
ऊर्जामन्त्री दीपक खड्काले आफ्नाबारे प्रकाशित आलोचनात्मक समाचार सेयर गरेकै कारण एक जलविद्युत् परियोजनाका प्रमुख कार्यकारी अधिकृत (सिइओ)लार्ई पदमुक्त गर्न ठाडो निर्देशन दिएका छन् । मन्त्री खड्काले एसियाली विकास बैंक (एडिबी) सँग वित्तीय व्यवस्थापन सम्झौता गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको ६७० मेगावाटको दुधकोशी जलाशययुक्त जलविद्युत् परियोजनाका सिइओ विमल गुरुङलाई पदमुक्त गर्न निर्देशन दिएका हुन् ।
ऊर्जा मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पत्र लेख्दै दुधकोशी हाइड्रोपावर कम्पनीका सिइओ गुरुङलाई हटाउन निर्देशन दिएको छ । पत्रमा मन्त्रालयको कर्मचारी प्रशासन शाखाका अधिकृत यज्ञप्रसाद सुवेदीले हस्ताक्षर छ । दुधकोशी हाइड्रोपावर कम्पनी नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी हो, जसका अध्यक्ष प्राधिकरणका कार्यकारी निर्देशक हुन्छन् ।
मन्त्रालयको पत्रमा बिमल गुरुङलाई सामाजिक सञ्जालमा मन्त्रालय र मन्त्री खड्कासम्बन्धी गैर–जिम्मेवारीपूर्ण समाचार सम्प्रेषण गरेको आरोप छ । ‘नेपाल विद्युत् प्राधिकरणअन्तर्गत दुधकोशी जलविद्युत् आयोजनाका प्रमुख कार्यकारी अधिकृत बिमल गुरुङले मन्त्रालय र यस मन्त्रालयका माननीयज्यूबारे सामाजिक सञ्जालमा गैर–जिम्मेवारीपूर्ण समाचार सम्प्रेषण गरेको हुँदा निजलाई सो जिम्मेवारीबाट तत्काल हटाउन’ पत्रमा निर्देशन छ । पत्रमा जिम्मेवारीबाट हटाई मन्त्रालयलाई जानकारी गराउन भनिएको छ । हालसम्म प्राधिकरणले गुरुङलाई हटाउने विषयमा थप निर्णय गरिसकेको छैन ।
पत्रमा यसलाई ऊर्जा सचिवमा सुरेश आचार्यको निर्णय भनिएको छ । मन्त्री खड्काको योजनामा सचिव आचार्यले निर्णय लिएको स्रोतको भनाइ छ । गुरुङ २०८० साउनमा चार वर्षका लागि कम्पनीको सिइओ नियुक्त भएका थिए । मन्त्रालयलाई निरुत्साहित गर्ने गरी सामाजिक सञ्जालमा समाचार सेयर गरेको विषयमा स्पष्टीकरण सोधिएपछि गुरुङले समाचार हटाउनुका साथै स्पष्टीकरण बुझाएर माफीसमेत मागेका थिए ।
गत बिहीबार ऊर्जासचिव आचार्यले परियोजनामा ऋण लगानी गरिरहेको एसियाली विकास बैंकका प्रतिनिधिसँग बैठक गरेका थिए । सिइओ गुरुङ भने परियोजनाको स्थलगत अवलोकनमा थिए । परियोजना खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा बन्दै छ । बैठकमा सचिव आचार्यले सिइओ गुरुङबारे नकारात्मक टिप्पणी गरेको र यसले एसियाली विकास बैंकमा नकारात्मक प्रभाव परेको मन्त्रालयकै अधिकारी बताउँछन् ।
यसअघि मन्त्री खड्काको योजनामा मन्त्रालयले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई निरुत्साहित गर्ने गरी तीनपटक गरेर १५, ७ र ३ बुँदे जानकारी मागेको थियो । त्यससम्बन्धी मिडियामा आएका समाचार सिइओ गुरुङले आफ्नो सामाजिक सञ्जालमा सेयर गरेका थिए । यो गत कात्तिककै घटना हो । स्थलगत अवलोकनमा हुने भएपछि सिइओ गुरुङ एसियाली विकास बैंकसँगको बैठकमा उपस्थित नहुने जानकारी पनि गराएका थिए । तर, कूटनीतिक रूपमा समेत महत्वपूर्ण मानिएको उक्त बैठकमा सचिव आचार्यले कम्पनीका सिइओ गुरुङको विषयमा नकारात्मक टिप्पणी गर्दै बर्खास्त गर्ने अभिव्यक्ति दिएका थिए । त्यसले दातृ निकाय एसियाली विकास बैंकमा नकारात्मक छाप परेको मन्त्रालयकै अधिकारीहरू बताउँछन् ।
