनाई स्वास्थ्य एजेन्सीका निर्देशक डेभिड पुट्रिनोले भनेका छन्, ‘दुवै समूहमा लगातार लक्षणको समान वा फरक दरहरू छन् कि भनेर निर्धारण गर्न दीर्घकालीन फ्लोअप गर्न आवश्यक छ ।’

नेपालमा सक्रिय कोभिड संक्रमित पाँच सयभन्दा कम
कोभिड संक्रमण घटेसँगै सक्रिय संक्रमितको संख्या पाँच सयभन्दा कममा झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार सोमबार २३ जना संक्रमणमक्त भएसँगै सक्रिय संक्रमितको संख्या चार सय ९९ पुगेको हो । सोमबार थप नौजनामा कोभिड संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार एक हजार चार सय २५ नमुना परीक्षण गर्दा जम्मा नौजनामा मात्रै संक्रमण देखिएको हो । 

मन्त्रालयको विवरणअनुसार पछिल्लो २४ घन्टामा ६ सय ७२ पिसिआर परीक्षण गर्दा आठजना र सात सय ५३ एन्टिजेन परीक्षणमा एकजनामा संक्रमण पुष्टि भएको हो । यो अवधिमा ८० हजार चार सय ८१ कोभिडविरुद्धको खोप प्रयोगमा आएको मन्त्रालयको तंथ्याकले देखाउँछ ।