नयाँ पत्रिकासँगको कुराकानीमा सिइओ गुरुङले आफूलाई अन्यायको अनुभूति भएको बताए । ‘मलाई कम्पनीको सिइओबाट हटाउने गरी प्राधिकरणमा पत्र आएको भन्ने सुनेको छु । प्राधिकरणबाट भने पदमुक्त गरेको पत्र आएको छैन,’ उनले भने, ‘मलाई जुन कारण देखाएर हटाउन खोजिएको छ । कात्तिकअघिको उक्त विवाद त्यसवेला नै समाधान भइसकेको थियो । अहिले आएर एकाएक किन हटाउन खोजिँदै छ ? मलाई थाहा भएन ।’
प्राधिकरणको सहायक कम्पनीमा सिइओ नियुक्त गर्ने अधिकार कम्पनी सञ्चालक समितिलाई हुन्छ । सिइओ फिर्ता बोलाउने अधिकार पनि सञ्चालक समितिलाई नै हुन्छ । तर, यस विषयमा मन्त्रालयले निर्देशन दिन नमिल्ने स्रोतको भनाइ छ । प्राधिकरणका १०औँ तहका कर्मचारी गुरुङलाई सञ्चालक समितिले सिइओ नियुक्त गरेको थियो ।
सिइओ गुरुङ जलविद्युत् परियोजना निर्माणमा अनुभवी इन्जिनियर मानिन्छन् । हाल सञ्चालनमा रहेको ४५६ मेगावाटको माथिल्लो तामाकोशी परियोजनामा पनि उनी कन्ट्र्याक इन्जिनियर थिए । यसैगरी, १४४ मेगावाटको कालीगण्डकी र २२ मेगावाटको चिलिमे जलविद्युत्मा पनि इन्जिनियर थिए । ठुला परियोजना बनाएको भूमिका हेरेर नै उनलाई दुधकोशीको सिइओ बनाइएको थियो ।
गुरुङले कम्पनीको जिम्मेवारी लिएपछि पनि केही महत्वपूर्ण काम पनि गरिसकेका छन् । पहिला ड्रिलिङ र ब्लास्टिङ विधिबाट खन्ने गरी बनाइएको सुरुङको डिजाइन परिवर्तन गरेर टनेल बोरिङ मेसिन (टिबिएम)बाट खन्ने गरी बनाइएको छ । त्यसले करिब चार किमि सुरुङ र आठ किमि पहुँच सडक खन्न नपर्ने भएको छ । यस्तै, परियोजनाको प्रसारण लाइन पनि १३२ केभीबाट ४०० केभी क्षमतामा बनाउने गरी डिजाइन गरिएको छ । त्यसले भविष्यमा निर्माण गरिने २०० मेगावाटको ड्याम पावर हाउसको बिजुली प्रवाह गर्न सकिनेछ ।
करिब १०० किमि पहुँच मार्गहरूको विस्तृत डिजाइन पनि गरिएको छ । यसैगरी, १५० मिटर लामो भोजे मोटरेबल पुल, लामिडाँडामा कार्यालय र आवासीय भवनहरूको ठेक्का सम्झौता पनि भइसकेको छ । दोस्रो चरणमा बन्ने २०० मेगावाटको ड्याम टो पावर हाउस निर्माणका लागि पहिलो चरणमा नै निर्माण गर्नुपर्ने संरचनाको डिजाइन गरिसकिएको छ । यस प्रयोजनको १.४ किमि सुरुङको डिजाइनसमेत गरिसकिएको छ ।
सिइओ हटाउन हतार, फाइल भने अलपत्र
सिइओ हटाउन हतार गरेको मन्त्रालयले दुधकोशीसम्बन्धी एक महत्वपूर्ण फाइल भने एक महिनादेखि अड्काएर राखेको छ । दुई अर्ब ३२ करोड डलर लागत अनुमान गरिएको परियोजनामा एसियाली विकास बैंकको नेतृत्वमा एसियन इन्फ्रास्टक्चर इन्भेस्टमेन्ट बैंक, युरोपियन इन्भेस्टमेन्ट बैंक, ओपेक फन्ड फर इन्टरनेसनल डेभलपमेन्ट, साउदी डेभलपमेन्ट फन्ड र वल्र्ड बैंकले एक अर्ब ६५ करोड डलर ऋण लगानी गर्दै छन् । त्यसमा एडिबीले मात्रै ५५ करोड डलर लगानी गर्दै छ । यी सबै सहुलियत ब्याजका ऋण हुन् । यसैगरी, परियोजनाका लागि स्वदेशी बजारबाट आठ करोड १० लाख डलर ऋण जुटाइँदै छ । सरकार र प्राधिकरणले थप ५८ करोड ९० लाख डलर लगानी गर्दै छन् ।
लगानीको सुनिश्चितताका लागि मार्चभित्र एसियाली विकास बैंक ‘फ्याक्ट फाइन्डिङ मिसन’मा आउँदै छ । र, आगामी सेप्टेम्बरभित्रै परियोजनाको वित्तीय व्यवस्था सम्झौता गर्ने तयारी छ । एडिबी मिसन आउनुपूर्व नेपालले एसियन इन्फ्रास्टक्चर इन्भेस्टमेन्ट बैंक, युरोपियन इन्भेस्टमेन्ट बैंक, ओपेक फन्ड फर इन्टरनेसनल डेभलपमेन्ट, साउदी डेभलपमेन्ट फन्ड र वल्र्ड बैंकको लगानी टुंगो लगाउनुपर्नेछ ।
त्यसका लागि नेपालले आधिकारिक रूपमा उनीहरूलाई लगानीका लागि अनुरोध–पत्र पठाउनुर्छ । यस्तो पत्र अर्थ मन्त्रालयमार्फत पठाउनुपर्ने हुन्छ । त्यस्तो पत्र पठाइदिन अर्थ मन्त्रालयलाई अनुरोध गर्न प्राधिकरणले १३ माघमै ऊर्जा मन्त्रालयलाई अनुरोध–पत्र पठाएको थियो । ऊर्जा मन्त्रालयले प्रस्ताव पठाएपछि अर्थ मन्त्रालयले सोहीअनुसार दातृ निकायहरूलाई अनुरोध–पत्र पठाउनेछ । तर, ऊर्जा मन्त्रालयले नै अझै उक्त पत्रबारे कारबाही अघि नबढाएको स्रोत बताउँछ । मन्त्रालयका प्रवक्ता सन्दीपकुमार देवले यसबारे आफूलाई जानकारी नभएको बताए ।
वित्तीय व्यवस्थापन भएपछि परियोजनाको निर्माण प्रक्रिया अघि बढाउने बताइएको छ । आयोजनाको निर्माण अवधि सात वर्षको छ । हाल परियोजनाको प्राविधिक, वातावरण प्रभाव मूल्यांकन प्रतिवेदन र सामाजिक विषयलाई अन्तिम रूप दिने काम भइरहेको छ । वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पेस भइसकेको छ ।
राजीनामा दिएका विद्युत् प्राधिकरणका सञ्चालक सदस्यलाई मन्त्री खड्काले गरे पुनः नियुक्ति
ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणको सञ्चालक सदस्यबाट राजीनामा दिएका डा. बलराम पराजुलीलाई पुनः नियुक्त गरेका छन् । उनीसँगै गत २ पुसमा सञ्चालक सदस्य बनाइएका लक्ष्मण केसीको नियुक्ति कार्यान्वयन नगर्न २६ पुसमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिएपछि मुद्दा विचाराधीन रहेका पराजुलीले पनि २४ माघमा राजीनामा दिएका थिए ।
कार्यकाल सकिएका सञ्चालकद्वय कपिल आचार्य र भक्तबहादुर पुनको ठाउँमा मन्त्री खड्काले डा. पराजुली र लक्ष्मण केसीलाई चार वर्षका लागि नियुक्त गरेका थिए । राजीनामा दिएका पराजुलीले मन्त्री खड्काकै आग्रहमा पुनः नियुक्ति लिएका छन् ।
सिइओ विमल गुरुङ भन्छन्–हटाउन पत्र आएको छ भन्ने सुनेको हुँ, पदमुक्त गरेको पत्र आएको छैन
मलाई कम्पनीको सिइओबाट हटाउने गरी प्राधिकरणमा पत्र आएको भन्ने सुनेको छु । प्राधिकरणबाट भने पदमुक्त गरेको पत्र आएको छैन । मलाई जुन कारण देखाएर हटाउन खोजिएको छ । कात्तिकअघिको उक्त विवाद त्यसवेला नै समाधान भइसकेको थियो । अहिले आएर एकाएक किन हटाउन खोजिँदै छ ? मलाई थाहा भएन ।